उपत्यकामा वन्यजन्तु तस्कर ‘सक्रिय’
१० महिनामा मात्रै २२ बढी पक्राउ
मातृका दाहाल
......................
काठमाडौं, २४ जेठ -
राजधानीमा दुर्लभ वन्यजन्तु तस्करीमा संलग्न गिरोहको सक्रियता बढेको प्रहरीले जनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण क्षेत्रबाट चोरीसिकारी गरी ल्याइएका जनावरका अंग बिक्री गर्न संगठित गिरोहले उपत्यकालाई रोज्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । १० महिनायतामा मात्रै प्रहरीले राजधानीबाट २० भन्दा बढीलाई पक्राउ गरेको छ । उनीहरूको साथबाट प्रहरीले करोडौं मूल्य पर्ने दुर्लभ जनावरका अंग बरामद पनि गरेको छ । पक्राउ परेका अधिकांश संगठित गिरोहबाट परिचालित रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन् । तस्करले दुर्लभ वन्यजन्तुका अंग युरोप, अमेरिका तथा एसियाका विभिन्न मुलुकमा पु¥याउने प्रहरीले जनाएको छ । विशेषगरी कस्तुरी, चितुवा, गैंडा, हात्ती, सालकलगायत जनावरका अंग बिक्रीका लागि ग्राहक खोज्ने तथा योजना बनाउँदै गरेको अवस्थामा अभियुक्तहरू पक्राउ पर्दै आएका छन् । लोपोन्मुख कस्तुरीको बीना, अत्तरलगायत महँगा बास्नादार शृंगारिक सामान बनाउन प्रयोग गरिन्छ । यस्तै बाघ तथा चितुवाको छाला, हात्तीको दाँतलगायतका अंग घरेलु सजावटका बहुमूल्य सामान बनाउन प्रयोग हुने प्रहरीले जानकारी गराएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख नायब महानिरीक्षक (डीआईजी) उपेन्द्रकान्त अर्याल स्थानीय र अन्तर्राष्ट्रिय गिरोह विभिन्न चरणमा चोरीसिकारीमा संलग्न रहेको बताउँछन् । “सम्बन्धित निकुञ्ज तथा आरक्षण क्षेत्रबाट जनावर मार्ने काम स्थानीय सिकारीले गर्दै आएका छन्,” उनले भने, “त्यसपछि अर्को समूहले जनावरका अंग छुट्ट्याएर मुख्य क्षेत्र वा नाका हुँदै स्थानीय र अन्तर्राष्ट्रिय गिरोहको सञ्जालसम्म पु¥याउने गरेको छ ।” विशेषगरी गिरोहले पेसेवर सिकारीलाई प्रयोग गरेर जनावर मार्न लगाउने गरेको डीआईजी अर्याल बताउँछन् । “भारत र चीनमा सक्रिय गिरोह नेपालमा चोरीसिकारीमा संलग्न देखिएको छ,” उनले भने, “त्यस्ता गिरोहलाई नियन्त्रणमा लिन हामीले सबै सम्बन्धित विशेषज्ञ टोली नै परिचालित गरेका छौं ।” राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ मा दुर्लभ वन्यजन्तुको चोरीसिकारी गर्ने, खरिद, बिक्री गर्ने तथा घरमा राखेको पाइए ५० हजारदेखि १ लाखसम्म जरिवाना तथा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुनसक्छ । पक्राउ परेका अभियुक्तलाई सम्बन्धित जिल्ला वन कार्यालयमार्फत थप अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाइनेछ ।
0 Comments