राजधानीमा सक्रिय डनका घरमा प्रहरीद्वारा छापा

६४ ‘डन’ नियन्त्रणपछि रिहा
Name

मातृका दाहाल

काठमाडौं, ९ असार-

 ‘संगठित अपराध’मा संलग्न रहेको अभियोगमा पक्राउ परेका पाँचदर्जन बढी ‘डन’ हरूलाई प्रहरीले नियन्त्रणमा लिइ छाडेको छ । गुण्डागर्दी, अपहरण, धाक–धम्की, फिरौती असुल, अवैध लागूऔषध कारोबार, जबर्जस्ती ठेक्कापट्टालगायत आपराधिक गतिविधि सञ्चालनको आशंकामा काठमाडौं प्रहरीले राजधानीमा सक्रिय ६४ जना ‘डन’ का घर तथा कोठामा छापामारी नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका अधिकांशलाई सामान्य सोधपुछपछि रिहा गरिएको हो । पक्राउपछि रिहा हुनेहरूमा दीपक मनाङे भनिने राजीव गुरुङ, तेजेन्द्र गुरुङ, चरी भनिने दिनेश अधिकारी, कुमार घैंटे, शशि अधिकारी, पञ्चे लामा, दावा लामा, सुदीप स्थापित, सिपाही भनिने रवीन्द्र देउलालगायत छन् । संघीय लोकतान्त्रिक पार्टीका उपाध्यक्ष रहेका मनाङे यसअघि अदालतको आदेशबाट छुटेका अभियुक्त हुन् । उनीहरू सबै प्रहरीका पटके तथा अदालतबाट धरौटी बुझाइ तारिखमा छुटेका अभियुक्त हुन् । शनिबार १० ग्राम खैरो हेरोइनसहित पक्राउ परेका स्थापित र ज्यानमार्ने उद्योगमा फरार रहेका अभियुक्त देउलामाथि भने प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । शनिबार पक्राउ पर्नेको सूचीमा अर्का डन गणेश लामा भने पक्राउ पर्ने सूचीमा थिएनन् । उनी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य छन् । अपहरण, लागूऔषध, कर्तव्यज्यान, जबर्जस्ती चन्दा÷फिरौती असुल, हातहतियार खरखजना, गैंडाको खाग तथा लागूऔषध ओसार–पसारलगायत अभियोगमा ‘कुख्यात डन’हरू उदय सेठ्ठी, राजु गोर्खाली भनिने राजेन्द्रबहादुर गोर्खाली र मिलनचक्रे भनिने मिलन गुरुङ अहिले कारागारमा छन् । शनिबार प्रहरी नियन्त्रणपछि रिहा भएका अभियुक्तहरूमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईवी) ले समेत निगरानी राख्दै आएको छ । यद्यपि पक्राउ गर्नेबारे काठमाडौं प्रहरीले आफूहरूसँग कुनै परामर्श नगरेको बताए । प्रहरीकै केन्द्रीय संयन्त्रले निगरानीमा राखेका अभियुक्त पक्राउपछि रिहा हुँदासम्म हामीलाई कुनै जानकारी छैन ।” ती उच्च अधिकारीले कारोबारसँग भने, “किन पक्राउको केही घण्टाभित्रै रिहाइ भयो भन्ने विषय नै शंकास्पद छ ।”सीआईवी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) उपेन्द्रकान्त अर्यालले पनि आफूहरूलाई यसबारे औपचारिक जानकारी नभएको बताए । “संगठित अपराध सञ्चालन तथा त्यस्ता समूहका गतिविधिमाथि हामीले पनि निगरानी गर्दै आएका थियौं ।” डीआईजी अर्यालले भने, “तर काठमाडौं प्रहरीले पक्राउपछि रिहा गरेको भन्ने जानकारी समाचारबाट थाहा भयो, अरू यसबारे केही जानकारी छैन ।” काठमाडौं प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) जयबहादुर चन्दले संगठित अपराध नियन्त्रण अभियानअन्तर्गत शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरिएको बताए ।अपराधमा संलग्न रही फरार भएका तथा कानुनी प्रक्रियापछि छुटेका ‘गिरोह’ माथि हामीले निगरानी सुरु गरेका हौं ।” काठमाडौं प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) जयबहादुर चन्दले कारोबारसँग भने, “संक्रमणकालीन अवस्थामा यी समूहका गतिविधि बढ्नसक्नेप्रति हामी सचेत छौं, सोही क्रममा उनीहरूमाथि सोधपुछका लागि नियन्त्रणमा लिइएको हो ।” पछिल्ला दिनमा राजधानीमा साना हतियारको प्रयोग, फिरौती असुल तथा अवैध लागूऔषध ओसार–पसार बढ्न थालेपछि यी समूहमाथिको निगरानीमा कडाइ गरिएको चन्दको भनाइ छ । राजधानीमै सक्रिय अन्य डनहरू अमित पौडेल, उर्गेन लामा, बाबु भन्ने विश्वक्रान्ति सिंह, बाघे (बाघबहादुर लामा), जसवन्त गुरुङ, साजन महर्जन,  रिंकीपिंकी लगायत समूह राजनीतिक आवरणमा आपराधिक गतिविधिमा संलग्न हुँदै आएको प्रहरी स्रोत बताउँछ । काठमाडौं प्रहरी प्रवक्ता नायव उपरीक्षक (डीएसपी) धीरजप्रताप सिंहले अपराध नियन्त्रणमा ‘सर्च अभियान’ चलाइ शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरिएको बताए । डीएसपी सिंहका अनुसार यो अभियान शुक्रबार रातिबाट सुरु भएको हो । “अपराध नियन्त्रण गर्न थालिएको ‘सर्च अभियान’ अन्तर्गत शंकास्पद पाँचदर्जन बढीलाई नियन्त्रणमा लिएका थियौं ।” डीएसपी सिंहले कारोबारसँग भने, “लागूऔषधसहित पक्राउ परेका केहीमाथि अनुसन्धान जारी छ ।” राजधानीमै आपराधिक गतिविधि सञ्चालन गर्दै आएका सिद्धार्थ लामा भने अहिले फरार छन् । लामा वरिष्ठ चिकित्सक उपेन्द्र देवकोटाकी छोरी अपहरणमा संलग्न अभियुक्त हुन् ।यस्तै भरतपुर क्यान्सर अस्पतालका तत्कालीन निर्देशक भक्तमान श्रेष्ठ अपहरणका मुख्य योजनाकार भीमसेन पण्डित, प्रवीण तामाङ, अमर टन्डन र सनमाल लिम्बूसमेत अहिले फरार छन् । प्रहरीका अनुसार फरार सबै संगठित अपराधमा संलग्न अभियुक्तहरू हुन् । “शनिबार पक्राउ परेका अधिकांश गुण्डागर्दी, अपहरण, जबर्जस्ती चन्दा असुली, ठेक्का÷पट्टा, फिरौती असुल, लागूऔषधको अवैध कारोबारलगायत आपराधिक गतिविधिमा संलग्न व्यक्ति हुन् ।” प्रहरीका एक उच्च अधिकारीले कारोबारसँग भने, “उनीहरू सबैलाई राजनीतिक दलहरूको संरक्षण छ, यदि त्यस्ता व्यक्ति तथा समूहलाई राजनीतिक तहबाट संरक्षण नहुने हो भने अपराध नियन्त्रणमा कुनै कठिनाइ हुने छैन ।”

Post a Comment

0 Comments