राजधानीमा राप्रपा नेपालको ‘शक्ति प्रदर्शन’

जसरी पनि राजसंस्था पुनःस्थापना गर्ने घोषणा

 

मातृका दाहाल


Nameकाठमाडौं, २७ जेठ - राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ‘निष्पक्ष नागरिक सरकार’ गठन गरी निर्वाचनको मिति घोषणा नभए सडकबाटै राजसंस्था पुनःस्थापना गर्ने चेतावनी दिएको छ ।  खुलामञ्चमा गरिएको ‘बृहत् आमसभा’मा राप्रपा नेपालका नेताहरूले मुलुकमा वैधानिक रूपमा राजसंस्था पुनःस्थापना भइसकेको र त्यसलाई औपचारिकता दिन मात्र बाँकी रहेको दाबी गरे ।  अध्यक्ष कमल थापाले नयाँ निर्वाचनका लागि सर्वोच्च अदालतका बहालवाला वा पूर्वप्रधानन्यायाधीशको अध्यक्षतामा चुनावी सरकार गठन गर्न माग गरे ।  “केही दलहरूको स्वार्थले संविधानसभा तोकिएको जिम्मेवारी पूरा नगरी ‘मृत्युवरण’ गर्न बाध्य भएको छ,” आमसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले भने, “जेठ १४ पछि मुलुक २०६३ साल अघि फर्केको छ, यस्तो अवस्थामा सबै शक्तिहरूलाई साथमा लिएर ‘सर्वमान्य नागरिक व्यक्तित्व’ को नेतृत्वमा चुनावी सरकार निर्माण गर्नुको अर्को कुनै विकल्प छैन ।”
राष्ट्रिय सहमतिका नाममा केही दलहरूसँग मात्र सहमति गरेर निर्णय नलिन अध्यक्ष थापाले राष्ट्रपति रामवरण यादवलाई सुझाव दिए । अब हुने राष्ट्रिय सहमतिमा राप्रपा नेपाललाई वेवास्ता नगर्न उनले चेतावनी दिए ।
“मुलुकबाट चार दलीय सिन्डिकेट तोडिएको छ, उनीहरू असफल भएका छन्, यो बीचमा राष्ट्रवादी शक्तिहरू सशक्त भएर आएका छन्,” थापाले भने, “अब हुने सहमतिमा हाम्रो प्रतिनिधित्व अनिवार्य हुनुपर्छ, ‘राष्ट्रवादी शक्ति’लाई बेवास्ता गरेर अघि बढ्ने भुल नगर्नुहोला, त्यो भयो भने हामी सडकबाटै राजतन्त्र पुनःस्थापनाको घोषणा गर्छौं ।” संविधानसभाबाट पाएको हैसियत दलहरूले गुमाइसकेको उनको भनाइ थियो ।  निष्पक्ष चुनाव भए जनमतबाट राजसंस्था पुनःस्थापना गर्ने भन्दै थापाले त्यसो नभए लाखौं जनतालाई सडकमा उतारेर ‘नागार्जुनका राजालाई नारायणहिटी’ मा लैजाने चेतावनी दिए ।  “हामी केही समय हेर्छौं, राजालाई पनि पर्खनुस्, धैर्य गर्नुस् भनेका छौं,” थापाले भने, “यदि हाम्रो शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरियो भने हामी चुप लागेर बस्ने छैनौं, तागत छ भने जनतासँग आउ, हैन भने सडक संघर्षबाटै २०४७ सालको संविधान घोषणा गरी अघि बढ्न बाध्य हुनेछौं ।”  कांगे्रस–एमालेलगायत २७ दलले शनिबार गरेको विरोधसभालाई थापाले ‘नाटक’ को संज्ञा दिए ।  संविधान नबन्नुमा प्रमुख तीन दल र मधेसी मोर्चा जिम्मेवार रहेको भन्दै थापाले देश र जनताका नजरमा उनीहरू ‘असफल सिद्ध’ भएको बताए । सभालाई सम्बोधन गर्दै राप्रपा नेपालका उपाध्यक्ष धवलशमशेर राणाले संविधानसभा नै खारेज भइसकेकाले अन्तरिम संविधान र राष्ट्रपतिको वैधानिकता समाप्त भएको बताए । नेता चन्द्रबहादुर गुरुङले तत्कालीन आन्दोलनकारी दलहरूको मार्गचित्र असफल भएको भन्दै अब राष्ट्रवादी शक्तिले मुलुकलाई नेतृत्व दिने बताए । पूर्वमन्त्री तथा कोषाध्यक्ष राजीव पराजुलीले राजासहितको प्रजातन्त्रको विकल्प नभएको बताए ।  सभामा देशभरबाट आएका राप्रपा नेपालका नेता–कार्यकर्ताको उपस्थित थियो ।

Post a Comment

1 Comments