काठमाडौं, ३१ भदौ - प्रहरीले लागू गरेको ‘एक महिने विशेष सुरक्षा योजना’
पछि काठमाडौंमा हुने गरेका संगठित तथा सामाजिक अपराधमा केही कमी आएको छ ।
सुरक्षा योजना कार्यान्वयनपछि अपहरण, चोरी÷डकैती, ठगी, लागूऔषध ओसारपसार,
कर्तव्यज्यान, कालोबजारीलगायत आपराधिक गतिविधि घटेको प्रहरी तथ्यांकले
देखाएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंले जिल्ला प्रशासन कार्यालय र महानगरीय
प्रहरी आयुक्त कार्यालयसँग समन्वय गरी भदौ ५ गतेबाट विभिन्न ५ क्षेत्रमा
विभाजन गरेर सुरक्षा योजना ल्याएको थियो । सुरक्षा योजना सफल बनाउन परिसरले
नियमित बाहेक थप २ हजार ४ सय प्रहरी परिचालन गरेको थियो ।
काठमाडौं प्रहरी मातहत वृत्त, प्रभाग, बिट तथा गस्ती टोलीले साउनमा ३ सय
२० बढीलाई विभिन्न अपराधमा संलग्न रहेको अभियोगमा पक्राउ गरेको थियो । भदौ
महिनामा उक्त संख्या घटेर २ सय ५३ मा झरेको छ ।
पक्राउ पर्नेमध्ये धेरैजसो ‘केही सार्वजनिक अपराध ऐन’ र लागूऔषध
ओसारपसारमा संलग्न ‘अभियुक्त छन् । सार्वजनिक अपराध ऐनअन्तर्गत साउनमा १ सय
९९ र भदौमा १ सय ७५ लाई पक्राउ गरी प्रहरीले कारबाही गरेको छ ।
“विशेष सुरक्षा योजना कार्यान्वयनपछि विगतको तुलनामा शान्तिसुरक्षा
प्रभावकारी हुँदै गरेको छ, सामाजिक तथा संगठित अपराधमा संलग्नहरूलाई
कारबाहीको दायरामा ल्याएका छौं,” काठमाडौं प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक
(एसएसपी) जयबहादुर चन्दले भने, “यो अवधिमा भएका सुधारका प्रयासलाई समीक्षा
गरेर हामी ‘पर्व सुरक्षा’ ल्याउने तयारीमा छौं ।”
चाडपर्वमा ‘आर्थिक कारोबार’ बढी हुने भएकाले आपराधिक गिरोहहरूका गतिविधि
समेत बढ्नसक्ने प्रति आफूहरू सचेत रहेको एसएसपी चन्दको भनाइ छ ।
गतवर्ष पर्वसुरक्षा योजनाअन्तर्गत काठमाडौंबाट १ सय ४८ र ०६७ सालमा १ सय ४७ जना कारबाहीमा परेका थिए ।
सुरक्षा योजनामाअन्तर्गत राजधानीमा बढ्दै गएको गैरकानुनी ‘ढुकुटी खेल’
नियन्त्रणमा विशेष ध्यान दिइने भनिएको थियो । प्रहरीले ढुकुटीमा संलग्न
कसैलाई पनि कारबाहीको दायरामा ल्याएन । एसएसपी चन्दले सुरक्षा योजना लागू
भएसँगै ‘ढुकुटी’ नियन्त्रणमा आएको दाबी गरे । ढुकुटी नियन्त्रण गर्न
काठमाडौं प्रहरीले सादा पोसाकका प्रहरीलाई सुराकीका रूपमा परिचालन गरेको
थियो ।
0 Comments