सर्वोच्चका न्यायाधीश बमको गोली हानी हत्या

 मातृका दाहाल
काठमाडौं, १८ जेठ-

सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको गोली हानी हत्या भएको छ । कार्यालय जाने क्रममा बिहीबार ललितपुरको राष्ट्रसंघ (यूएन) पार्क नजिकै अज्ञात समूहले उनको हत्या गरेको हो ।
गोली प्रहारबाट घाइते भएका बमको नर्भिक अस्पतालमा उपचार गर्दागर्दै निधन भएको थियो । न्यायिक क्षेत्रको उच्च ओहोदामा रहेका व्यक्तिको हत्या भएको सम्भवतः यो पहिलो घटना हो ।
बा ८ च ९८५३ नम्बरको सेतो कारमा रहेका बमको चिउँडो, घाँटी, हात र छातीमा गोली लागेको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार गोली लागेको ठाउँबाट उच्च रक्तश्राव भएकाले बमलाई बचाउन नसकिएको हो ।
गोली प्रहारबाट अंगरक्षक नेपाल प्रहरीका सहायक निरीक्षक (असई) महेश गिरी र बमका हितैसी राम गिरी घाइते भएका छन् । राम हाँस्य कलाकार दीपकराज गिरीका बुवा हुन् । बिहीबार बिहान कलंकीस्थित घरबाट बगलामुखी मन्दिर दर्शन गरी फर्किएका बम कार्यालय जाने क्रममा थिए ।
“एक्कासि उहाँ (न्यायाधीश बम) सवार मोटर अगाडि दुईजनाले मोटरसाइकल तेस्र्याएर गोली हान्न थाले,” प्रत्यक्षदर्शीको भनाइ उद्धत गर्दै अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने, “सुरुमा अंगरक्षक र त्यसपछि न्यायाधीशमाथि गोली प्रहार गरेको देखिन्छ ।” गोली प्रहारलगत्तै बम, अंगरक्षक महेश र राम ‘बचाऊ–बचाऊ’ भन्दै गोली हान्ने गिरोहलाई पछ््याई केही मिटर परसम्म दौडिएका थिए । “तर शरीरबाट रगत बग्न थालेपछि उहाँ (बम) ढल्नुभो, सँगै रहेका अंगरक्षकले उहाँलाई बेहोस अवस्थामै ट्याक्सीमा राखे र अस्पताल पु¥यायौं,” प्रहरी अनुसन्धान अधिकृतले प्रत्यक्षदर्शीसँग लिएको बयानमा भनिएको छ । अस्पताल पु¥याएको केही समयपछि चिकित्सकले बमलाई मृत घोषणा गरेका थिए ।
मोटरसाइकलमा कालो वर्णका दुई युवक रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ । घाइते दुबैको नर्भिकमै उपचार भइरहेको छ । महेशको घाँटीमा एक राउन्ड तथा रामको हात र घाँटीमा तीन राउन्ड गोली लागेको चिकित्सकले बताएका छन् ।
बमको हत्यालगत्तै प्रहरीले राजधानीको सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । अभियुक्त भाग्नसक्ने आशंकामा प्रहरीले घटनास्थल आसपासलगायत उपत्यका जोड्ने सबै नाकामा जाँच बढाएको छ । महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी रविराज श्रेष्ठले अभियुक्तको खोजीकार्यमा कुनै कसर बाँकी नराख्ने प्रतिक्रिया दिए ।

Post a Comment

0 Comments