
मातृका दाहाल
काठमाडौं,
२ साउन-
आर्थिक वर्ष ०६८/६९ मा ‘ठूला वित्तीय अपराध’ अभियोगमा पक्राउ
परेका ६० भन्दा बढी व्यक्तिबाट अदालतले जरिवाना र धरौटीबापत करिब २० अर्ब
रुपैयाँ असुल्न आदेश दिएको छ । वित्तीय संस्थालाई विभिन्न तरिकाबाट ठगी
गर्ने, ‘चेक बाउन्स’, आर्थिक अनियमितता, चोरी, अपहरण तथा फिरौती, जालसाझी,
किर्ते दस्तखतलगायतका अभियोगमा यो फैसला भएको हो ।
लेनदेन, ठगी, फिरौतीलगायत वित्तीय अपराधसम्बन्धी उजुरी काठमाडौं र ललितपुर
प्रहरीमा बढी दर्ता हुने गरेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरका
उपरीक्षक (एसपी) वसन्त पन्तका अनुसार दैनिक दर्जनभन्दा बढी आर्थिक
अपराधसम्बन्धी उजुरी दर्ता हुन्छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) तथा उपत्यकासहित
विभिन्न जिल्लाबाट खटिएका विशेष अनुसन्धान टोलीको सक्रियतामा गत वर्ष ६०
भन्दा बढी वित्तीय अपराधी कारबाहीमा परेका हुन् ।
अनुसन्धानमा सक्रिय प्रहरीका अनुसार नेटवर्किङ व्यवसाय र वित्तीय संस्थामा
आर्थिक अनिमितता गर्ने प्रवृत्ति बढेको छ । भ्वाइसओभर इन्टरनेट प्रोटोकल
(भीओआईपी)मार्फत कल बाइपासबाट अर्बौं ठगी गर्ने करिब ३५ व्यक्ति पक्राउ
परेका छन् । भीओआईपीमा संलग्नबाट करोडौं मूल्यका अत्याधुनिक उपकरण पनि
बरामद गरिएको छ ।
प्रहरी प्रवक्ता÷नायब महानिरीक्षक (डीआईजी) विनोद सिंह वित्तीय अपराध
नियन्त्रण गर्न प्रहरी सक्रिय रहेको बताउँछन् । ‘अवैध नेटवर्किङ व्यवसाय’
हर्बो र युनिटीमा मात्रै सर्वसाधारणको ८ अर्बभन्दा बढी डुबेको छ । दुवै
संस्थाका केही सञ्चालक पक्राउ परिसकेका छन् ।
बैंक तथा वित्तीय संस्थाबाट लिएको रकम झुक्तान नगरी फरार २५ भन्दा बढी
बैंकिङ कसुरको अभियोगमा पक्राउ परेका छन् । केही अभियुक्तहरू अदालतको
आदेशमा धरौटी बुझाएर छुटेका छन् । अधिकांशले अदालतसमक्ष आत्मसर्मण गरेका
थिए ।
बैंकिङ कसुरमा पक्राउ परेकासँग अदालतले १४ अर्ब ७८ करोड ३९ लाख ६२ हजार
बिगो÷जरिवाना तथा धरौटी असुल्न आदेश दिएको छ । उनीहरूमाथि ‘बैंकिङ कसुर तथा
सजाय ऐन २०६४’ अनुसार कारबाही प्रक्रिया अघि बढेको प्रहरीले जनाएको छ ।
राष्ट्र बैंकसँग परामर्श गरी प्रहरीले अघि बढाएको अनुसन्धानपछि अदालतले
गोर्खा विकास बैंकका १६ जनालाई ६९ करोड ७७ लाख, सम्झना फाइनान्सका तीन
जनालाई १६ करोड ४० लाख र एनएसएमका तीन जनालाई ६ अर्ब ६७ करोड ६२ लाख धरौटी
बुझाउन आदेश दिएको थियो ।
बैंकिङ कसुरकै अभियोगमा पक्राउ परेका नेपाल विकास बैंकका एक जनासँग ३६
करोड ५ लाख ७० हजार, युनाइटेड विकास बैंकका दुई जनासँग ९ करोड २४ लाख २८
हजार र सीएमबीएफका नौ जनासँग ६ अर्ब ७९ करोड ३७ लाख २० हजार धरौटी मागिए
पनि बुझाउन नसकेर उनीहरू पुर्पक्षका क्रममा कारागारमै छन् ।
“साधन–स्रोत र जनशक्ति तथा तालिम अभावले आर्थिक अपराध नियन्त्रणमा केही
कठिनाइ छ,” डीआईजी सिंहले भने, “अपराध अनुसन्धान, छानबिन तथा मुद्दा दायर
गर्न प्रहरीलाई अधिकारसम्पन्न बनाउन पनि उत्तिकै आवश्यक छ ।”
प्रहरीले आर्थिकलगायत अन्य अपराध अनुसन्धान गर्न पाउँछ तर मुद्दा दायर
गर्न पाउँदैन । मुद्दा सरकारी वकिलको कार्यालयमार्फत दर्ता हुन्छ । यसले
मुद्दा तथा अभियोग प्रभावित हुनसक्ने प्रहरीको दाबी छ ।
नेटवर्किङ र बैंकिङ कसुरबाहेक प्रहरीले अन्य वित्तीय अपराधमा संलग्न
थुप्रै व्यक्तिलाई पनि कारबाहीको दायरामा ल्याएको छ । उजुरीका आधारमा
पक्राउपछि न्यायिक प्रक्रियामा लगिएको काठमाडौं प्रहरी प्रमुख वरिष्ठ
उपरीक्षक (एसएसपी) जयबहादुर चन्दले जानकारी दिए ।
प्रहरीका अनुसार पछिल्ला दुई वर्षमा सयभन्दा बढी उजुरी चेक बाउन्ससँग सम्बन्धित छन् । ३० भन्दा बढी अझै फरार छन् ।
चेकबाउन्सबाट महानगरीय प्रहरी परिसर काठमाडौंमा करिब २० करोड र ललितपुरमा ४
करोड ठगी भएको अनुसन्धानले देखाएको छ । भक्तपुरमा भने यससम्बन्धी उजुरी
परेका छैनन् । भक्तपुर प्रहरीसमक्ष अन्य वित्तीय अपराधका उजुरी पनि न्यून
रहेको प्रहरी अधिकारी बताउँछन् ।
आर्थिक कारोबार अपारदर्शी हुँदा व्यक्ति तथा संस्था चेकबाउन्स ठगीबाट
पीडित हुने गरेको चन्दको भनाइ छ । “आधिकारिक निकायबाट लेनदेन नहुँदा
चेकबाउन्सलगायत अन्य वित्तीय अपराधका घटना बढेको देखिन्छ,” उनी भन्छन्,
“हरेक किसिमका वित्तीय र अन्य आपराधिक गतिविधि रोक्न हाम्रा दैनिक गतिविधि
तथा आथिक कारोबार कानुनअनुसार पारदर्शी हुनु आवश्यक छ ।”
0 Comments