काठमाडौं, १७ भदौ - प्रहरीमा दर्ता भएका ठगी, बवदेशिक रोजगार, चेकबाउन्स,
घर–जग्गा विवाद, पारिवारिक कलहलगायत ‘आर्थिक विवाद’सँग जोडिएका उजुरीको
मुख्य कारण ‘ढुकुटी’ देखिएको छ ।
ढुकुटी खेलाउने मुख्य व्यक्ति करोडौं रुपैयाँ लिएर फरार हुनेक्रम बढ्दै
जाँदा ‘फसेको रकम’ उठाउन ‘पीडित’ व्यक्तिहरू ठगी, वैदेशिक रोजगार, घर–जग्गा
विवाद तथा लेनदेनसँग सम्बन्धित गराएर प्रहरी तथा प्रशासनसमक्ष जाने गरेको
अनुसन्धानबाट पुष्टि भएको छ ।
गत भदौ ८ गते मात्रै शंखमूलस्थित कस्मेटिक पसल सञ्चालक मोरङकी नुतन विमली
‘वैदेशिक रोजगार ठगी’ को अभियोगमा बानेश्वरबाट पक्राउ परिन् ।
वैदेशिक रोजगारीमा जान लिएको ४० लाख रुपैयाँ नतिरेको आरोपमा विराटनगरका
मनोज घिमिरेलगायत तीन जनाले विमलीविरुद्ध प्रहरीमा उजुरी गरेका थिए ।
तर उजुरीमा ‘वैदेशिक रोजगार ठगी’ भनिए पनि कारण थियो–‘ढुकुटी’ विवाद ।
प्रहरीका अनुसार विमली ढुकुटी रकम लिएर सम्पर्कबाहिर रहेपछि ढुकुटी खेल्ने
अन्यले ‘वैदेशिक रोजगारीको नक्कली कागजात’ बनाउँदै कानुनी प्रक्रियामा आएका
थिए ।
बानेश्वर प्रहरीले उक्त विवादको किनारा लगाउने जिम्मा वैदेशिक रोजगार
विभागलाई दिए पनि विभागले आवश्यक अनुसन्धानपछि कागजातलाई नक्कली तथा
‘आधारहीन’ भन्दै विमलीलाई सफाइ दियो ।
त्यस्तै न्युरोडस्थित सिंगापुर इन्टरप्राइजेजकी सञ्चालिका गोमा
केसीविरुद्ध गतवर्ष भदौमा प्रहरी कार्यालय हनुमानढोकामा २ करोड २० लाखको
‘चेकबाउन्स’ भएपछि उजुरी प¥यो । काठमाडौं जिल्ला अदालतले केसीलाई ‘तत्काल
प्राप्त प्रमाण’का आधारमा कसुरदार देखाउँदै ५० हजार धरौटी माग्यो ।
‘प्रहरीका अनुसार उक्त विवाद पनि ढुकुटीसँगै सम्बन्धित थियो । साना–ठूला
गरी राजधानीमा ५ हजार बढी ढुकुटी सञ्चालनमा रहेको प्रहरी अनुमान छ ।
६ वर्षयता काठमाडौं प्रहरीमा ५ सय ४३ ठगीसम्बन्धी उजुरी दर्ता भएकोमा
झन्डै ४ सय उजुरी ढुकुटीसँग सम्बन्धित छन् । ‘ढुकुटी खेल्ने र खेलाउने
गिरोह’ दिनप्रतिदिन बढ्दैजाँदा यस्ता उजुरीको संख्या बर्सेनि बढ्ने गरेको
प्रहरीको भनाइ छ । गत आर्थिक वर्षमा काठमाडौं प्रहरीमा १ सय ५२ र ललितपुरमा
९ वटा ठगी मुद्दा दर्ता भएको थियो ।
ढुकुटी विवादमा उजुरी दर्ता नहुने भएकाले त्यस्तो विवाद ठगी अभियोगसँग जोडिएर आउने गरेको प्रहरी अनुसन्धानमा पाइएको छ ।
“जति रकम डुबेको देखिए पनि ढुकुटी खेलाउने र खेल्ने दुवै पक्ष ‘समान दोषी’
हुन्,” काठमाडौं प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक(एसएसपी) जयबहादुर चन्दले
कारोबारसँग भने, “जसका कारण पीडित भनिएका पक्षले विषयभन्दा वाहिर गएर सहमति
गरिएका समझदारीपत्र तथा अन्य ‘नक्कली दशी–प्रमाण’ पेस गरी फरार
हुनेविरुद्ध कानुनी बाटो रोज्ने गरेका छन् ।”
शंका लागेका त्यस्ता उजुरीमाथि ‘गम्भीर अध्ययन’ गरी घटनाको वास्तविकतासम्म
पुग्न प्रहरी सक्रिय रहेको एसएसपी चन्दको भनाइ छ । जोरपाटीको एक घरबाट
साउन १३ गते १९ जना व्यक्ति २१ लाख ६० हजार ढुकुटी रकमसहित पक्राउ परेका
थिए । त्यसअघि र यता प्रहरीले अन्य ढुकुटी सञ्चालकलाई समाउन सकेको छैन ।
भदौ ५ गतेदेखि काठमाडौं प्रहरीले सुरु गरेको ‘विशेष सुरक्षा योजना’ मा
समेत ढुकुटी नियन्त्रण’ गर्न प्रहरीका ‘विशेष सुराकी’ टोली परिचालित छन् ।
एसएसपी चन्दले ढुकुटीमा संलग्न गिरोहको पहिचान गर्न त्यस्तो रणनीति
अपनाइएको बताए ।
0 Comments