करिब १० वर्षअघि नेपालमा ढुकुटी खेल निकै प्रचलित थियो । त्यसबेला प्रायः
पुरुष ढुकुटी खेलमा सहभागी थिए । बचत तथा ऋण सहकारीहरूको संख्या
वृद्धिसँगसँगै ढुकुटी बिस्तारै सेलाएर गयो । कतिपय ढुकुटीमा बदमासी भएर
प्रहरीमा पनि प्रशस्त उजुरी परेका थिए । अहिले फेरि ढुकुटीको बिगबिगी बढेको
छ । पहिले सहकारी आएर सकिएको यो खेल अहिले बैंक, वित्तीय संस्था र
सहकारीको ऋणको ब्याज तिर्नका लागि फेरि सुरु भएको यसमा संलग्नहरूले बताएका
छन् । दशकअघि पुरुषले चलाउ“दा धेरै जना भागेको हुनाले महिलाको सहभागितामा
यो विश्वसनीय हुने देखिएकाले धेरै ढुकुटी चलाउने पनि महिला र खेल्ने पनि
महिला भएका छन् । तर, अहिले पनि फेरि ढुकुटीमा बदमासी बढेर गएको छ । घोप्पा
भनिने ढमहिला सञ्चालक र ऋणीहरू पनि पुरुषभन्दा केही कम नभएको कुरा फेरि
प्रमाणित भएको छ । अहिले अधिकांश ढुकुटीसम्बद्ध उजुरी महिलाद्वारा
महिलाविरुद्ध परेका छन् । ढुकुटी सञ्चालन र खेलमा अधिकांश घुसखोर सरकारी
कर्मचारी, प्रहरी र सेनाका श्रीमतीहरू संलग्न भएको प्रहरी अनुसन्धानले
देखाएको छ । रातारात धनाढ्य हुइन्छ भनेर मध्यम र उच्च–मध्यम लाटासोझा
गृहिणी वा पेसाकर्मी महिला फसाएर ढुकुटी खेलमा संलग्न गराउनेहरूमा समाजमा
अलिकति चल्तापूर्जा देखिएका तिनै वर्गका महिला बढी सक्रिय छन् । केही छट्टू
व्यापारीले यस्ता महिलालाई उनीहरूको बचत कैयौं गुना बढाउने सपना देखाएर
यस्तो खेलमा लगाएका हुन् । नेपालका कानुनी रूपमा पिरामिड शैलीका कम्पनीहरू
अवैध घोषित भएपछि ढुकुटी अझ बढी मौलाएको हो ।
ढुकुटी भनेको १०, २०, ५० जना व्यक्तिको समूह बनाएर साधारणतः प्रतिमहिना
सबैबाट एक निश्चित रकम उठाउने र त्यो पैसाबाट कुनै एक व्यक्तिले आफ्नो
गर्जो टार्ने आर्थिक करारनामा हो । तर, हरेक करारनामामा बदमासी भएपछि त्यो
ठगी बन्दछ अनि आपसी झगडा र लेनदेन विवाद प्रहरीसम्म पुग्छ । अहिले फेरि
ढुकुटीमा बदमासी बढेकाले प्रहरी र प्रशासनले यसलाई रोक्नका लागि अग्रसरता
लिनुपरेको हो । धेरै जना ढुकुटी सञ्चालकहरू पैसा उठाएर भाग्ने गरेका र
कतिपयले पैसा नभएको बैंकको चेक दिएर अरु सहभागीलाई ठग्ने गरेको हुनाले
अहिले फेरि ढुकुटी बन्द गर्नुपर्ने अवस्था आएको हो, तर प्रहरीले ढुकुटी
बन्द गराउने अभियान चलाए तापनि कानुनी रूपमा ढुकुटी बन्द गर्नसक्ने अवस्था
देखिँदैन । किनभने कुनै पनि कानुनले ढुकुटी वा यस्तै प्रकारको व्यक्तिगत वा
समूहगत करारलाई बन्द गरेको अवस्था छैन । प्रहरी सरकारले आदेश दिए कारवाही
गर्छौ भनेर पर्खिरहेको छ ।
नेपालको आर्थिक कानुनले कहीँ पनि ढुकुटी खेलाउन पाइँदैन भनेको छैन ।
राष्ट्र बैंक ऐन २०५८ को परिच्छेद ९ को दफा ७६ अनुसार कुनै पनि व्यक्ति,
फर्र्म, कम्पनी वा संस्थाले कुनै पनि प्रकारको निक्षेप लिन वा कर्जा दिन
बैंकबाट तोकिएबमोजिम स्वीकृति लिनु पर्नेछ । तर, ढुकुटी निक्षेप लिएको वा
कर्जा दिएको प्रकारको कारोबार होइन । यदि ढुकुटी खेल्नु अथवा खेलाउनुलाई
गैरकानुनी भन्ने हो भने कुनै पनि व्यक्तिलाई अर्को व्यक्तिले ऋण दिनु पनि
गैरकानुनी देखिन्छ । त्यस्तै कुनै मर्कामा परेको व्यक्तिलाई एउटा समूह
बनाएर ऋण सहयोग गर्नु पनि गैर कानुनी ठहर्छ । यो कारोबार कुनै समूहका
व्यक्तिहरूबीचमा चल्ने हुनाले प्रहरीले प्रमाणित समेत गर्न सक्दैन ।
त्यसैले यो कारोबार रोक्न र जनतालाई यसबाट बचाउन जनतामा जागरुकता
ल्याउनमात्र सकिन्छ । यसमा संलग्न हुन चाहनेले के बुझ्नुपर्छ भने कुनै पनि
व्यापारमा २० प्रतिशतभन्दा बढी नाफा कमाउन अत्यन्त गाह्रो हुन्छ । कसैले यो
भन्दा बढी नाफा कमाउने दाबी गरेर २०/३० प्रतिशतमा ऋण लिन्छ भने त्यो
फर्काउन प्रायः असम्भव हुन्छ भन्ने सबैलाई बुझाउन सक्नुपर्छ । यस्तो
कार्यमा लागेकालाई प्रहरीले पनि खास मद्दत गर्न नसक्ने जानकारी समयमै
दिनुपर्छ ।
0 Comments