नक्कली प्रमाणपत्र पेस गर्ने 

१७ प्रहरी जना विशेष अदालतमा 

  •     सशस्त्र प्रहरीका तीन डीएसपी, १ इन्स्पेक्टर र १ असई
  •     नेपाल प्रहरीका १ इन्स्पेक्टर, ५ सई, ३ असई, २ हवल्दार र १ जवान
  •     बढुवाका लागि नक्कली प्रमाणपत्रको प्रयोग
Name

मातृका दाहाल 

काठमाडौं, १३ असार- 
नक्कली प्रमाणपत्र पेस गरी सेवा प्रवेश गरेको अभियोगमा नेपाल र सशस्त्र प्रहरीका १७ अधिकृत तथा जवानले विशेष अदालतमा मुद्दा खेपिरहेका छन् । विभिन्न शैक्षिक संस्थाबाट प्रवेशिका (एसएसली, प्रमाणपत्रतह र स्नातक तह उत्तीर्ण भएको नक्कली प्रमाणपत्र पेस गर्ने सशस्त्र प्रहरीका ५ र नेपाल प्रहरीका १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा दायर मुद्दामध्ये अहिलेसम्म सशस्त्र प्रहरीका तीनजना नायव उपरीक्षक (डीएसपी) तथा निरीक्षक (इन्स्पेक्टर) र नायव निरीक्षक (सई) एक÷एक जना छन् । एकवर्ष अघिमात्रै सशस्त्र प्रहरीका दुई एसपी नक्कली प्रमाणपत्र पेस गरी सेवा प्रवेश गरेको अभियोगमा सेवाबाट बर्खास्त भएका थिए । “पछिल्लो तीन वर्षयता हामीले सशस्त्र र नेपाल प्रहरीका थुप्रै अधिकृत तथा जवानका शैक्षिक प्रमाणपत्रमाथि अनुसन्धान जारी राखेका छौं,” अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहन्यायाधिवक्ता बद्री गौतमले कारोबारसँग भने, “यो अवधिमा छानबिनमा परेका केही दोषी देखिएका छन् भने केहीले अनुसन्धान प्रक्रियाबाटै सफाइ पाएका छन् ।” गौतमले अहिलेसम्म नेपाल र सशस्त्र प्रहरीका ९० बढी अधिकृत तथा जवानका प्रमाणपत्र छानबिनका क्रममा रहेको बताए । विशेषगरी बढुवाका लागि नक्कली प्रमाणपत्रको प्रयोग हने गरेको उनको भनाइ छ । गौतमका अनुसार देशभर नक्कली प्रमाणपत्रधारी शिक्षक तथा निजामती कर्मचारी पनि थुप्रै छन् । गौतमले उनीहरूमाथि पनि अनुसन्धान जारी रहेको बताए । अख्तियारको अनुसन्धानमा दोषी पाइएपछि मुद्दा दायर भएकाहरूमा सशस्त्र प्रहरी प्रधान कार्यालयका कान्छु भण्डारी र विनोदकुमार गौतम तथा सीमासुरक्षा कार्यालय बाराका पदमहादुर शाही गरी तीन डीएसपी छन् । त्यस्तै सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सप्तरीका निरीक्षक रुद्रनारायण थारू र प्रधान कार्यालयका असई ढालबहादुर रावतले पनि नक्कली प्रमाणपत्र पेस गरेको अभियोगमा मुद्दा खेपिरहेका छन् । सोही अभियोगमा नेपाल प्रहरीअन्तर्गत क्षेत्रीय प्रहरी तालिम केन्द्र नेपालगन्जका निरीक्षक रामनारायण गिरीसहित जिल्ला तथा क्षेत्रमा कार्यरत नायव निरीक्षकहरू गोकर्ण विष्ट, नवलसिंह गुरुङ, सुन्दरप्रसाद बस्नेत, रामचन्द्र पोखरेल तथा भक्तबहादुर खड्का विरुद्ध नक्कली प्रमाणपत्र पेस गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो । सोही अभियोगमा मुद्दा दायर भएकाहरूमा सहायक निरीक्षकहरू तुलबहादुर गुरुङ, दिलीप कार्की र इन्द्रकला भुसाल, दुईजना हवल्दार दिनेशकुमार राउत र डिल्लीबहादुर नेपाली तथा प्रहरी जवान भरतकुमारी कोइराला छन् । विशेष अदालतका रजिस्ट्रार धीरबहादुर चन्दका अनुसार अभियोगपत्रमा अधिकांश प्रतिवादीहरूले भारतीय शैक्षिक संस्थाबाट उच्चशिक्षा हासिल गरेको उल्लेख छ । एक वर्षअघि मात्रै विशेष अदालतले सशस्त्र प्रहरीका दुईजना उपरीक्षक (एसपी) लाई नक्कली प्रमाणपत्र पेस गरी सेवा प्रवेश गरेको अभियोगमा दोषी ठहर गरेको थियो । सशस्त्र प्रहरी उपरीक्षकद्वय नरबहादुर रावल र यज्ञप्रसाद शिवाकोटी नक्कली प्रमाणपत्र पेस गरेको अभियोगमा  विशेष अदालतले सेवाबाट बर्खास्त हुनेगरी फैसला सुनाएको थियो । २०४४ सालमा सहायक निरीक्षकबाट नेपाल प्रहरीमा प्रवेश गरेका शिवाकोटीले भारतको बिहारस्थित बाबासाहेब भीमराव अम्बेडकर विश्वविद्यालयबाट आईएस्सी उत्तीर्ण गरेको शैक्षिक प्रमाणपत्र पेस गरेका थिए ।  सोही प्रमाणपत्रका आधारमा उनले २०४६ मा आइएल र २०५३ सालमा बीएल उत्तीर्ण गरेका थिए । अख्तियारबाट मुद्दा चलाइएका प्रहरी, शिक्षक, निजामतीलगायत सरकारी सेवामा आवद्धहरू दोषी पाइए उनीहरू भविष्यमा नैतिक पतन हुने गरी सरकारी सेवाबाट अयोग्य ठहरिन्छन् ।
 

Post a Comment

0 Comments