काठमाडौं, ४ असोज - तीन वर्षयता उपत्यकाका तीन जिल्लामा आर्थिक अपराधसँग
सम्बन्धित ८ हजारभन्दा बढी उजुरी दर्ता भएका छन् । यी उजुरीका प्रतिवादीबाट
अर्बौं दाबी तथा क्षतिपूर्तिको माग गरिएको छ ।
प्रहरीका अनुसार सामाजिक तथा संगठित अपराधसँग सम्बन्धित १० हजारमध्ये
दुईतिहाइ उजुरी आर्थिक अपराधसँग सम्बन्धित छन् । गत आर्थिक वर्ष ०६८÷६९ मा
मात्रै ‘ठूला वित्तीय अपराध’ अभियोगमा पक्राउ परेका ६० भन्दा बढी
व्यक्तिबाट अदालतले जरिवाना र धरौटीबापत करिब २० अर्ब रुपैयाँ असुल्न आदेश
दिएको थियो । त्यसअघिका दुई वर्षमा करिब १० अर्बबराबरको अपराध भएको
प्रहरीको अनुमान छ । विशेषगरी चोरी÷डकैती, लुटपाट, ठगी–जालसाझी, घरजग्गा कारोबार, बैंकिङ कसुर,
लेनदेन, लागूऔषध, खोटाचलन, अवैध भीओआईपी (भ्वाइसओभर इन्टरनेट प्रोटोकल)
सञ्चालन, जबर्जस्ती ठेक्कापट्टालगायतका उजुरी छन् । उजुरीको चाप हेर्दा
आपराधिक गिरोहले उपत्यकालाई आफ्ना गतिविधि सञ्चालन गर्ने ‘सुरक्षित
स्थान’को रूपमा प्रयोग गरेको देखिने प्रहरी बताउँछ ।
२०६६ यताको तथ्यांकअनुसार सबैभन्दा बढी उजुरी काठमाडौं प्रहरीमा दर्ता
भएका छन् । यो अवधिमा अपराधसम्बन्धी ८ हजार ७ सय ७८ उजुरी दर्ता भएकामा ६
हजारभन्दा बढी वित्तीय अपराधसँग जोडिएका छन् । ललितपुरमा करिब २ हजार र
भक्तपुरमा १ हजार हाराहारीमा उजुरी दायर भएका छन् ।
विशेषगरी सार्वजनिक अपराध ऐन र ठगीसम्बन्धी उजुरी बढी आउने गरेको महानगरीय
प्रहरी आयुक्त कार्यालयका एसएसपी पूर्णसिंह खड्का बताउँछन् । बेरोजगारी र
प्रलोभनका कारण यस्ता अपराध बढेको उनी स्वीकार्छन् । “पछिल्ला दिनमा
वैदेशिक रोजगारी ठगी, ढुकुटी, लेनदेन, अंशबण्डा, जग्गा कारोबारलगायत
विवादले आर्थिक अपराधलाई प्रोत्साहन गरेको छ,” उनले भने ।
प्रहरीका अनुसार अपराधमा बैंक तथा वित्तीय संस्थाका सञ्चालक÷बैंकर,
उद्योगी–व्यापारी, राजनीतिक दलका नेता–कार्यकर्ता, प्रहरीका उच्च अधिकृत
तथा जवानदेखि संगठित आपराधिक गिरोहसम्म संलग्न छन् । मंगलबारमात्रै
न्युरोडका व्यापारीसँग चन्दा असुल गर्दै हिँड्ने सशस्त्र प्रहरीका चार
हवल्दार पक्राउ परेका थिए ।
यस्तै अभियोगमा पूर्वसभासद तथा नेपाल सद्भावना पार्टीका अध्यक्ष
श्यामसुन्दर गुप्ता पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन् । उनीमाथि
व्यापारी पवन संघाईलाई अपहरण गरी ८८ लाख फिरौती असुलेको अभियोग लागेको छ ।
अंशबण्डा विवादकै कारण सशस्त्र प्रहरीका डीआईजी रञ्जन कोइरालाले पत्नी गीता
ढकालको हत्या गरेपछि उनी पनि पुर्पक्षका लागि डिल्लीबजार कारागारमै छन् ।
बैंक तथा वित्तीय संस्थाबाट अर्बाैं रुपैयाँ हिनामिना गरेको अभियोगमा तीन
दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्था सञ्चालक पक्राउ परिसकेका छन् ।
संगठित अपराध सञ्चालन गरेको अभियोगमा चर्चित ‘डन’ मिलनचक्रे भनिने मिलन
गुरुङले लागूऔषध कारोबारको अभियोगमा केन्द्रीय कारागारमा कैद भुक्तान
गरिरहेका छन् ।
करिब ५ लाख सर्वसाधारणको ४ अर्बभन्दा बढी रकम हिनामिना गरेको युनिटी लाइफ
प्रकरण पनि यो अवधिको चर्चित मुद्दा हो । यो मुद्दा अहिले पनि अदालतमा
विचाराधीन छ ।
आर्थिक अपराधको अभियोगमा कैद भुक्तान गरी छुटेका तथा पटके कैदी र बेरोजगार
युवाको संलग्नता बढ्दै गएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन् ।
जेल बसिसकेका व्यक्ति जुनसुकै आपराधिक गतिविधि गर्न पछि नपर्ने भएकाले यो
क्रम बढ्दै गएको उनको निष्कर्ष छ । केही उजुरी आपसी मिलापत्र र अदालती
प्रक्रियाबाट किनारा लागे पनि अधिकांश अझै विचाराधीन छन् ।
ललितपुर प्रहरीका प्रवक्ता एसपी बसन्त पन्त सबै अपराधको पछाडि ‘आर्थिक
प्राप्ति’ रहेको बताउँछन् । “एकाधबाहेक अधिकांश अपराधका पछाडि आर्थिक
प्राप्ति नै देखिन्छ,” उनले भने, “केही वर्षअघिसम्म सीमाक्षेत्रमा हुने गरे
पनि अहिले राजधानी र आसपासका क्षेत्रमा बढेको देखिन्छ ।”
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख डीआईजी
उपेन्द्रकान्त अर्याल वित्तीय अपराध सञ्चालन गर्ने गिरोह जस्तोसुकै मूल्य
चुकाउन पनि तयार रहन सक्ने बताउँछन् ।
“मोटो रकम पाउने प्रलोभनमा संगठित आपराधिक गिरोह आर्थिक अपराधमा केन्द्रित
छन्,” उनले भने, “मुलुकका लागि यो चुनौती हो, सामाजिक अपराधसँगै आर्थिक
अपराध नियन्त्रण गर्न राज्यले प्राथमिकतामा दिनैपर्छ ।”
0 Comments