‘चन्दा आतंक’ नियन्त्रणमा प्रहरी निगरानी


 मातृका दाहाल/राधिका ढकाल

Name
काठमाडौं, १७ असोज -

 चाडपर्वको मौका छोपेर विभिन्न समूहले उद्योगी तथा व्यापारीसँग लाखौं चन्दा माग गर्न थालेपछि प्रहरीले निगरानी बढाएको छ । स्थानीयस्तरमा गठन भएका क्लब, सामाजिक संघसंस्था तथा राजनीतिक दलका नेता–कार्यकर्ताका नाममा हुनसक्ने जबर्जस्ती चन्दा असुलीलगायतका आर्थिक अपराध नियन्त्रण गर्न महानगरीय प्रहरी आयुक्त कार्यालयले उपत्यकामा विशेष टोली परिचालन गरेको छ । अपराध अनुसन्धानमा सूचना संकलन गर्न खटिएका सादा पोसाकका ‘घुमुवा प्रहरी’माथि ंसमेत पर्व सुरक्षामा तैनाथ सादा पोसाकका प्रहरी टोलीले विशेष निगरानी राख्न थालेको आयुक्त कार्यालयका प्रवक्ता एसएसपी भोगबहादुर थापाले बताए । “चाडपर्वका नाममा कसैले नगद वा जिन्सी लाभ लिएको पाइए तत्काल कारबाही गर्छौं,” उनले भने, “प्रहरी कर्मचारीसमेत यस्ता गैरकानुनी गतिविधिमा संलग्न हुने गरेको गुनासो आएकाले आयुक्त कार्यालयबाटै मार्सल टोली खटाइएको हो ।” थापाका अनुसार मार्सल टोलीले उद्योग–कलकारखाना, व्यापारिक केन्द्र, बैंक÷वित्तीय संस्था, होटल–रेस्टुराँ, सुनचाँदी पसल, मठमन्दिरलगायत बढी आर्थिक कारोबार हुने क्षेत्रमा निगरानी राख्नेछ । राजनीतिक दल, सामाजिक संघसंस्था वा कुनै पनि तहका प्रहरी कर्मचारी नगद वा जिन्सी सहयोग माग्न आए तत्काल सम्बन्धित प्रहरी कार्यालयमा जानकारी दिन व्यपारीहरूलाई अपिलसमेत गरिएको थापाले बताए । “चन्दा लिएको÷दिएको थाहा पाए दुवै पक्षलाई चन्दा ऐन र सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही हुन्छ,” उनले भने, “कसैले व्यवसायीलाई धम्की र जबर्जस्ती गरेको छ भने हामीलाई सूचना दिनुस्, प्रहरीले जुनसुकै व्यावसायिक र पेसागत सुरक्षा दिन तयार छ ।” चिट्ठा, जुवा–तास, लंगुरबुर्जा खेलाउने तथा ‘बारुदजन्य’ पदार्थ किनबेच÷ओसारपसार गर्नेमाथि थप निगरानी राखिने थापाले बताए । तर, नाम नबताउने न्युरोडका एक व्यापारी चाडपर्व आउनु एक महिनाअगावै दलका कार्यकर्ता, स्थानीय क्लब तथा प्रहरीलगायतले ‘स्वेच्छिक र जबर्जस्ती’ चन्दा÷सहयोग माग्दै आउने गरेको बताउँछन् । शान्तिसुरक्षामा तैनाथ स्थानीय प्रहरीका कर्मचारी ‘जति सक्नुहुन्छ, सहयोग गर्नुप¥यो’ भन्दै चन्दा माग्न आउने गरेको उनले बताए । “प्रहरीले जति नै व्यावसायिक र पेसागत सुरक्षा दिने भने पनि चन्दा आतंक रोकिएको छैन,” न्युरोडका अर्का व्यापारीले भने, “नदिँदा आफैंमाथि खतरा, दिँदा कतिलाई भाग पु¥याउनु ?” उनका अनुसार एउटा समूहले १० हजारदेखि १० लाख रुपैयाँसम्म माग्ने गरेको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेशकुमार बस्नेतले जबर्जस्ती चन्दा÷सहयोग माग्नेक्रम बढेको बताए । “स्वेच्छाले चन्दा वा जुनसुकै सहयोग दिन हामी तयार छौं,” उनले भने, “तर, राजनीतिक दल तथा अन्य संघसंस्थाका प्रतिनिधि जबर्जस्ती चन्दा असुल्न सक्रिय भएको प्रति हाम्रो आपत्ति छ ।” स्वेच्छाले बाहेक कसैलाई पनि चन्दा नदिन उनले व्यापारीहरूलाई अपिल गरे । “स्वेच्छामा कसैलाई सहयोग गर्दा हाम्रो आपत्ति छैन, आफूखुसी चन्दा दिन हामी सहमत छौं, तर पछिल्ला दिनमा बढ्दै दिएको आतंकले समस्त व्यावसायिक क्षेत्र नै आतंकित छ ।” कायममुकायम महानगरीय प्रहरी आयुक्त डीआईजी पर्शुराम खत्रीले बुधबार पत्रकार सम्मलेन गरी पर्वका बेला हुनसक्ने सामाजिक तथा संगठित अपराध नियन्त्रणमा मातहत युनिटलाई सतर्क अवस्थामा राखिएको बताए । मातहत प्रहरी र उच्च अधिकारीलाई उपस्थित गराएर आयोजना गरिएको पत्रकार सम्मेलनमा खत्रीले सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी नराखी काम गर्न निर्देशनसमेत दिए । पर्वको अवधिभर राजधानीमा महानगरीय प्रहरी अपराध महाशाखा तथा काठमाडौं, भक्तपुर र ललितपुरमा नियमितबाहेक ३ हजार ९ सय ९२  जनशक्ति गस्ती तथा सादा पोसाकमा तैनाथ हुने भएका छन् ।

Post a Comment

0 Comments