पूर्वराजा ज्ञानेन्द्र ६६ वर्षमा प्रवेश-निर्मलनिवासमा शुभकामना दिनेको भीड

Gyanendra
Formar King Gyanendra Virvikram Shahdev
पूर्वराजा ज्ञानेन्द्र शाहले ‘औपचारिक समारोह’ को आयोजना गरी नागरिक स्तरमा आफ्नो ६६ औं जन्मदिन मनाएका छन् ।  निर्मल निवासमा परिवार, आफन्त, शुभेच्छुक, सर्वसाधारण तथा राजसंस्थावादी नेता–कार्यकर्तामाझ पूर्वराजा शाहले जन्मोत्सव मनाएका हुन् । गणतन्त्र घोषणा अघि भने राजाको जन्मदिन सरकारी स्तरमै मनाइन्थ्यो ।  जन्मोत्सवका अवसरमा पूर्वराजा शाहलाई शुभकामना दिन बिहीबार दिनभर निर्मलनिवासमा शुभेच्छुकहरूको भीड लागेको थियो ।  राप्रपा नेपालका अध्यक्ष कमल थापा, पूर्वप्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठ, राप्रपा नेता बुद्धिमान तामाङलगायतले लाइनमा बसेर पूर्वराजा शाहलाई जन्मदिनको शुभकामना दिएका थिए । यस्तै राजसंस्था समर्थक उद्योगी, व्यापारी, पेसाकर्मी बुद्धिजीवी, खेलाडी, कलाकारलगायतले पनि लाइनमा बसेर ज्ञानेन्द्रलाई शुभकामना दिएका थिए ।  प्रा.डा.श्यामकिशोर सिंहको अध्यक्षतामा गठित २ हजार १ सय ६६ सदस्यीय ‘शुभजन्मोत्सव नागरिक मूल समारोह समिति’ ले शुभजन्मोत्सव कार्यक्रमको व्यवस्थापन गरेको थियो । जन्मोत्सवमा पूर्वयुवराज पारस भने अनुपस्थित थिए । उनी गणतन्त्र घोषणापछि प्रायःजसो सिंगापुर बस्दै आएका छन् ।  ज्ञानेन्द्र तत्कालीन युवराज महेन्द्र तथा युवराज्ञी इन्द्रराज्यलक्ष्मीबाट २००४ साल असार २३ गते जन्मेका थिए ।  यसैबीच लाइनमा बसेका शुभेच्छुकहरूसँग बाहेक पूर्वराजा ज्ञानेन्द्रले यसपटक कुनै औपचारिक धारणा राखेनन् । यसअघि वक्तव्य जारी गरी ज्ञानेन्द्रले मुलुकको समसामयिक घटनाक्रम तथा विषयवस्तुबारे आफ्नो भनाइ सार्वजनिक गर्थे ।  संवादसचिव डा. फणिराज पाठकका अनुसार पश्चिम भ्रमणमा रहँदा व्यक्त विचार नै औपचारिक र आधिकारिक भएकाले यसपटक कुनै वक्तव्य तथा पत्रकार भेटघाट कार्यक्रम नराखिएको हो ।  ज्ञानेन्द्र केही दिनअघि मात्रै साताव्यापी पश्चिममाञ्चल भ्रमण सकी राजधानी फर्किएका थिए ।

Post a Comment

0 Comments