भारतीय जालीनोट ६९ लाख ७२ हजारसहित २ पक्राउ



मातृका दाहाल



८ महिनामा २ करोड ७ लाख ७० हजार बरामद


काठमाडौं, १५ जेठ- 
त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट ठूलो परिमाणमा भारतीय जालीनोटसहित एक नेपाली पक्राउ परेका छन् । बारा महेशपुर–७ का असिन मियालाई प्रहरीले नक्कली भारतीय नोट ६९ लाख ७२ हजारसहित पक्राउ गरेको हो । विमानस्थल प्रहरी र नेपाल प्रहरीको प्रतिआतंकवाद सेलबाट खटिएको विशेष टोलीले चियाको प्याकेटमा ‘फल्स बटम’ गरिएको अवस्थामा जालीनोट तथा ‘३४५५६५८’ नम्बरको नेपाली राहदानीसहित मियालाई पक्राउ गरेको थियो । बरामद गरिएका जालीनोटमध्ये  हजार दरका ४९ लाख ७७ हजार तथा ५ सय दरका १९ लाख ९५ हजार रुपैयाँ छ । बरामद नोट सडकमार्ग हुँदै भारत पु¥याउने तयारीमा रहेको प्रहरीको भनाइ छ । अढाई वर्ष अघि मिया रोजगारीका क्रममा संयुक्त अरब ईमिरेट्स (दुबई) गएका थिए । एयर अरेबियाको ‘जी ९–५३५’ उडानबाट आइतबार राति ९ बजे त्रिभुवन विमानस्थल ओर्लिएलगत्तै प्रहरीले आगमन कक्षबाहिरबाट मियाँलाई पक्राउ गरेको हो । त्रिभुवन विमानस्थल प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) नारायणप्रसाद बस्ताकोटीले पत्रकार सम्मेलन गरी बरामद नोटसहित मियालाई सार्बजनिक गरेका हुन् । उच्च स्रोतका अनुसार मियालाई ‘रिसिभ’ गर्न विमानस्थल पुगेका बारा कलैयाका अर्का युवक सर्फुदिन अन्सारीसमेत पक्राउ परेका छन् । उनीमाथी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । उद्यपि प्रहरीले उनलाई सार्वजनिक गरेको छैन । प्रहरी स्रोतका अनुसार विदेशी गिरोहसँग सम्पर्कमा रही अन्सारी मियालाई रिसिभ गर्न विमानस्थल पुगेका थिए । सोही गिरोहमध्येका एक बाराकै मनसुर अन्सारी फरार छन् । आफूसँग भएको रकम सम्बन्धित स्थान (भारत) पु¥याउन मनसुर राजधानी आउने तरखरमा थिए, तर रकमसहित मियाँ पक्राउको सूचना पाएलगत्तै उनी फरार रहेको प्रहरी स्रोत बताउँछ, तर आफूलाई अंग्रेजी बोल्ने अपरिचित व्यक्तिले ‘यो सामान नेपालको विमानस्थल पु¥याइदिनु, त्यहाँ सामान लिन मान्छे आउँछन्’ भनेको तर आफूलाई जालीनोट भन्ने थाहा नभएको मियाको दाबी छ । यसअघि विमानस्थल प्रहरीले गत कात्तिक १६ गते ओमन एयरको उडानमा पाकिस्तानबाट मस्कट हुँदै काठमाडौं आएका पाकिस्तानी नागरिक मोहम्मद सलिमबाट ३९ लाख ९० हजार तथा चैत २१ गते थाई एयरबाट बैंककबाट आएका भियतनामी नागरिक फामभान डिन्हको साथबाट ९८ लाख ८ हजार जालीनोट बरामद गरेको थियो । डिआईजी बस्ताकोटले भारतीय जालीनोटको कारोबारमा संलग्न विदेशी गिरोहले त्रिभुवन विमानस्थललाई ‘ट्रान्जिट पोइन्ट’ बनाउँदै आएको बताए । भारतीय जालीनोटकै कारोबारको अभियोगमा सञ्चार उद्यमी युनुस अन्सारी केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका छन् । “गिरोहले त्रिभुवन विमानस्थललाई केन्द्र बनाएर जालीनोट भित्र्याउँदै आएको छ,” बस्ताकोटीले भने, “संयन्त्र र सूचना पाएसम्म हामी त्यस्ता गतिविधि नियन्त्रणमा लागिरहेका छौं, यद्यपि आवश्यक साधन÷स्रोत र आधुनिक उपकरणको अभावमा गिरोहका गतिविधि हाम्रा लागि चुनौती बनेका छन् ।”

Post a Comment

0 Comments