आइजीपीमा बढुवा भएको खबर अस्पतालमा डाक्टरले सुनाएका थिए

नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी)बाट अवकास पाएको करिब ४ दशक पछि पनि खड्गजीत बरालको दिनचर्या उत्तिकै सक्रिय छ । ००७ साल अघि राणाशासन अन्त्य गर्न नेपाली कांग्रेसले गठन गरेको मूक्तिसेनाका लडाकु रहेका बराल त्रिपक्षीय (राणा, कांग्रेस र भारत) दिल्ली सम्झौता (२००७) पछि ६ वर्ष भारतमा स्नातकोत्तर तह पूरा गरेर २०१३ सालमा निरीक्षकबाट प्रहरी सेवा प्रवेश गरे । नेपाल प्रहरीमा खुल्ला प्रतिस्पर्धाबाट निरीक्षक बनेका बराल पहिलो ब्याजी समेत हुन् । २०२९ साउन देखी ०३५ असार सम्म आइजीपी बनेका बरालले आफ्नै कार्यकालमा संगठनलाई आधुनिकीकरण गरे । जसका कारण उनी प्रहरी संगठनमा सबैभन्दा लोकप्रिय आइजीपी बन्न सफल भए । आइजीपीबाट अवकास पाएपछि ६ वर्ष बर्माका लागि नेपाली राजदूत र केही वर्ष संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत उनी ०४३ मा राष्ट्रिय  पञ्चायत सदस्यमा मनोनित भएका थिए । २०४६ को जनआन्दोलनपछि राजनाीतिबाट टाढा रहेका बराल अहिले रोटरी क्लव लगायत अन्य सामाजिक संघसंस्थासँग आवद्ध छन् । लडाकु देखि आइजीपी, राजदूत, नेता र समाजसेवाको अनुभव लगायत विषयमा बरालसँग गरिएको कुराकानी:

खड्गजीत बराल
पूर्व प्रहरी महानिरीक्षक


प्रहरी सेवाबाट अवकास पाएकै ४ दशक नै पुग्यो । के मा व्यस्त हुनुहुन्छ हिजोआज ?

मैले त धेरैपटक अवकास पाएको छु । मेरो अवकास प्रहरी सेवाबाट मात्रै होइन । सुरुमा राजनीतिमा आवद्ध थिएँ ।  राणाशाही अन्त्य गर्न कांग्रेसले थालेको मूक्ति आन्दोलन (मूक्ति सेना)मा सहभागी भएँ । ००७ फागुन÷चैतपछि त्यसबाट पनि टाढा रहेँ । उच्चशिक्षा लिन केन्द्रीत भए । ०१३ सालमा उच्चशिक्षा पूरा गरेर नेपाल प्रहरीमा भर्ना भएँ । २०३५ जेठमा आइजीपीबाट मेरो अवकास भयो । ०३६ सालतिर तत्कालिन सरकारले मलाई ६ वर्षका लागि बर्माको राजदूतमा नियुक्त ग¥यो, त्यो सेवा पूरा गरेर फर्किएपछि संयुक्त राष्ट्रसंघमा शान्ति स्थापनार्थ सेवा गर्ने अवसर मिल्यो  ।
त्यसपछि लगत्तै ०४३ मा तत्कालिन राष्ट्रिय पञ्चायत सदस्य पनि भए । र, पछिल्लो २५÷२६ वर्षको अवधिलाई मैले नितान्त सामाजिक सेवामा केन्द्रीत गरेको छु । अहिलेको मेरो अवकास जीवन कुनै विशेष ढंगको वा चमत्कारिक छैन । अरु सामान्य नारिकको जसरी नै मेरो दिनचर्या अघि बढिरहेको छ । अझै केही समय मैले पाए (बाँचे) भने सामाजिक सेवामै केन्द्रीत गर्ने मन छ । अहिलेपनि रोटरी क्लवसँग आबद्ध छु । अन्य सामाजिक, धार्मिक संघसंस्थामा पनि छु ।
मूक्तिसेना, प्रहरी, राजदूत, नेता र अहिले सामाजिक कार्यमा सक्रिय रहँदाको निकटता कत्तिको मेल खादो रहेछ ?
मेल खादैन नि । नेपाली कांग्रेसको बिहार स्थित बैरगनिया सम्मेलन मार्फत मूक्तिसेना गठनको निर्णय ग¥यो । राणा शासन अन्त्यका लागि म मूक्तिसेनाको विद्यार्थी भोलियन्टरमा हातहतियार ओसारपसार तथा प्रचासप्रसार गर्ने जिम्मा मैले पाएँ । देहरादुनबाट हतियार ओसारपसार पनि गरेँ । सन् १९५० को कुरा हो यो । क्रान्ति भरी यही जिम्मा मैले निभाएँ । क्रान्तिकै बेला भारतीय हस्तक्षेपका कारण क्रान्ति दिल्ली, कांग्रेस र राणाबीच सम्झौता (दिल्ली सम्झौता)मा गएर टुंगियो । मोहन शमशेर प्रधानमन्त्री र वीपी कोइराला गृहमन्त्री भए । त्यसको विरोध ‘भैरहवा मोर्चा’ मार्फत डा.केआई सिंह, म, काशीप्रसाद श्रीवास्तव, रामबरण शर्मा, अन्य केही कम्युनिष्ट नेता लगायत आन्दोलनकारीले ग¥यौं, मलाई लाग्छ, ००७ माघको आखिरितिर हुनुपर्छ, रुपन्देही सदरमुकाममा अन्तिम आक्रमण थियौं । हामीलाई दवाउन सम्झौतामा गठन भएको सरकारले दिल्लीबाटै सन् १९५० को नेपाल–भारत सन्धी अनुसार भारतीय फौज (मरहठा बटालियन) ‘बरहदवावा मोर्चा’ (भैरहवा) आएर राती हामीमाथी आक्रमण ग¥यो । हामीले पनि भारतीय क्याप्टेनमाथी गोली  हान्यौं, ‘थ्री इन्च मोर्टार’ बम आक्रमण भयो हामीमाथी । करिव ३ सय ५० जनाले आत्मसमर्पण ग¥यौं । ३ महिनासम्म जेल बस्यौं । छुटेपछि म उच्चशिक्षा लिन भारत गएँ । अरुसाथी रक्षादलमा समायोजन भए । एमए सकेर सन् १९५५ मा नेपाल आएँ । लगत्तै प्रहरीमा खुल्ला प्रतिस्पर्धाबाट भर्ना भएँ । प्रहरी ऐन २०१२ बनेपछि विधिवत कानुन अनुसार प्रहरीमा भर्ना (विसं ०१३) भएको म पहिलो व्यक्ति हुँ । त्यसपछि मेरो जीवनको नै ट्र¥याक चेन्ज भयो । करिव २१ वर्ष सेवामा रहेँ, त्यसपनि अन्यसेवा पनि गरेँ । भारतमै अध्ययन रहँदा खेलकुदमा ज्यादा सक्रिय हुन्थेँ । नेपालमा पनि फुटबल क्लव ‘ठमेल ११’मा पनि आवद्ध भएर खेलजीवनमा लामो समय रहेँ । भारतमा पढ्दा कायम राखेको खेलकुद रेकर्ड अहिलेसम्म पनि तोडिएको छैन ।

तपाई त मूक्तिसेनाको लडाकु आईजीपी भएपछि विद्रोहीलाई पनि पक्राउ गर्नुभयो नि ? कस्तो महसुस हुदो रहेछ त्यतिवेला ?

त्यो सबै समय र परिस्थितिले जन्माएको अवस्था हो । गणेशमान सिंहले त आफ्नो आत्मवृत्तान्तमै लेख्नु भएको छ नि, खड्गजीत बराल आइजीपी हुँदा हामीलाई विद्रोही भएपनि राहत मिलेको छ भनेर । वीपी कोईराला, गणेशमान सिंह लगायत नेताहरु भारतबाट मेलमिलापको नीति लिदै नेपाल फर्किएपछि पक्राउ गर्नुपर्ने अवस्था आयो । त्यतिवेलाको नीतिनियम अनुसार पक्राउ गरियो । केन्द्रीय कारागार, सदर खोर, सुन्दरीजल जेल लगायतमा त राख्नेकुरा आएन, मेरै पहलमा उहाँहरुलाई प्रहरी तालिमकेन्द्रमा राखियो । त्यतिवेला गणेशमानले भन्नुभएको थियो रे –‘बराल साव’ भएकै कारण हामी राम्रो ठाउमा बस्न पायौं । सुविस्ता दिनु भयो’ म त भन्छु, त्यतिवेला राज्यको कानुनलाई पनि पालना गरे, चुनौतीको सामना गर्न बर्दीलाई पनि दाउमा राखेर राष्ट्रहितमा सेवा गरेँ ।

बुढ्यौली (हाल ९१ वर्ष) मा पनि ज्यादै फुर्तिलो देखिनु हुन्छ, यसको कारणपनि बिगतका अनुभव नै हो की अरु केही छ ?

उमेर ढल्किएपनि अहिले म जुन अवस्थामा छ, सबैले हट्टाकट्टा नै देख्छन्, यसको साइनो बिगत हुँदै होइन । अनुशासित जीवनले मान्छेलाई ‘हेल्दी’ बनाउछ । केही न केही सिद्धान्तमा बस्नुपर्छ । म अनुशासनलाई सधै पालना गर्छु । 

मूक्तिसेनामै रहँदा अनुशासित हो कि पछि बन्नु भएको ?

म सानै देखि अनुशासित हुँ । यत्ति हो, गलत काम मैले वैरगनिया सम्मेलनबाट फर्केपछि घरमा आएर वृटिश इन्डियन आर्मीबाट अवकास पाउनुभएको मेरो वुवा कप्तान बहादुरसिंह बरालको २ वटा बन्दुक र टोटा चोरेँ । राती ११ बजे घर छाडेँ । यसलाई पनि म गलत भन्दिन, त्यो मूक्ति सेनाप्रतिको मेरो समर्पण थियो । इमान्दारिता थियो ।

तपाई आइजीपी हुँदाको प्रहरी संगठन र अहिलेको संगठनमा के फरक पाउनु हुन्छ ?

संगठन त अहिलेपनि नराम्रो छैन नि । मेरो यसमा छोटो टिप्पणी, बेलायतको प्रहरी त्यहाँको प्रहरी नेतृत्वले बनाएको होइन, त्यहाँका नागरिकले बनाएका हुन् । विश्वमा उतिबेला वेलायती प्रहरीलाई ‘रोलमोडेल’का रुपमा हेरिन्थ्यो । यसको मतलव नेपालीपनि वेलायती नागरिकजस्ता अनुशासित, सभ्य, शिक्षित र श्रेष्ठतम हुनुप¥यो । आफूचाही बाँदर प्रवृत्तिको हुने, अनि नेपालको प्रहरी सुध्रिएन, राम्रो भएन भनेर हुन्छ ? कुनैपनि प्रजातान्त्रिक राज्यमा प्रहरी संगठन अलग्गै स्वभावको हुदैन । त्यही समाजको प्रतिनिधि हो प्रहरी पनि । यदि समाजको प्रतिनिधिभन्दा अलग रुपले प्रहरीलाई अघि बढ्न बाध्य पारियो भने त्यतिवेला त्यो समाजको परिभाषा नै अर्को हुन्छ । स्टेटको पुलिस हुँदैन, पुलिस स्टेटको रुपमा चिनिन्छ । जुन प्रजातान्त्रिक सिद्दान्तका लागि घातक हो ।

तपाइलाई प्रहरीको ‘आधुनिकीकरणका पिता’ भन्छन्,  नेतृत्वमा रहँदा गरेका के के कामले तपाईलाई सन्तुष्टि मिल्छ ?

आफूले अहम् र घमण्ड गर्ने कुरा त होईन, तर, प्रहरीको आधुनिकीकरणमा मैले वर्दीलाई दाउमा राखेर काम गरेको साँचो हो । वर्तमान  प्रहरी संरचनाको रुप मेरै कार्यकालमा रचिएको हो । एउटा प्रजातान्त्रिक व्यवस्थामा प्रहरी कसरी जनमूखि र मजबुद बनाउन सकिन्छ भन्ने सोच अघि सारेँ । सबैभन्दापहिले प्रहरीको नैतिकीकरणमा ध्यान दिए । नैतिकवान प्रहरी त्यसै हुँदैन, वातावरण चाहियो नि ? हरेक प्रहरी स्वभिमानी हुनुपर्छ । स्वभिमानी प्रहरी हुन गाँसबास र कपासको व्यवस्था अनिवार्य चाहिन्छ ।  गास बास र कपासमा एउटा मान्छेको नैतिकता जोडिएको हुन्छ । म आइजीपी हुनु अघि सम्म प्रहरीका हरेक कर्मचारी डेरागरेर बस्थे । प्रहरीलाई ब्यारेकको व्यवस्था थिएन । प्रहरी चौकी पनि पार्टी र ओडारमा थिए । प्रहरी पोशाकपनि आफ्नै खर्चमा किन्नुपर्ने हुन्थ्यो । रासनको व्यवस्था थिएन । ती सबै अभाव र अव्यवस्थालाई चिर्दै मैले सुधारका योजना अघि सारे । काठमाडौं देखि मनाङ÷मुस्ताङसम्म चौकी र ब्यारेक बने । ओडारमा बस्ने प्रहरीका लागि सुरक्षित बासस्थान बने । मेरै पहलमा पहिलो पहिलो पटक ‘सीमा सुरक्षा प्रहरी’ गठन भयो ।  अहिलेको सशस्त्र प्रहरी छ नि, त्यो भन्दा कत्ति प्रभावकारी बनेको थियो उतिबेला । किनभने देशको सार्वभौम कुनै नापीनक्सामा मात्रै सीमित गरेर हुँदैन, त्यसलाई संरक्षणपनि गर्नुप¥यो । सीमा सुरक्षा गर्न सशस्त्र बल चाहियो नि । गास, बास र कपास नैतिकताको पूर्वाधार हो भन्ने सोचेरै मैले प्रहरीलाई मासिक रासन÷भत्ता तथा लत्ताकपडा संगठनले व्यहोर्नेगरी व्यवस्था मिलाएँ । हामी बेलायत, अमेरिका जस्तो होईनौं । अझ हाम्रो संयुक्त परिवारमा एउटाले कमाएर ७÷८ जनालाई पाल्नुपर्ने अवस्थामा सिपाही नै पेटभरी खान नपाउने पीडादायी अवस्थाबाट मूक्त दिलाउनु मेरो कर्तव्य थियो । सिपाहीको समस्या अरुले बुझ्न सक्तैन, संगठन प्रमुखले नै बुझ्ने हो । त्यहि अनुसार मैले पनि काम गरेँ । त्यसअघि त प्रहरी चोरी, लुटपाट, डकैती जस्ता गतिविधिमा संलग्न थिए । त्यसबाट मूक्त गरेर संगठनको छवि उकास्नु मेरो दायित्व थियो । मेरो कार्यकाल भन्दा अघिका प्रहरी अधिकृत तथा जवान ऋण लिएर चुस्ता किन्थे, घरखर्च टार्थे । संगठनको आधुनिकीकरणमा अघि सारिएको मेरो सोचलाई राजदरबारदेखी सरकार सञ्चालन गर्ने उच्च व्यक्तिहरुले उचित ठान्नु भयो । यी सबै योजना ३ वर्षभित्र कार्यान्वयनमा आए । शौभाग्य नै भन्नुपर्छ, सबैभन्दा लामो कार्यकाल आर्यजीपी हुदा आफूले ल्याएका योजना कार्यान्वयन गर्न सजिलो पनि भयो । र, कार्यान्वयनमा आयो । त्यो योजना अनुसार नै प्रहरी संगठन अहिलेसम्म निरन्तर चलिरहेको छ । 

अहिलेपनि आम मानिसमा प्रहरीलाई हेर्ने दृष्टिकोण त्यति सकारात्मक पाईदैन नि ?

प्रहरीलाई सक्षम प्रभावकारी र समयसापेक्ष बनाउन पहिला देश माथी उठ्नु प¥यो नि । देश सञ्चालन राजनीतिले गर्छ, अनि राजनीतिज्ञले संगठन कस्तो बनाउनुपर्ने हो भन्ने बुझ्नु पर्दैन ? प्रहरीबाट मुलुकले के लिन सक्छ भन्नुअघि उसलाई काम गर्ने बाताबरण कसरी बनाउन सकिन्छ, त्यो ठूलो कुरा हो । भौतिक परिवर्तन र नैतिक परिवर्तन समानान्तर रुपले जानुपर्छ । 

तपाइबाट अहिलेका प्रहरीले सिक्ने पाठ के हो ?

अहिले सबै प्रहरी सक्षम छन् । देशको राजनीतिक व्यवस्था शुद्ध, इमान्दार र राष्ट्र अनुकूल भए पुग्छ । प्रहरी अलग्गै ग्रहबाट आएको बस्तु नभई कानुन र नीति नियमलाई कार्यान्वयन गर्ने निकाय हो । प्रहरीलाई प्रभावकारी रुपमा सञ्चालन मात्रै आवश्यक छ । 

उमेर ढल्किदै गएपनि तपाईको सक्रियता जवानीभन्दा कम छैन, आम मानिसले यसरी नै दिनचर्या बिताउन सक्छन् ?

किन नसक्नु ? हुन त मेरो मेरो उमेर लामो भयो भनेर अरु सबैको यस्तै हुन्छ भन्ने छैन ।  मेरो त बोनस, अझ भनौं एक्स्ट्रा बोनस जीन्दगी हो । मेरा लागि अध्यागमनमा पनि छेकबार छैन । सुरक्षा घेरापनि क्रस गरिसके मेरो सुरक्षाजाँच पनि भईसक्यो । म त माथी जान फर्खेर बसेको छु तरपनि जहाजै आएको छैन (लामो हासो........) तर, उत्तरार्धको जीवनलाई अझ सार्थक बनाउन अनुशासन र ईमान्दारितालाई कहिल्यै भुल्नु हुँदैन । बुढ्यौलीसँगै खानपासमा ध्यान दिनु जरुरी छ । सके व्यायाम गर्नपनि नछुटाउनु ।

तपाईको जीवनमा खुसीको क्षण ?

मेरालागि त हरेक क्षण खुसी र शुख लाग्छ । यति हुँदाहुँदैपनि म आइजीपी भएको खबर अरुबाट सुनेको थिएँ । यो मेरा लागि ज्यादै ऐतिहासिक बन्यो । यो कुरा २०२९ साउनको हो । म सैनिक अस्पतालमा उपचाररार्थ भर्ना भएकै बेला एकजना भाई (डाक्टर)ले ‘सर, हजुर त आइजीपीमा बढुवा हुनुभएछ नि’ भनेर सुनाए, एकछिन त छक्क परेँ । मलाई त्यसअघि बढुवाबारे कुनै जानकारी नै दिईएको थिएन ।  काम गर्नेको मूल्यांकन हुँदो रहेछ भन्ने त मेरै प्रमोसनले पुष्टि ग¥यो नि  । तर कामको मूल्यांकन उतिवेला राम्रो हुन्थ्यो । अन्य ‘प्रमोसन’का निर्णयपनि मैले अरुबाटै सुन्थेँ । यसको पाठ अहिलेका प्रहरीले पनि मनन् गर्नुपर्छ । यसबाहेक बुवाको बन्दुक चोरेर मूक्तिसेनालाई बुझाएको प्रसंग पनि मेरालागि ऐतिहासिक र खुसी लाग्छ । यस मानेमा खुसी छु, किनभने मैले विद्रोह आफ्नै घरबाट गरेको थिएँ ।  

(याे अन्तर्वार्ता २०७० साउनमा मातृका दाहालले काराेबार दैनिकका लागि लिएका हुन् )


Post a Comment

0 Comments