३ करोड ‘ढुकुटी रकम’ लिएर कलेज सञ्चालक फरार

मातृका दाहाल
काठमाडौं, २४ साउन -‘ह्वाइटगोल्ड इन्टरनेसनल कलेज’का सञ्चालक माधव शर्मा झन्डै ३ करोड ढुकुटी रकम लिएर फरार भएका छन् । फरार हुनुअघि शर्माले आफ्नो नाममा रहेको कलेजको २० प्रतिशत सेयर सञ्चालक समितिका अर्का सदस्य भाष्कर पौडेलको नाममा ‘नामसारी’ गरेको रहस्य खुलेको छ ।  कलेजकी प्रिन्सिपल ज्योतिकुमारी झाले ३ महिना अघिदेखि शर्मा सम्पर्कमा नरहेको प्रतिक्रिया दिइन् ।  “उहाँ ३ महिनादेखि कलेज आउनुभएको छैन,” झाले भनिन्, “इमेल, टेलिफोनलगायत अन्य माध्यमबाटसमेत उहाँ सम्पर्क बाहिर हुनुहुन्छ ।” उच्च स्रोतका अनुसार शर्मा पत्नी तारासहित भारतमा छन् ।  विराटनगरका स्थायी बासिन्दा उनी ललितपुरको झम्सीखेल बस्दै आएका थिए ।  “उहाँहरूले ३–४ ठाउँमा ‘छुट्टाछुट्टै’ ढुकुटी खेलाउँदै आउनुभएको थियो,” स्रोतले भन्यो, “श्रीमती(तारा)ले ढुकुटी रकम पाउने मितिमा साझेदार केही व्यक्ति पैसा नबुझाई सम्पर्कमा नआएपछि डुबेको रकम उठाउन शर्माले मूलधनी बनेर ढुकुटी खेलाउन सुरु गरेका थिए ।” ताराकी दिदी पुष्पा सुवेदीसमेत ढुकुटीकी मुख्य साझेदार हुन् ।  स्रोतका अनुसार रकम लिएर दुवैजना फरार भएको सूचना पाएपछि ढुकुटी रकम खान पालो पर्खेर बसेका अन्य साझेदार ह्वाइटगोल्ड कलेज धाउन थालेका छन् ।  तर, कलेज प्रशासनले ‘जोसँग कारोबार गरेको हो, उसैसँग भन्नु’ भनेर उनीहरूलाई फर्काउने गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, नायव महानिरीक्षक उपेन्द्रकान्त अर्यालले ढुकुटी कारोबारमा संलग्न सबै दोषी रहने भन्दै त्यस्ता व्यक्तिलाई पक्राउ गरी कारबाही गरिने बताए । “ढुकुटी रकम लिएर फरार भएका लगायत संलग्न अन्य हाम्रा लागि अभियुक्त हुन्,” डीआईजी अर्यालले कारोबारसँग भने, “यदि ढुकुटी पीडितका नाममा कोही आउँछ भने उनीहरूलाई समेत पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउँछौं ।” प्रहरीले ढुकुटीमा संलग्नलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार ‘राष्ट्रबैंकको स्वीकृबिना निक्षेप संकलन’ गरेको अभियोगमा कारबाही गर्नसक्छ ।  ढुकुटी कारोबार आर्थिक अपराध भएकाले यसलाई निरुत्साहित गर्न सबै पक्ष लाग्नुपर्ने उनको भनाइ छ । ढुुकुटीमै रकम फसेपछि राजधानीमा १२ जनाले आत्महत्या गरिसकेको प्रहरी अनुसन्धानले देखाउँछ । त्यस्तै करोडौं रकम लिएर दुईदर्जन व्यक्ति फरार छन् ।  प्रहरी स्रोतका अनुसार प्रहरी कार्यालयमा दिनहुँ दर्ता हुने गरेका ठगी, चेकवाउन्स, पारिवारिक कलह, वैदेशिक रोजगारलगायतका उजुरीसमेत ढुकुटीसँग सम्बन्धित छन् ।  सीआईबीका अनुसार न्यून, मध्यम र उच्च आयस्रोत भएका व्यक्ति तथा परिवारका सदस्यको झन्डै ५ अर्ब रकम ढुकुटी कारोबारमा प्रयोग भएको छ । प्रहरीले गएको साउन १३ गते ढुकुटी खेलाउने १९ जनालाई २१ लाख ६० हजार नगदसहित जोरपाटीबाट पक्राउ गरेको थियो ।  प्रहरीको यो नै पहिलो ‘ढुकुटी कारबाही’ हो । सीआईबी प्रमुख अर्यालकाअनुसार राजधानीलगायत मुख्य सहरका शंकास्पद स्थानमा प्रहरीले ढुकुटी सञ्चालक तथा संलग्न अभियुक्तमाथि निगरानी बढाएको छ ।

Post a Comment

0 Comments