प्रहरी अधिकारीसँग गच्छदार रुष्ट

‘प्रहरी र गृहप्रशासनमा हस्तक्षेप गर्दिन, बरु पद छाड्छु’

Nameकाठमाडौं, ८ साउन-“नेपाल प्रहरी र गृहमन्त्रालयका केही उच्च अधिकारीले गृहमन्त्रीबाट राजनीतिक हस्तक्षेप भएको भनी ‘सुनियोजित समाचार’ छाप्न लगाएका छन्, यो सरासर झुट हो, यसमा सत्यता छैन, कहीँ कतै हस्तक्षेप गरेको पुष्टि भए म एकछिन पनि पदमा बस्दिनँ,” सोमबार महानगरीय ‘मेट्रो ट्राफिक एफएम’ र ‘महिला ट्राफिक प्रहरी ब्यारेक’ उद्घाटन कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले आक्रोश पोखे ।  संगठित अपराधमा संलग्न ‘डन’ लाई संरक्षण गरेको आरोपप्रति उनले आपत्ति जनाउँदै प्रमाण भए देखाउन सबैलाई चुनौती दिए ।  मधेसी जनतालाई ‘वंशज’ का आधारमा नागरिकता दिन मन्त्रीबाट दबाब आएको भनी केही जिल्लाका प्रमुख जिल्ला अधिकारीले आफूविरुद्ध ‘सुनियोजित प्रचार’ गरेको गच्छदारको गुनासो थियो ।  कार्यक्रममा सहभागी गृहमन्त्रालय तथा प्रहरीका उच्च सुरक्षा अधिकारीलाई प्रश्न गर्दै गच्छदार भने, “तपाईंहरूलाई मैले सरुवा–बढुवामा यो निर्णय गर्नुस्, मलाई यति दिनुस्, यो निर्णय मान्नैपर्छ, जसरी पनि निर्णय गराउनुस् भनेको छु ? त्यस्तो छ भने मलाई पदच्युत गर्नुस्, म यस्तो ‘ह्युमिलेट’ सहन सक्तिन ।”  गच्छदारले गृहप्रशासनलाई आधुनिकीकरण गर्न थालिएको प्रयास र पहलमा अर्थमन्त्रालय र मातहत निकायबाट समेत सहयोग नपाएको गुनासो गरे ।  “राम्रो काम गर्दा पनि कसैले ‘राम्रो भयो’ भन्दैनन्, गृहप्रशासनलाई आधुनिकीकरण गर्न बजेट थप्नुप¥यो भन्दा अर्थमन्त्रालयका अधिकारी सुन्दैनन्, यति हुँदाहुँदै पनि मेरो पहल र प्रयासमा देशभर शान्तिसुरक्षामा सुधार आएको छ,” उनले भने, “तर सुरक्षामा सुधार आएको छ, सुरक्षा सुधारका अन्य पहलहरू भएका छन् भनी गृहमन्त्रालयका उच्च अधिकारी र प्रहरी महानिरीक्षक खुलेर बोल्न सक्नुहुन्न ।”  सोही कार्यक्रममा अर्थमन्त्रालयका सचिव कृष्णहरि बाँस्कोटाले सम्भव हुने र संवेदनशील योजना–कार्यक्रममा बजेट छुट्टाउन आफूले कन्जुस्याइँ नगरेको बताए ।  “सम्भव हुने र गर्न सकिने खालका कार्यक्रम र योजना ल्याउनुस्, त्यस्ता प्रस्तावलाई कार्यान्वयन गर्ने सबालमा साधन–स्रोतको अभाव हुँदैन,” बाँस्कोटाले भने, “काम गर्दा पूरा हुने, वैज्ञानिक र विधिसम्मत प्रक्रिया अपनाउनुपर्छ, अर्थमन्त्रालय  पनि सेना÷प्रहरी र गृहप्रशासनलाई साधन÷स्रोत सम्पन्न बनाउनुपर्छ, आधुनिकीकरण गर्नुपर्छ भन्ने पक्षमा छ ।” उनले प्रहरीमा जनशक्ति थप गर्ने विषयमा समेत आफू सकारात्मक रहेको जनाए ।  प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहले मातहत जनशक्तिलाई कानुन र विधिभन्दा बाहिर गएर कुनै खपनि गतिविधि नगर्न निर्देशन दिएका थिए । एफएम उद्घाटन कार्यक्रममा महानिरीक्षक शाहले सिंगो प्रहरीको इज्जत ड्युटीमा खटिएका जनशक्तिको हातमा रहेको भन्दै ‘कुनै आर्थिक प्रलोभन’ तथा विवादित विषयमा नफस्न सुझाव दिए ।  यसैबीच महानगरीय ट्राफिक प्रहरी महाशाखाले सोमबारदेखि ५ सयवाट क्षमताको ‘ट्राफिक एफएम ९५.६’ मेगाहर्जबाट नियमित प्रसारण सुरु गरेको छ । ३९ लाख ८३ हजार लागतमा महाशाखाले एफएम प्रसारण सेवा सुरु गरेको हो । एफएमले अपराध नियन्त्रण तथा अनुसन्धान तथा ट्राफिक सुरक्षासँग सम्बन्धित रहेर समाचार, सूचना, मनोरञ्जनलगायत सामग्री प्रसारण गर्ने महाशाखा प्रमुख राईले बताए ।

Post a Comment

0 Comments