इमान्दार प्रहरीमाथी सधै ‘भद्धा मजाक’

-मातृका दाहाल
सन् १६४३ देखि सन् १७१५ सम्म शासन गरेका फ्रान्सेली तानाशाह लुइस चौधौंको यौटा चर्चित भनाई छ –‘आइ एम द स्टेट–स्टेट इज आई’ अर्थात ‘म नै राज्य हुँ, राज्य नै म हुँ’ । यसको सिधा अर्थ कानुन वा विधिको शासन वा प्रक्रिया वा पारदर्शीता भन्ने कुरा यौटा शासकको बोलीमा सीमित छ भन्ने हो । सत्ता सञ्चालकहरुले प्रजातान्त्रिक मूल्यमान्यता र असल शासनबाट तलमाथी गरे भने नागरिकले समेत ‘कस्तो तानाशाह बन्न खोजेको लुइस चौधौं जस्तो भनेर कटाक्ष गर्न भ्याउँछन् । गरिपिन रहेका छन् ।
तर शासन/सत्तामा रहनेहरुले मात्रै निरंकुश चरित्र वा व्यवहार देखाउँदैनन्, त्यसलाई सञ्चालन गर्ने राज्यका अवयवको नेतृत्व गर्नेले पनि लुइस चौधौंकै शैलीमा व्यवहार गर्ने गरेका तथ्य र प्रमाण सबै सामू छर्लंग बनेको छ । प्रसंग हो, –२०७५ माघ २६ गते शनिबार राती नेपाल प्रहरी प्रहरीका एसपी र एसएसपीमा बढुवा सिफारिस । हुन त सत्ता, शक्ति, वल र तुजुकको आडमा इमान्दार र सक्षम प्रहरीहरु पाखा लगाइएको आज मात्रै होइन । आफू इमान्दार भएकै कारण नेपाल प्रहरीका धेरै अफिसरहरु उपल्लो तहमा पुग्नबाट वञ्चित बनेकै हुन् । ‘अनपेक्षित’ भनौ वा ‘अपेक्षित सेटिङ’, जे भएपनि शनिबार राती सार्बजनिक गरिएको एसएसपी र एसपी बढुवा सिफारिसका बहुसंख्यक पात्र इमानदार, व्यवसायिक, कर्तव्यनिष्ठा, संगठनको मर्यादा र कार्यक्षमता/मूल्यांकन भन्दा लुइस चौधौंकै शैलीको निरन्तरता भन्दा फरक नपर्ला ।
गृह सचिव, आइजीपी र मानवस्रोत विभाग हेर्ने प्रहरीका एआइजीको प्रत्यक्ष संलग्नता र सहभागीतामा छनौट गरिएका बढुवाका अनुहारहरु के कामको मूल्यांकनबाटै आएका हुन् त ? के क्षमताको कदर भएको हो त ? के भनसुन र दवावमूक्त बढुवा हो त ? जवाफ खोज्नु अघि केही विषयमा चर्चा गरौं ।

प्रसंग नम्बर १

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल महानगरी अपराध महाशाखा प्रमुख हुँदा उनको ट्वाइसी भएर काम गरेका अधिकृत हुन् एसपी नरेन्द्र उप्रेती । उनले गरेका कामकारबाहीबाट त्यसबेलाका महाशाखा प्रमुख र अहिलेका आइजीपी खनाल निकै खुसी नै भएका थिए । जान्ने, बुझ्ने र प्रहरीमा इमानजमानको छवी बनाएका अफिसर्सहरु एसपी उप्रतीलाई सक्षम प्रहरीका रुपमा चित्रण गर्छन् (मेरो एसपी उप्रेतीसँग चिनजान छैन है)  तर शनिबार सार्बजनिक गरिएको एसएसपी बढुवा सिफारिसमा उनै एसपी उप्रेती छुटे । किन छुटे, कारण के हो त्यो आइजीपी खनाल वा गृह मन्त्रालयलाई नै थाहा होला । 
तर आफू बढुवामा छुटेपछि एसपी उप्रेतीले ‘बढुवामा छुटेपछि नैतिकताका आधारमा म पदमा बस्नु उचित छैन’ भन्दै आइजीपी खनाल समक्ष राजीनामा दिए ।  उनको राजीनामाको पछाडी पक्कैपनि ‘इमान, जमान र व्यवसायिक प्रहरी अधिकृत’को छवी बचेको हुनुपर्छ । चेन अफ कमाण्डमा चल्ने संस्थाको सदस्यले राजीनामा नै दिएर संगठन प्रमुखले गरेका गल्तीमाथी औला ठड्याउँने साहस त्यसै गर्न सक्छ र ? यो राजीनामाले बढुवाको पर्दा अगाडि देखिएका गृह सचिव, आइजीपी र एआइजी (मानवस्रोत)को इमानजमानमाथी स्वभाविक रुपमा प्रश्न तेसाईदिएको छ ।

प्रसंग नम्बर २

निर्मला पन्तको वलात्कार र त्यसपछि भएको हत्या प्रकरणले सरकार मात्रै होइन, नेपाल प्रहरीको छवी नै यति धुमिल अवस्थामा पुगिसकेको थियो कि, गाउँ–शहर सबैतिर प्रहरी आलोचनाको केन्द्रविन्दु थियो । कञ्चनपुर भीड र आन्दोलनको चपेटामा थियो । त्यहीबेला जिल्लाको परिस्थिति र वलात्कार–हत्या छानविनलाई सहज रुपमा अघि बढाउँने बाताबरण बनाउँन प्रहरी महानिरीक्षक खनालले नै २०७५ असोज २ गते एसपी दुर्गा सिंहलाई महेन्द्रनगर खटाए । सायद  एसपी सिंहलाई महेन्द्रनगरको असहज परिस्थिति नियन्त्रण गरेर सहज तर्फ लैजाने योजना सहित आइजीपी खनालले उनलाई त्यहाँ पठाएका थिए होलान् । दुर्गा पनि प्रहरीमा काविल अफिसरकै रुपमा चिनिने गरेको बताइन्छ । तर एसएसपी बढुवामा जटिलपरिस्थितिको सामना गर्ने दुर्गा सिंहहरु अटाएनन् । आशिर्वाद  भनसुन नपुगेर नै होला ।

प्रसंग नम्बर ३

चेन अफ कमाण्डमा चल्ने संस्थामा सिनियर र जुनियरको महत्व त झनै बढी हुन्छ । अझ भनौं, एकै दिन बढुवा भएर पनि दाया र बायाँ उभिएका मध्ये दायाँ तिरका अधिकृत सिनियर मानिन्छन् । अहिलेसम्म चलिआएको परम्परा पनि यही नै हो । तर गृहसचिव, आइजीपी र एआइजीको समितिले २६÷२७ महिना पछि सेवा प्रवेश गरेका अधिकृतलाई मौका दिएर सिनियरलाई पाखा लगाइदियो । २०५६ का थुप्र्रै अधिकृतलाई पाखा लगाएर शक्तिकेन्द्रका नजिक भएकै कारण २०५८ का धेरैले एसपीमा बढुवाको मौका पाएका छन् । प्रश्न उठ्न सक्छ वा निर्णयकर्ताले भन्न सक्छन् –कार्य सम्पादनमा अघि देखिएका अधिकृतलाई बढुवा गरिएको हो । तर लुइस चौधौको शैलीमा गरिएका निर्णयलाई सहजै पत्याइदिनु पर्ने हुन्छ र ? अझ पछिल्लो दशक त यति पारदर्शी भइसक्यो कि, कुन प्रहरी अफिसर  कस्को चाप्लुसी, चाकडी, ज्यू–हजुर गर्छ वा आफ्नै काममा विश्वास नगरी शक्तिकेन्द्रको आशिर्वादबाट अघि बढ्छ भन्ने कुरा लुकाएर लुकाउँनै नसकिने अवस्थामा पुगिसकेको छ । 

इमानमाथी सधै दोहन ?

नरेन्द् उप्रेती, दुर्गा सिंह वा २६/२७ महिना सिनियर प्रहरी अधिकृत बढुवामा छुटेका भन्ने केही तथ्य प्रतिनिधि पात्र मात्रै हुन् ।  प्रहरीमा क्षमता, काम र इमानमा विश्वास गर्नेहरुकाे रिटायर्ड समूह खोज्दै जाने हो भने निकै ठूलो भीड नै बन्न सक्छ । बढुवामा छुटेका वा उपल्लो तहमा पुग्नबाट वञ्चित गराइएका एकाध नाम भन्दा स्वभाविक नहोला, तर यति चाही भन्न सकिन्छ कि, शक्तिलाई मुठ्ठीमा लिएर क्षमता भन्दा परिक्रममा (गणेश भक्ति)मा विश्वास गर्नेलाई मौका दिनेहरु रु नभएर गृह र प्रहरी नेतृत्व गरेका व्यक्ति नै हुन् ।
कसैलाई घर पठाउँनकै लागि महिनौं पद खाली गर्ने, कसैलाई बढुवा गर्नकै लागि निश्चित अवधि पार गर्नुपर्ने व्यवस्था नै खारेज गर्ने, पटकपटक कारबाहीमा परेकालाई मौकै मौका, इमानमा विश्वास गर्नेलाई डण्डैडण्डा शैली अपनाउँने पनि अरु कोही होइनन्, प्रहरी र गृहकै हाकिम हुन् ।
यस्तो व्यवहारले न प्रहरी संगठन उँभो लाग्छ, न वदनाम र अविश्वासले छिन्नभिन्न भएको प्रहरी प्रहरीको शाख नै फर्काउँन मद्धत मिल्छ । गृहसचिव ज्यू, आइजीपी ज्यू, तपाइहरु आफैले बढुवाका लागि छनौट गरेका प्रहरी अधिकृतहरुको अनुहार हेर्नुस । अनि तपाइको सूचीमा नअटाएका बाँकी बढुवाका दावेदारहरुलाई तुलना गर्नुस त ? सही वा गलत के निर्णय गर्नु भो, आफैलाई सोध्नुस, जाँच्ने अधिकार तपाइहरु सँगै छ । सही गर्नु भएन भनेपनि के भो र ? डाडूपन्यु आफ्नै हातमा छ । अनि  लुइस चौधौंले ४ सय वर्ष अघि नै भनेकै छन् नि, –म नै राज्य हुँ, राज्य नै म हुँ । 

Post a Comment

1 Comments

  1. राम्रा र इमानदारीतामा कुठाराघातले राष्ट्रिय अनुशासनमा नै प्रश्न चिन्ह लाग्दाे छ । घिनलाग्दाेे राजनीतिक खेलमा राष्ट्र मान मर्यादालाई बेइज्जती नगर सरकार प्लिज

    ReplyDelete