प्रविधिको सहायताले प्रहरी अनुसन्धान आधुनिक बन्दै


  “मानवीय प्रक्रियाबाट गरिएका अनुसन्धान झूटा र अविश्वासीसमेत हुन सक्ने  भएकाले अब यसको प्रयोग र विश्वास दिन–प्रतिदिन  घट्दै गएको छ” डीआईजी उपेन्द्रकान्त अर्याल


image मातृका दाहाल
शान्तिसुरक्षार्थ २४ सै घण्टा तैनाथ सुरक्षाकर्मीहरू सूचना र प्रविधिको पहुँच बाहिर रहने कल्पनासमेत गर्दैनन् । व्यक्तिगत प्रयोजन होस् वा कार्यालय, जिम्मेवारी निर्वाहमा प्रविधिको विकासले क्रान्ति नै ल्याएको उनीहरूको अनुभव छ ।  केही वर्षअघिसम्म प्रहरीलाई कुनै पनि आपराधिक घटनाको अनुसन्धान गर्न आधुनिक प्रविधि भन्दा धेरै पुरानो मानिएको मानीय प्रक्रिया (अभियुक्तको पहिचान गर्न अपनाइने मुचुल्का, बयान) को विकल्प थिएन, तर दिनप्रतिदिन वढ्दै गएको सूचना–प्रविधिको विकासले प्रहरीलाई अपराध अनुसन्धानमा सहज मात्र बनाएन, धेरै हदसम्म प्रहरीका अनुसन्धानले तथ्यपरक जानकारी गराउन सहयोगी माध्यम बनेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख डीआईजी उपेन्द्रकान्त अर्यालको अनुभव छ । पछिल्ला तीन–चार वर्षदेखि नयाँ–नयाँ तरिकाले हुने आपराधिक क्रियाकलापमा सशक्त प्रविधिको प्रयोग गरेर मात्र आपराधिक गिरोहलाई तह लगाउन सकिने डीआईजी अर्याल बताउँछन् । प्रविधिको प्रयोगबाट गरिएका अनुसन्धान वैज्ञानिक र आधिकारिक हुने भएकाले यसलाई विस्तार गर्न राज्य केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।  “मानवीय प्रक्रियाबाट गरिएका अनुसन्धान झूटा र अविश्वासीसमेत हुन सक्ने भएकाले अब यसको प्रयोग र विश्वास दिन–प्रतिदिन घट्दै गएको छ ।” डीआईजी अर्याल भन्छन्, “हामीले पनि घटनाको अनुसन्धानलाई वैज्ञानिक र भरपर्दो बनाउन प्रविधिकै सहायता लिने गरेका छौं ।” जुनसुकै ठाउँमा अपराध भए पनि प्रविधिको सहायताले अभियुक्त पत्ता लगाउन सहज बन्दै गएको प्रहरीको दाबी छ । केही महिनायता महानगरीय प्रहरी अपराध महाशाखाले राजधानीका विभिन्न स्थानमा हुन सक्ने सम्भावित आपराधिक गतिविधिलाई निगरानी राख्ने उद्देश्यले अत्याधुनिक प्रविधिलाई प्रयोगमा ल्याएको छ । महाशाखाले प्रारम्भिक प्रयोगका रूपमा ल्याएको उक्त योजना सम्बन्धित प्रहरी एकाइ तथा कन्ट्रोल रुममा मेसिन जडान गरी केही स्थानमा राखिएका ती मेसिनले जुनसुकै स्थानमा आपत्कालीन घटना भएमा रेकर्ड राख्ने तथा तत्काल प्रहरी संयन्त्र घटनास्थलसम्म पुग्ने व्यवस्था गर्छ । यस्तै सोही योजनाअन्तर्गत ड्युटीमा खटिएका प्रहरीलाई थप जिम्मेवार बनाउन प्रहरीले पैयोग गर्ने भ्यानमा ‘जीपीआरएस’ जडान गरी निगरानी गर्ने व्यवस्थासमेत प्रयोगमा आइरहेको छ । जीपीआरएस जडानले प्रहरी अधिकारी ड्युटीमा खटिएको–नखटिएको संकेत गराउँछ ।  मानवीय प्रक्रियाबाट भएका अनुसन्धान लोप हुन सक्ने तथा परिवर्तन हुन सक्ने भएकाले अनुसन्धानमा सूचना–प्रविधिको सहायतालाई प्रहरीले बढाउँदै लगेको छ  । प्रविधिको प्रयोगबिना प्रहरीका जुनसुकै अनुसन्धान अधुरो रहने डिआईजी अर्याल बताउँछन् । गत भदौ १० गते बबरमहलमा माओवादी सभासद् शालिकराम जमकट्टेलमाथि भएको आक्रमण घटनामा पनि प्रहरी प्रविधिको सहायताबाट तथ्यसम्म पुगेको उनको भनाइ छ । प्रविधीले गर्दा समयको पनि बचत भएको र छिटो निष्कर्षमा पुग्न सकेको उनको अनुभव छ ।  प्रहरीले सभासद् आक्रमण घटनाबारे अनुसन्धान गर्दा बानेश्वरदेखि बबरमहलबीचका दूरसञ्चार सेवाप्रदायक कम्पनीका २२ हजार टेलिफोन कल र प्रयोगकर्ताबाट आपराधिक गिरोहमा संलग्न व्यक्तिको पहिचान गरेको थियो । प्रविधिका कारण काम गर्ने जोस र जाँगरमा समेत वृद्धि हुनुका साथै ‘घटनाको सफल अनुसन्धान’ ले थप जिम्मेवारी बोध गराउन मद्दत गरेको छ । प्रविधिले शारीरिक र मानसिक रूपमा विश्वस्त बनाएको छ । सीआईबी कुनै न कुनै मुद्दामा अनुसन्धान गरिरहेको हुन्छ । प्रविधिबिना अनुसन्धान पूर्ण हुन पनि सक्दैन ।  मानवीय प्रक्रियाबाट नभई प्रविधिको सहायताले यस घटनामा तथ्य सम्म पुगेको सम्बद्ध निकायको अनुभव छ ।  आपराधिक गिरोहका गतिविधिसमेत अत्याधुनिक हुने गरेकाले राज्य पनि सूचना र प्रविधिको प्रयोग बढाउँदै लैजानेतर्फ गम्भीर हुनुपर्छ । विशेष गरी हत्या, लुटपाट, अपहरण, ठगी, डकैतीलगायत आपराधिक गतिविधि नियन्त्रणमा प्रविधिको प्रयोग आवश्यक हुने प्रहरीको भनाइ छ । केही साता अघि मात्रै प्रहरीले व्यापारी पवन संघाई अपहरण गरी फिरौती असुल्न गरिएका योजनामध्येको एक ‘टेलिफोन रेकर्ड’ फेला पारी संलग्न अभियुक्तलाई पक्राउ गरेको थियो । शान्ति–सुरक्षाका लागि खटिएका हुन् या अंगरक्षक सबैले प्रविधि कुनै न कुनै रूपमा प्रविधि प्रयोग गरेकै हुन्छन् । प्रविधिले गर्दा धेरै मान्छेको काम एउटैले गर्न सकेको छ । दूरीले टाढा भए पनि प्रविधिले नजिक बनाएको अनुभव नेपाल प्रहरीको कम्युटर निर्देशनालयमा कार्यरत एक अधिकारी बताउँछन् ।

Post a Comment

1 Comments