विशेषगरी तारे होटल, रेस्टुराँ तथा शंकास्पद व्यक्तिका निवास आसपासमा सुराकी प्रहरीले निगरानी बढाएका छन् । स्रोतका अनुसार केही दिनयता अपराह्न ४ बजेदेखि राति १० बजेसम्म उनीहरू ती स्थानमा परिचालित छन् । स्थानीय प्रहरीबाहेक नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले समेत अवैध ढुकुटी कारोबारमा निगरानी राख्दै आएको छ । ढुकुटीले संगठित अपराधलाई बढाएको निष्कर्ष निकाल्दै सीआईबी केही महिना अघिबाट ‘ढुकुटी कारोबार’ नियन्त्रणमा सक्रिय रहेको एक अधिकारीले बताए । स्रोतका अनुसार काठमाडौं प्रहरीबाट सूचना संकलनमा खटिएका ‘सुराकी’ ले स्थानीय ‘चुल्ठे–मुन्द्रे’ देखी सम्बन्धित क्षेत्र–इलाकाबारे जानकार व्यक्तिको समेत सहायता लिने गरेका छन् । “आन्तरिक र स्थानीयको सहायता सूचना संकलन कार्य अघि बढाएका हौं,” स्रोतले भन्यो, “थप प्रमाण जुटाएपछि संलग्न व्यक्तिहरूमाथि कारबाही प्रक्रिया अघि बढाउँछौं ।” ढुकुटी खेल्ने र खेलाउने दुवै कानुनी रूपमा दोषी हुने भएकाले सूचना संकलनमा कठिनाइ रहेको काठमाडौं प्रहरी प्रमुख (एसएसपी) जयबहादुर चन्द बताउँछन् । एकमहिने ‘विशेष सुरक्षा योजना’ अन्तर्गत पनि ‘ढुकुटी कारोबार’ नियन्त्रणलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ । “अन्य अपराधमा पीडित र पीडक दुई पक्ष हुन्छन्,” चन्दले कारोबारसँग भने, “तर ढुकुटीमा रकम फसाउने र रकम लिएर फरार हुने दुवै बराबर ‘अभियुक्त’ हुन्, यसकारण पनि पीडित भनिएकाहरू सहजै कानुनी प्रक्रियामा आउँन चाहँदैनन् ।” पछिल्ला केही महिनायता प्रहरी कार्यालयमा आउने गरेका धेरैजसो उजुरीसमेत ढुकुटी विवादसँग सम्बन्धित छन् । प्रहरीका अनुसार एक वर्षयता ढुकुटीमा पैसा चल–अचल सम्पत्ति फसेपछि झन्डै एकदर्जनले आत्महत्या गरिसकेका छन् । डेढदर्जन व्यक्ति करोडौं लिएर फरार छन् । ढुकुटी खेलाउनेमा सेना, प्रहरी, निजामती तथा व्यापारिक घरानाका श्रीमतीदेखि स्कुल–कलेज सञ्चालक तथा सर्वसाधारणसम्म संलग्न छन् । “प्रहरीमा दर्ता भएका आत्महत्या, पारिवारिक कलह, ठगी, वैदेशिक रोजगार, लेनदेन, चेकबाउन्सलगायत सामाजिक तथा वित्तीय अपराधसँग सम्बन्धित उजुरी अनुसन्धान गर्दै जाँदा ढुकुटीमा गएर टुंगिन्छ,” प्रहरीका अर्का अधिकारी भन्छन्, “हेर्दा सामान्य लागे पनि ढुकुटी दिन–प्रतिदिन जटिल समस्या बन्दै गएको छ ।” एसएसपी चन्द ढुकुटी नियन्त्रण गर्न सामाजिक अभियान नै चलाउनुपर्ने बताउँछन् । सीआईबीले गत साउन १३ गते गोप्य सूचनाका आधारमा ‘ढुकुटी खाल’मा छापा मर्दा जोरपाटीबाट २१ लाख ६० हजारसहित १९ जनालाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरूमाथि ‘राष्ट्रबैंक ऐन’ अन्तर्गत कसुरको अभियोगमा मुद्दा चलाएकामा काठमाडौं जिल्ला अदालतले बरामद रकम जफत हुने गरी सोहीबराबर धरौटी लिई तारेखमा राख्न आदेश दिएको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ७६ मा ‘राष्ट्रबैंकको स्वीकृति बेगर निक्षेप संकलन गर्न नपाइने’ उल्लेख छ ।
0 Comments