सरुवाप्रति निर्वाचन आयोगको आपत्ति
मातृका दाहाल
काठमाडौं, ४ असार- सरकारले नेपाल प्रहरीका २५ वरिष्ठ अधिकृतहरूको सरुवा गरेको छ । निर्वाचन आयोगले जारी गरेको ‘आचार संहिता’ उलंघन गर्दै सरकारले प्रहरीका ५ अतिरिक्त महानिरीक्षक(एआईजी) र १९ नायव महानिरीक्षक (डीआईजी)को सरुवा गरेको हो । एक साताअघि मात्रै निर्वाचन आयोगले ‘निर्वाचन आचारसंहिता २०६९’ जारी गर्दै निर्वाचनमा प्रभाव पार्ने गरी निजामती तथा प्रहरी अधिकृतहरूको सरुवा–बढुवामा रोक लगाएको थियो । निर्वाचन आयोगका प्रवक्ता शारदाप्रसाद त्रितालले सरकारी निर्णयप्रति आपत्ति जनाउँदै आफूहरूको ध्यानाकर्षण भएको जनाए । “आयोगको निर्णय विपरीत प्रहरीका उच्च अधिकारीको सरुवा भएको छ,” त्रितालले कारोबारसँग भने, “संवैधानिक निकायको निर्णयलाई सरकारले उलंघन गरेको छ, केही दिनभित्रै छलफल गरी हामी ‘उचित’ निर्णय लिन्छौं ।” ब्राजिलको ‘रियो दि जेनेरियो’ शहरमा असार ६ देखि ८ सम्म हुने ‘दिगो विकास सम्बन्धी राष्ट्रसंघीय सम्मेलन’मा जानुअघि प्रधानमन्त्री बाबुराम भट्टराईको अध्यक्षतामा बसेको मन्त्रीपरिषद बैठकले प्रहरीका उच्च अधिकारीको सरुवा गरेको हो । मन्त्रिपरिषद बैठकले ५ एआईजीहरूमध्ये नवराज ढकाललाई महानगरीय प्रहरी आयुक्त कार्यालय (मेट्रो १), कुबेरसिंह रानालाई कार्यविभाग, भीष्म प्रसार्इंलाई प्रशासन, प्रकाश कुँबरलाई प्रहरी प्रशिक्षण–प्रतिष्ठान महाराजगञ्ज तथा किरण गौतमलाई मानव स्रोत विकास बिभागमा सरुवा गरेको छ । अपराध अनुसन्धान बिभागका नरेश गुरुङलाई भने सोही स्थानमा कायम गरिएको छ । सुडान घोटाला प्रकरणबाट सफाई पाएका अर्जुनजंग शाही र मदनबहादुर खड्कालाई भने कुनै बिभागको जिम्मेवारी दिईएको छैन । दुबैजना महानिरीक्षकको सचिवालय मातहत छन् । ‘सुडान घोटाला मुद्धा’ विशेष अदालतमा बिचाराधिन छँदै सरकारले दुई एआईजीको ‘विशेष पद’ स्थापना गरी ढकाल र प्रसाईलाई एआईजीमा बढुवा गरेको थियो । सरुवा गरिएका १९ डीआईजीहरूमध्ये पाँच विकास क्षेत्र अन्तर्गत पूर्वाञ्चलमा पर्शुराम खत्री, मध्यमाञ्चलमा यादव अधिकारी, पश्चिममाञ्चलमा रमेशशेखर बज्राचार्य, मध्यपश्चिममा केशबहादुर शाही तथा सुदूरपश्चिमाञ्चलमा सुशीलबरसिंह थापालाई सरुवा गरिएको छ । यसअघि खत्री महानगरीय प्रहरी आयुक्त कार्यालय, अधिकारी लागूऔषध नियन्त्रण कानुन कार्यान्वयन एकाई, बज्राचार्य अख्तियार दुरुपयोग अनुसन्धान आयोग, शाही मानवस्रोत र थापा प्रतिआतंकवाद निर्देशनालयमा कार्यरत थिए । यस्तै केन्द्रीय अनुसन्धान व्यूरो(सीआईवी) प्रमुख उपेन्द्रकान्त अर्याललाई महानगरीय ट्राफिक प्रहरी महाशाखा तथा सीआईबीमा पूर्वाञ्चल प्रहरी प्रमुख सुरेन्द्रबहादुर शाहलाई सरुवा गरिएको छ । मध्यमाञ्चल प्रहरी प्रमुख बीरेन्द्रबावु श्रेष्ठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा विमानस्थलका नारायणप्रसाद बस्ताकोटीलाई प्रधान कार्यालय प्रतिआतंकवाद निर्देशनालयमा सरुवा गरिएको छ । श्रेष्ठ मध्यमाञ्चल सरुवा हुनु अघि पनि विमानस्थलमै कार्यारत थिए । यस्तै पश्चिमाञ्चल प्रहरी प्रमुख राजेन्द्रसिंह भण्डारीलाई तालिम निर्देशनालय, तालिम निर्देशनालयका हेमन्त मल्ल ठकुरीलाई योजना तथा अन्वेशषण महाशाखा, अन्वेषण महाशाखाका बिज्ञानराज शर्मा प्रबन्ध महाशाखा, प्रधान कार्यालयका टपेन्द्रध्वज हमाल लागूऔषध, प्रधान कार्यालयकै केशव अधिकारीलाई आयुक्त कार्यालय(मेट्रो २) तथा गोपाल भण्डारीलाई अख्तियारमा सरुवा गरिएको छ । सुडान घोटाला प्रकरणमा विशेष अदालतबाट सफाई पाएका हमाल मध्यपश्चिम दरबन्दी भई प्रहरी प्रधान कार्यालयका काजमा थिए । राजधानीको अतिक्रमित सडक भत्काएर चर्चामा आएका ट्राफिक प्रहरी प्रमुख राईलाई भने प्रधानकार्यालय सरुवा गरिएको छ । उनलाई तत्काल कुनै विभाग तोकिएको छैन । उच्च स्रोतका अनुसार माओवादी सिफारिसमा सुरेन्द्रबहादुर शाहलाई अनुसन्धान व्यूरो र वीरेन्द्रबाबु श्रेष्ठलाई विमानस्थल सरुवा गरिएको हो । प्रधान कार्यालयका एक अधिकारीका अनुसार दुवैजना माओवादी निकट मानिन्छन् । स्रोतका अनुसार उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारको सिफारिसमा पूर्वाञ्चलमा खत्री र पश्चिमाञ्चलमा बज्राचार्यलाई सरुवा गरिएको हो । प्रधान कार्यालयका एक उच्च अधिकारीले सरुवा निष्पक्ष, कार्यदक्षता र क्षमताका आधारमा नभएको आरोप लगाए । “सरुवा निष्पक्ष छैन, क्षमता र दक्षता बाहिर गएर सरकारले निर्णय गरेको छ ।” ती अधिकारीले कारोबारसँग भने, “यस्तो प्रवृत्तिले संयन्त्रलाई दीर्घकालीन असर गर्छ ।”
0 Comments