नयाँ अनुसन्धान अधिकृत तोक्न आग्रह
मातृका दाहाल
काठमाडौं, १० भदौ - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) मा
कार्यरत तीनजना नायव उपरीक्षक (डीएसपी)को सरुवासँगै ‘संगठित अपराध’
सञ्चालन गरी सम्पत्ति आर्जन गरेको अभियोग लागेका ‘चर्चित डन’ को ‘सम्पत्ति
छानबिन कार्य’ प्रभावित बनेको छ ।
प्रहरी प्रधान कार्यालयले भदौ ५ गते सीआईबीका ओम अधिकारी, जीवनकुमार
श्रेष्ठ र भूपेन्द्र खत्रीसहित ६ डीएसपीको काजसरुवा गरेपछि अनुसन्धान
प्रक्रिया रोकिएको हो । अधिकारीलाई जिल्ला प्रहरी कार्यालय दोलखा, श्रेष्ठ
महानगरीय प्रहरी वृत्त महाराजगन्ज र खत्री नगरप्रहरीमा काज सरुवा भएका छन् ।
अर्का अनुसन्धान अधिकृत डीएसपी प्रवीन पोखरेल पनि राष्ट्रसंघीय मिसनमा एक वर्षका लागि इराक गइसकेका छन् ।
अनुसन्धानको जिम्मेवारी पाएका डीएसपीको सरुवा लगत्तै सीआईबीले सम्पत्ति
शुद्धीकरण विभागलाई पत्र लेखी ‘नयाँ अनुसन्धान अधिकृत’ तोक्न आग्रह गरेको छ
।
चन्दा÷फिरौती, अपहरण, जबर्जस्ती ठेक्कापट्टा, लागूऔष ओसारपसारलगायत संगठित
अपराध सञ्चालन गरी अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा युवासंघ नेपालका
मोरङ अध्यक्ष पर्शुराम बस्नेत, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका
केन्द्रीय सदस्य गणेश लामा, संघीय लोकतान्त्रिक पार्टीका उपाध्यक्ष दीपक
मनाङगे भनिने दीपक गुरुङ र मिलनचक्रे भनिने मिलन गुरुङसँग ब्युरोले
अनुसन्धान गर्दै आएको छ ।
सरुवा गरिएका डीएसपीमध्ये अधिकारीले मिलनचक्रे र श्रेष्ठले दीपक मनाङगेको
सम्पत्ति छानबिन गर्दै आएका थिए । त्यस्तै डीएसपीद्वय खत्री र पोखरेलका
छुट्टाछुट्टै युनिटले क्रमशः लामा र बस्नेतको सम्पत्ति छानबिन गर्दै आएका
थिए । सम्पत्ति शुद्धीकरण विभागबाटै सरुवा भएका चारजना डीएसपीलाई गएको
चैतमा ‘अनुसन्धान अधिकृत’ तोकिएको थियो ।
गैरकानुनी रूपमा सम्पत्ति आर्जन गर्ने माथि अनुसन्धान तथा मुद्दा दायर
गर्ने जिम्मा सम्पत्ति शुद्धीकरण विभागको हो । तर सुरक्षाको कारण देखाउँदै
विभागले ‘डन’ को सम्पत्ति छानबिन गरी ‘रिपोर्ट तयार’ पार्न सीआईबीलाई गएको
चैतमा पत्र लेखेको थियो । विभागका एक अधिकारीले सरकारले भरपर्दो सुरक्षा
प्रत्याभूति दिलाउन नसकेपछि उक्त जिम्मा प्रहरीलाई दिनुपरेको बताए ।
सोही आधारमा सीआईबीका चारवटा छुट्टाछुट्टै ‘पिलर’बाट बस्नेत, लामा, मनाङगे
र मिलनचक्रेको सम्पत्ति छानबिन हुँदै आएको थियो । असार पहिलो साताबाट
सीआईबीले आरोपितसँग पटक–पटक बयान सुरु गरेको थियो ।
हाल केन्द्रीय कारागारमा रहेका मिलनचक्रे बाहेकका आरोपित ‘बोलाउँदा उपलब्ध
हुने’ गरी अहिले सीआईबीको साधारण तारेखमा छन् । मिलनचक्रे भने लागूऔषध
अभियोगमा केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका छन् । उनीसँग सीआईबीले
दुई पटक बयान लिइसकेको छ ।
सम्पत्ति शुद्धीकरण विभागका निर्देशक विश्वप्रकाश सुवेदीले डीएसपीको सरुवाले अनुसन्धान प्रक्रिया प्रभावित बनेको स्वीकारे ।
“चारजना डीएसपीलाई हामीले अनुसन्धान अधिकृत तोकेर उक्त जिम्मेवारी दिएका
थियौं,” निर्देशक सुवेदीले कारोबारसँग भने, “अनुसन्धान प्रक्रिया अन्तिम
चरणमा पुगेको जानकारी हामीलाई आएको थियो, तर यही बेला उहाँ (डीएसपी) हरूको
सरुवा भएको छ, यसले अनुसन्धान प्रक्रिया केही लम्विने देखिन्छ ।”
सरुवा भएर गएका अधिकारी र श्रेष्ठको ठाउँमा डीएसपीद्वय महानगरीय प्रहरी
वृत्त महाराजगन्जका जगदीश पोखरेल र जिल्ला प्रहरी कार्यालय दोलखाका उमेशराज
जोशी आएका छन् । तर अन्य दुई युनिटमा अनुसन्धान अधिकृत तोकिएको छैन । उच्च
स्रोतका अनुसार सीआईबी केही साताभित्रै अनुसन्धान प्रतिवेदन विभागलाई
बुझाउने तयारीमा थियो ।
निर्देशक सुवेदीका अनुसार विभागले केही दिनभित्रै नयाँ अनुसन्धान अधिकृत तोकेर छानबिनलाई निरन्तरता दिन प्रक्रिया अघि बढाएको छ ।
“सीआईबीले नयाँअनुसन्धान अधिकृत तोक्न विभागलाई पत्र पठाइसकेको छ,” उनले भने, “यसबारे आवश्यक परामर्श लिएर हामी निर्णयमा पुग्छौं ।”
0 Comments