काठमाडौं, ३ साउन-
चाडपर्व नजिकिँदै गर्दा राजधानीमा सुनचाँदीका गहना
लुटपाट गर्ने आपराधिक गिरोह सक्रिय भएका छन् । घरमा कोही नभएको मौका छोपी
हतियार देखाई लुटपाट गर्ने संगठित गिरोह केही सातादेखि काठमाडौंमा सक्रिय
रहेको प्रहरीले बताएको छ । बुधबार गोंगबुस्थित सुनचाँदी पसलमा लुटपाट गर्न
गएका भारतीय आपराधिक समूहका दुईजनालाई प्रहरीले दुईथान इटालियन पेस्तोल तथा
८ राउन्ड गोलीसहित पक्राउ गरेको छ । सोही गिरोहमध्येका एकजना फरार छन् ।
उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । बुधबार बिहान गोगंबु
गणेशस्थान मन्दिरनजिकै म्याग्दी पिप्लेका राजन भुर्तेलले सञ्चालन गरेको
‘म्याग्दी–धौलागिरि सुनचाँदी पसल’ लुट्न गएका भारत समस्तीपुर कल्याणथाना
लदैरगाउँका रञ्जित सिंह र रमेश ठाकुर हतियारसहित पक्राउ परेका हुन् ।
मंगलबार मात्रै ललितपुर जावलाखेलस्थित डा. सञ्जीव थापाको घरबाट २४ तोला सुन
र एकथान ल्यापटप चोरी भएको थियो । त्यसअघि असार १९ गते ललितपुरकै
ताल्छिखेलका जगन्नाथ महतको ४४ तोला सुन र १५ लाख नगद लुटपाट भएको थियो ।
असार १८ गते कालिमाटीबाट मोती तामाङको १ तोला सुनको रिङ र मोबाईल तथा असार
३० गते चाबहिल सरस्वतीबाट नमुना भण्डारीको घाँटीमा लगाएको आधा तोला सिक्री
लुटीएको थियो । केही महिनाअघि मात्रै अज्ञात समूहले कपन र पुल्चोकका
सुनचाँदी पसल सञ्चालन गर्दै आएका दुईजनाको गोली हानी हत्या गरेको थियो ।
प्रहरीका अनुसार बुधबार पक्राउ परेका लुटेरा समूहसमेत सुनचाँदी पसल नजिकै
एक राउन्ड हवाई फायर गरी सुनचाँदी पसल प्रवेश गर्ने क्रममा थिए । महानगरीय
प्रहरी परिसर काठमाडौं, महानगरीय प्रहरी वृत्तहरू बालाजु र महाराजगन्ज,
प्रहरी प्रभाग लैनचौर गोंगबुबाट तथा सादा पोसाकका तैनाथ प्रहरी टालीले घेरा
हाली उनीहरूलाई पक्राउ गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका
प्रवक्ता प्रहरी नायव उपरीक्षक(डीएसपी) धीरजप्रताप सिंहले गरगहना लुटपाटमा
संगठित आपराधिक गिरोह सक्रिय रहेको स्वीकारे । “गरगहना प्रयोग हुने सिजन
बढेको मौका छोपी लुटेरा समूहले आफ्ना गतिविधिलाई बढाएका छन् ।” डीएसपी
सिंहले कारोबारसँग भने, “यसप्रति हामी सचेत छौं, गरगहना प्रयोगकर्ता तथा
सम्वन्धित व्यवसायी पनि त्यत्तिकै सचेत हुनु आवश्यक छ ।” महँगा गरगहना
लगाएर बाहिर नहिड्न उनले आग्रह गरे । विशेषगरी साउन महिनामा हिन्दू
धर्मावलम्बी महिलाहरू बहुमूल्य गरगहनामा सजिएर शिवालय तथा मठमन्दिरमा
पूजाअर्चना गर्छन् ।
सुनचाँदी पसलमा प्रहरी सुरक्षा
प्रहरीले राजधानीका अधिकांश सुनचाँदी पसलको सुरक्षार्थ हतियारसहित प्रहरी
तैनाथ गरेको छ । आपराधिक समूहका गतिविधिलाई लक्षित गरी मोटरसाइकल गस्तीमा
प्रहरी तैनाथ गरिएको हो । काठमाडौं प्रहरी प्रवक्ता डीएसपी सिंहका अनुसार
सुनचाँदी पसल खुल्ने समयअवधिभर प्रहरीले सुरक्षा दिने बताए । दुईजना
सुनचाँदी व्यवसायीको हत्यापछि व्यवसायीको आग्रहमा प्रहरीले सुरक्षा दिएको
हो । उपत्यकामा झन्डै ५ हजार बढी गहना पसल छन् । डीएसपी सिंहले सम्भव
भएसम्म प्रहरी सुरक्षाबाहेक पसल बाहिर सीसी क्यामेरा जडान गर्न समेत
व्यवसायीलाई सुझाव दिए । “मानवीय सुरक्षा व्यवस्था र विद्युतीय सुरक्षामा
फरक छ ।” उनले भने, “यदि प्रहरी नपुगेको अवस्था छ भने सीसी क्यामेराबाट
पनि संलग्न आपराधिक व्यक्तिको पहिचान गर्न सजिलो हुन्छ ।”
0 Comments