बबरमहलमा शक्तिशाली बम बिस्फोट
तीनको मृत्यु, ६ घाइते
डीआईजीको नेतृत्वमा छानबिन समिति
केही शंकास्पद पक्राउ
मातृका दाहाल
काठमाडौं, १५ फागुन
राजधानीको बबरमहलस्थित तेल र ग्याँस बिक्री गर्ने सरकारी स्वामित्वको
नेपाल आयल निगम अगाडि ‘शक्तिशाली’ बम बिस्फोट गराइँदा तीन जनाको ज्यान गएको
छ । सोमबार दिउँसो सवा १ बजे भएको बिस्फोटमा ६ जना घाइते भएका छन् ।
दुई जनाको घटनास्थल र एकको उपचारका क्रममा निधन भएको हो । मृत्यु हुनेमा
धादिङ बैरेनीका कृष्णबहादुर तामाङ र ७० वर्षका मानबहादुर तामाङ छन् भने
एकजनाको परिचय खुलेको छैन । घाइतेमा बाराका ३५ वर्षीय सोमबहादुर तामाङ,
भक्तपुर ताँथलीका ४५ वर्षीय रघुनाथ खड्का, धादिङका ६२ वर्षीय लालबहादुर
तामाङ, ललितपुर लुभुका २० वर्षीय बासु श्रेष्ठ तथा अछामका मानबहादुर कुवँर र
भीमबहादुर कुवँर छन् । घाइते सबैको वीर अस्पतालमा उपचार भइरहेको छ ।
अस्पतालका अनुसार सोमबहादुरको अवस्था चिन्ताजनक छ ।
प्रत्यक्षदर्शी काठमाडौंका भूषण घिमिरेले एक्कासि बम बिस्फोटनको आवाज आएको
र बाहिर निस्केर हेर्दा दुईजनाको शरीर क्षत विक्षत अवस्थामा देखेको बताए ।
“मैले त नेपाली सेनाले तोप पड्काएको भन्ठानेको थिएँ,” उनले कारोबारसँग
भने, “बाहिर होहल्ला भएको सुनेर निस्कँदा सडकमा बम बिस्फोटनबाट क्षतविक्षत
शरीर ढलेको देखें ।” बिस्फोटनको जिम्मा ‘संयुक्त जातीय मुक्तिमोर्चा’ नामक
अर्धभूमिगत समूहले लिएको छ ।
मोर्चाका सचिव विश्व क्रान्तिले बिस्फोटनलगत्तै सञ्चारमाध्यममा टेलिफोन
सम्पर्क गरी जिम्मा लिएका हुन् । सरकारले भने बिस्फोटनमा संलग्न
अभियुक्तबारे केही खुलाएको छैन । गृहमन्त्रालयले घटनालाई ‘आततायी’ भन्दै
खेद व्यक्त गरेको छ । “यस प्रकारको आततायी घटनाप्रति सरकार खेद प्रकट
गर्दछ,” गृहप्रवक्ता शंकरप्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
घटनालगत्तै गृहमन्त्री विजकुमार गच्छदारको अध्यक्षतामा बसेको सुरक्षा
समिति बैठकले उपत्यकाको सुरक्षा अवस्थालाई प्रभावकारी बनाउन तथा संलग्न
अपराधीलाई पक्राउ गरी कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ ।
गृहमन्त्रालयले मृतकका परिवारलाई राहत तथा घाइतेको निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइने जनाएको छ ।
घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो
(सीआईबी) प्रमुख डीआईजी उपेन्द्रकान्त अर्यालको संयोजकत्वमा एसएसपीद्वय
देवेन्द्र सुवेदी र केदारमानसिंह भण्डारी तथा एसपी सुवोन घिमिरे रहेको चार
सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।
सुरक्षा समितिको बैठकपछि गृहसचिव सुशीलजंग राणाले गृहमन्त्रालयमा पत्रकार
सम्मेलन गरी अपराधीलाई पक्राउ गर्न कुनै कसर बाँकी नराखिने प्रतिबद्धता
जनाए । “बिस्फोटनबाट ‘सुरक्षा थ्रेट’ बढेको भएको छ,” उनले भने ।
पत्रकार सम्मेलनमा नेपाल प्रहरीका महानिरीक्षक रवीन्द्रप्रताप शाह,
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धान
विभाग प्रमुख मोती गुरुङलगायत उच्च सुरक्षा अधिकारी उपस्थित थिए ।
महानगरीय प्रहरी आयुक्त एआईजी कुवेरसिंह रानाका अनुसार ‘इलेक्ट्रोनिक
डिभाइस’को प्रयोगबाट बम बिस्फोटन गराइएको अनुमान छ । बिस्फोटन भएको स्थान
चारैतिर सुरक्षा घेरामा पर्छ । घटनास्थल दायाँवाँया क्रमशः महालेखापरीक्षक र
काडमाडौं जिल्ला अदालत सुरक्षार्थ चौबीसै घण्टा प्रहरी तैनाथ रहन्छन् ।
घटनास्थलको उत्तरतर्फ सिंहदरबार र सँगै नेपाली सेनाको क्याभलरी गण र
राष्ट्रिय अनुसन्धान विभागका कार्यालय छन् । तर, विस्फोट भएको १५ मिनेटपछि
मात्र प्रहरी घटनास्थल पुगेको थियो । गृहमन्त्री गच्छदार, महानगरीय प्रहरी आयुक्त राना, नेपाल प्रहरीको अपराध
अनुसन्धान विभाग प्रमुख एआईजी नरेश गुरुङलगायत उच्च सुरक्षा अधिकारी
घटनास्थल पुगे पनि संलग्न अपराधीको अझै पहिचान हुन सकेको छैन । केही
शंकास्पद अभियुक्तलाई प्रहरीले सिंहदरबार आसपासबाट नियन्त्रणमा लिएको छ । काठमाडौं प्रहरी प्रमुख एसपी राजेन्द्र श्रेष्ठले पक्राउ परेकाको
अनुसन्धान जारी रहेको भन्दै छिट्टै अभियुक्तलाई पक्राउ गरी कानुनी
कारबाहीको प्रक्रियामा ल्याइने बताए । घटनापछि राजधानीको सुरक्षा व्यवस्था
कडा पारिएको छ ।
राजधानीबाट बाहिरने सबै नाकासहित उपत्यकाका तीनै जिल्लामा नेपाल र सशस्त्र
प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागबाट गस्ती तथा सादा पोसाकमा
सुरक्षाकर्मी तैनाथ गरिएको उच्च अधिकारीले बताए ।
को हुन् विश्व क्रान्ति ?
तीन जनाको ज्यान जानेगरी भएको बिस्फोटनको जिम्मा लिएका विश्व क्रान्ति
अर्थात देवराज लामा विभिन्न आपराधिक गतिविधिमा संलग्न व्यक्ति हुन् ।
धनकुटा नगरपालिका– १ हिलेबजारका ३७ वर्षीय लामा संयुक्त जातीय
मुक्तिमोर्चाका सचिव तथा रामराजाप्रसाद सिंह अध्यक्ष रहेको नवजनवादी
मोर्चाका नेतासमेत हुन् । राजधानीमा शृंखलाबद्ध बम बिस्फोटन, अपहरण,
चन्दा÷फिरौती असुलीलगायत आपराधिक गतिविधिमा संलग्न रहेको अभियोगमा उनले
झन्डै एक वर्ष कारागार सजायसमेत भोगिसकेका छन् ।
२०६७ असार ९ गते बौद्धबाट पक्राउ परेका लामालाई हातहतियार तथा विस्फोटक
पदार्थ ऐनअन्तर्गत मुद्दा दायर भएकोमा १५ हजार धरौटी बुझाउन नसकी कारागार
चलान गरिएको थियो । उनी केही महिनाअघिमात्रै जिल्ला कारागार धादिङबाट मुक्त
भएका कैदी हुन् । गत वर्ष फागुनमा कमलादीमा राष्ट्रिय जनमोर्चाले आयोजना
गरेको संघीयताविरोधी कार्यक्रमलाई लक्षित गरी भएको बिस्फोटनमा समेत लामा
मुछिएका थिए ।
२०६६ मंसिर १३ गते बालुवाटारस्थित राप्रपा नेपालको कार्यालयमा उनले दुई
सकेट बम विस्फोट गराएका थिए । उनी सचिव रहेको मोर्चाको नाममा जातीय आधारमा
राज्य निर्माण हुनुपर्ने भन्दै राजधानीका विभिन्न स्थानमा साम्प्रदायिक
सद्भाव बिथोलिने पर्चा तथा भित्तेलेखनसमेत गरिएको छ ।
0 Comments