‘डन’सँग बयान लिँदै प्रहरी


 मातृका दाहाल
काठमाडौं, ६ साउन -
 संगठित अपराध सञ्चालन गरी अकूत सम्पत्ति कमाएको अभियोगमा प्रहरीले चर्चित ‘डन’सँग बयान सुरु गरेको छ । झन्डै एक वर्षको अनुसन्धानपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीहरूसँग बयान लिन थालेको हो । पहिलो चरणअन्तर्गत प्रहरीले गणेश लामा र दीपक मनाङे भनिने राजीव गुरुङसँग बयान लिइसकेको छ । चक्रे मिलन भनिने मिलन गुरुङ र विराटनगरका पर्शुराम बस्नेतसँग बयान लिने तयारी भइरहेको सीआईबीका एक अधिकारीले बताए । प्रहरी अनुसन्धानमा रहेका लामा उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारको दल मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का केन्द्रीय सदस्य र मनाङे संघीय लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हुन् । बस्नेत एमालेनिकट युवासंघ नेपाल मोरङका अध्यक्ष हुन् । चक्रे मिलन पुर्पक्षका लागि सुन्धारास्थित केन्द्रीय कारागारमा छन् । बस्नेतलाई काठमाडौं झिकाउन प्रक्रिया अघि बढाइएको सीआईबी स्रोतले बताएको छ । कारागारमा रहेका चक्रे मिलनसँग केही दिनभित्रै बयान लिइने ती अधिकारीले बताए ।
स्रोतका अनुसार लामा र मनाङे सीआईबीको महाराजगन्जस्थित कार्यालयमै उपस्थित भई प्रारम्भिक बयान दिइसकेका छन् । “बोलाएको बेला उपस्थित हुनेगरी उनीहरूलाई तारेखमा छाडिएको छ,” स्रोतले भन्यो, “बस्नेत र कारागारमा रहेका चक्रे मिलनसँग बयान लिने प्रक्रियामा छौं ।”
सीआईबीका वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमकुमार कार्कीले केही दिनअघिबाट बयान लिन सुरु गरिएको जानकारी दिए । “लामो समयदेखि उनीहरूको सम्पत्ति छानबिन गरिरहेका थियौं,” उनले भने, “अब सम्बन्धित व्यक्तिलाई नै बोलाएर वास्तबिकताबारे छानबिन गरिरहेका छौं ।”
गुण्डागर्दी, अपहरण, जबर्जस्ती चन्दा तथा फिरौती असुल, ठेक्कापट्टा, लागूऔषध कारोबारलगायत आपराधिक गतिविधिबाट ‘डन’हरूले सम्पत्ति जोडेको प्रहरी आशंका छ । यसरी कमाएको ‘कालो धन’लाई ‘सेतो’ बनाउन त्यस्ता व्यक्ति वा समूहले हाउजिङ, उद्योग, होटल, फिल्म, केबल टेलिभिजनमा लगानी गरेको प्रहरी अधिकारी बताउँछन् ।
शंकास्पद व्यक्ति दोषी ठहरिए सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा २८ अनुसार स्रोत नखुलेको सम्पूर्ण सम्पत्ति जफत र सोहीबराबर बिगो÷जरिवाना वा चार वर्षसम्म कैद वा दुवै सजाय हुन्छ ।
आपराधिक तथा अन्य गैरकानुनी रूपबाट सम्पत्ति कमाएको आशंकामा प्रहरीले लामोसमयदेखि उनीहरूमाथि अनुसन्धान गर्दै आएको थियो । प्रहरीले पहिलो चरणमा आशंका गरिएका व्यक्तिलाई सम्पत्तिको वैधानिक स्रोतबारे खुलाउन ‘फाराम’ भराउँछ । यो विवरणमा चित्त नबुझेपछि कानुनी प्रक्रिया सुरु हुन्छ ।
सीआईबी स्रोतका अनुसार यसअघि आपराधिक गतिविधिमा संलग्न रही पटकेमा छाडिएका तथा अदालतको आदेशमा धरौटी तथा कैद भुक्तान गरी छुटेका ‘डन’हरूको सम्पत्ति पनि छानबिनको प्रक्रियामा छ ।
यसअघि ठेक्कापट्टा, गुण्डागर्दी, फिरौती तथा जबर्जस्ती असुल, हातहतियार–खरखजाना, कर्तव्य ज्यान तथा अपहरण, गैंडाको खाग तस्करी, ठेक्कापट्टा÷टेन्डरलगायत अभियोगमा पक्राउ परेका अमित पौडेल, उर्गेन लामा, विश्वक्रान्ति सिंह (बाबु), बाघबहादुर लामा (बाघे), दिनेश अधिकारी (चरी), जसवन्त गुरुङ, कुमार श्रेष्ठ (घैंटे), साजन महर्जन, रिंकी पिंकीलगायत राजधानीमा सक्रिय ‘डन’ अदालतबाट धरौटी तथा तारेखमा रिहा भएका छन् ।
यसबाहेक हातहतियार÷खरखजाना, लागूऔषध ओसार–पसार, कर्तव्यज्यान, अपहरणलगायत अभियोगमा उदय सेठ्ठी, राजेन्द्रबहादुर गोर्खाली (राजु गोर्खाली) लगायतका ‘डन’ पुर्पक्षका लागि कारागारमा छन् ।
आपराधिक गतिविधिमै संलग्न सिद्धार्थ लामा, प्रवीण तामाङ, अमर टण्डन, भीमसेन पण्डितलगायत फरार भने छन् । उनीहरू सबै भरतपुर क्यान्सर अस्पतालका तत्कालीन निर्देशक भक्तमान श्रेष्ठ तथा चिकित्सक उपेन्द्र देवकोटाकी छोरी मेघालगायतको अपहरणमा संलग्न अभियुक्त हुन् । देवकोटाले छोरी मेघालाई अपहरणमुक्त गर्न १ करोड ३० लाख फिरौती बुझाएका थिए ।

Post a Comment

0 Comments