साढे २९ लाख नक्कली भारुसहित तीन पक्राउ


पीडीएफ मुद्रण इमेल
काठमाडौं, २३ साउन
न्युरोडको क्लासिक होटलबाट सोमबार साँझ प्रहरीले २९ लाख ५० हजार नक्कली भारुसहित तीनजनालाई पक्राउ गरेको छ । नेपालमा भारु लिएर आएका पाकिस्तानी नागरिकद्वय मोहमद नाई मुल्लाह र सोयल मोहमद स्मायल तथा नक्कली भारु लिन आएका बाराका रहमत वसिर धोबीलाई प्रहरी प्रधान कार्यालयको प्रतिआतंकवाद सेलले पक्राउ गरेको हो ।  पक्राउ गरेर सोधपुछ गर्दा उनीहरूले आफूलाई मोहम्मत नाम गरेका व्यक्तिले पठाएको र झोलामा नक्कली भारु भएकोबारे केही थाहा नभएको बताए । काठमाडौंबाट भारु वीरगन्ज लैजाने जिम्मा पाएका बारा पर्शुरामपुरका धोबीले पनि भारु नभई अन्य सामान भनेर आफू लिन आएको बताए । प्रहरीले कसले पैसा पठायो भन्नेबारे केही पत्ता लगाउन सकेन । पक्राउ परेका तीनैजना भरिया मात्र भएको निष्कर्ष प्रहरीको छ ।
हरेकपटक प्रहरीले नक्कली भारुसहित पक्राउ गरेका व्यक्ति भरिया मात्र हुने गरेका छन् । कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ गर्न नसक्दा प्रहरीको सक्रियता रहे पनि नेपाललाई ट्रान्जिट बनाएर नक्कली भारुको कारोबार रोकिएको छैन ।
विभिन्न देश हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर नेपाल भित्रिने नक्कली भारतीय रुपैयाँ प्रहरीले बारम्बार बरामद गर्छ । केही व्यक्ति पक्राउ पनि गर्छ, तर नक्कली भारुको खास कारोबारी गिरोहका व्यक्ति भने पक्राउ पर्न सकेका छैनन् । सो समूहबारे पनि नेपाल प्रहरी अनविज्ञ हुने गरेको छ ।
सोमबार तीनजना पक्राउ गरेपछि सो नक्कली भारु कसले नेपालमार्फत भारत पठाउन लागेको हो र भारतमा कसले लिन लागेको भन्ने तथ्य प्रहरीले खुलाउन सकेको छैन । पाकिस्तान कराँची घर हुने एवाई ५१९९३५२ नम्बरको राहदानीबाहक ४० वषर्ीय सोयल मोहमद स्मायल र जिडी ४१२८५०१ नम्बरको राहदानीबाहक ४७ वषर्ीय मोहमद नाई मुल्लाह पहिलोपटक नेपाल आएको देखिन्छ । पर्यटकका रूपमा नेपाल आएका उनीहरूले त्रिभुवन विमानस्थलबाट सजिलै प्रहरी र अध्यागमनलाई झुक्याएर ठूलो परिमाणमा नक्कली भारु न्युरोडसम्म पुर्‍याउन सफल भएका थिए ।
विमानस्थल प्रहरी स्रोतका अनुसार उनीहरूले ह्यान्डब्यागमा नक्कली भारु लुकाएका थिए । पाकिस्तानी नागरिकको लगेज प्रहरीले कडाइका साथ चेकजाँच गर्न थालेपछि उनीहरूले लगेजसमेत बोकेका थिएनन् । प्रहरीलाई झुक्याउन ह्यान्डब्यागमा नै उनीहरूले नक्कली भारु बोकेको विमानस्थल स्रोतले बतायो । यसपटक मात्र नभई गत वर्षमा पटकपटक नक्कली भारु बरामद हुँदा पनि प्रहरीले भरियालाई बाहेक अरूलाई पक्राउ गर्न सकेन । नक्कली भारु कारोबारीविरुद्ध पटकपटक अपरेसन चलाउँदै आएको नेपाल प्रहरीको प्रतिआतंकवाद सेलका एसएसपी सुवोध घिमिरे भन्छन्, 'कारोबारी पक्राउ गर्न कि बैंक जानुपर्छ कि त पाकिस्तान जानुपर्छ, त्यो हाम्रो पहँुचमा छैन ।' नक्कली भारुका अन्तर्राष्ट्रिय कारोबारीले विभिन्न तह बनाएर सञ्जाल चलाउने भएकाले मुख्य कारोबारीहरू पक्राउ गर्न नसकिएको उनको भनाइ छ ।
एक वर्षयता को-को पक्राउ परे ?
एक वर्षयता विमानस्थल प्रहरीले मात्र तीनपटक नक्कली भारुसहित तीनजना विदेशीलाई पक्राउ गरेको थियो । गत १६ कात्तिकमा ४० लाख नक्कली भारतीय रुपैयाँसहित पाकिस्तानका सलिम मोहम्मदलाई पक्राउ गरेको थियो । त्यस्तै, गत २१ चैतमा भियतनामका फाम भान डिन्च १८ लाख आठ हजार नक्कली भारुसहित विमानस्थलमै पक्राउ परे । गत १४ जेठमा पनि प्रहरीले नेपालमार्फत भारत लैजान लागेको ठूलो परिमाणमा नक्कली भारु बरामद गरी नेपाली नागरिक असिम मियाँलाई पक्राउ गरेको थियो । मियासँग प्रहरीले ६९ लाख ७२ हजार रुपैयाँ बरामद गरेको थियो ।
त्यस्तै, गत ६ माघमा भारत जानै लागेको अवस्थामा प्रहरीले हालसम्मकै ठूलो परिमाणमा नक्कली भारु बरामद गरेको थियो । हजार दरका एक करोड २२ लाख नक्कली भारुसहित प्रहरीले कलंकीबाट एक फिलिपिनी, एक भारतीय र एक नेपाली युवालाई पक्राउ गरेको थियो । फिलिपिनी नागरिक डेनिस प्लोरे सन्चेजले कतारको दोहाबाट ल्याएको रकम वीरगन्जमा लैजानका लागि तयारी गरिरहेको अवस्थामा नक्कली भारु बरामद भएको हो । प्रहरीले नक्कली भारु वीरगन्ज लैजाने भाडामा लिइएका भारतीय नागरिक नसिभ आलम र नेपाली डिकबहादुर नेपाली समातिएका थिए ।
कतारबाट नक्कली भारु लिएर काठमाडौं आएका फिलिपिनी नागरिक डेनिस किंगफिसर एयरलाइन्समार्फत दिल्ली हँुदै मंगलबार दिउँसो काठमाडौं आएका थिए । सामान्यतः भारतबाट आउने प्लेनका यात्रीलाई काठमाडौंको विमानस्थलमा कडा चेकजाँच नहुने भएकाले उनीहरूले त्यसरी दिल्लीलाई ट्रान्जिट बनाउँदै नेपालमा नक्कली भारु भित्र्याएका थिए । पाँचतारे होटल सोल्टीको २१० नम्बर कोठामा बसेर मकालु पेट्रोलपम्पमा नक्कली भारु दिने तयारी गर्दा उनीहरू पक्राउ परेका थिए ।
बाराका सेक मोहम्मत सनहुल्ला र मोहम्मद जाफिर आलम २० माघमा १४ लाख ६० हजार नक्कली भारुसहित पक्राउ परेका थिए । डिएचएलमार्फत आएको नक्कली भारु लिने क्रममा उनीहरू कुलेश्वरबाट पक्राउ परेका थिए । तर, उनीहरूलाई पक्राउ गरेपछि कारोबारमा संलग्न अन्य व्यक्तिको बारेमा खुल्न सकेन । यसरी सधैँ भरिया मात्र पक्राउ पर्ने भएकाले कारोबारीहरूले नयाँ-नयाँ व्यक्तिलाई प्रयोग गरी नेपालमार्फत भारतमा नक्कली भारु पठाउने धन्दा बढाएका हुन् ।
लुकाउने अनेक तरिका
नक्कली भारुको कारोबारमा संलग्नहरूले प्रहरीलाई झुक्याउन सधैँ नयाँ-नयाँ तरिका अवलम्बन गर्दै आएका छन् । झोलाको फल्ट बटममा लुकाउने तरिका अब पुरानो भइसकेको प्रहरी अधिकारीहरू बताउँछन् । चैतमा पक्राउ परेका भियतनामी नागरिकले ब्ल्याक लेबलको बोतल, केेकको बट्टा तथा खेलौनाका बट्टामा राखेर नक्कली भारु नेपाल भित्र्याउन लागेका थिए । त्यस्तै, जेठमा पक्राउ परेका मियाँले मेसिनबाटै प्याक गरिएको चियाको बट्टा, कुकिजको बट्टा तथा डिटरजेन्ट पाउडरको बट्टामा नक्कली भारु लुकाएका थिए । प्रहरीले कुलेश्वरबाट २० माघमा बरामद गरेको नक्कली भारु कुर्ता सुरुवालको कार्टुनमा लुकाइएको थियो ।
पाकिस्तानी नागरिकमाथि बढी निगरानी हुने भएकाले कारोबारी गिरोहले भियतनामी तथा फिलिपिनी नागरिकलाई भरियाका रूपमा प्रयोग गर्न थालेका छन् । 'हामीले बरामद गर्ने भनेको आधा मात्र हो, आधा नक्कली भारु त्रिभुवन विमानस्थल भएरै भारत जाने गरेको छ,' विमानस्थलका एक वरिष्ठ प्रहरी अधिकारीले बताए । आफूहरूको सक्रियता रहे पनि कारोबारीहरूले झुक्याउने गरेको उनको भनाइ छ ।
कारोबारीले तह-तहको गिरोह बनाएर नक्कली नाम र कोड नामका आधारमा गिरोह चलाउने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी जयबहादुर चन्द नक्कली भारुको कारोबारमा आतंकवादी समूह सक्रिय भएको हुनसक्ने बताउँछन् ।
अन्तर्राष्ट्रिय गिरोहले नेपाल भित्र्याएको नक्कली भारु भारतका ग्रामीण क्षेत्रमा लगेर झुक्याई बजारमा पठाउने गरेका छन् । पछिल्लो समयमा उनीहरूले भारु चल्ने नेपालका पश्चिम जिल्लाहरूमा समेत नक्कली भारु बजारमा पठाएको प्रहरी अधिकारीहरूको भनाइ छ ।
This News Is taken From Nawaraj Mainali, Naya Patrika

Post a Comment

0 Comments