अब दिउँसो पनि ‘मापसे’ कारबाही

मातृका दाहाल
Nameकाठमाडौं, २३ असोज - रातिमात्र मादक पदार्थ सेवन (मापसे)सम्बन्धी कारबाही गर्दै आएको ट्राफिक प्रहरीले अबदेखि दिउँसो पनि जाँच गर्ने भएको छ । राति र दिउँसो पक्राउ पर्ने चालकमाथि फरक–फरक कारबाही हुनेछ । ट्राफिक प्रहरीले राति मापसे कारबाहीमा परेका चालकबाट सवारीऐनअन्तर्गत १ हजारदेखि ५ हजार रुपैयाँसम्म जरिवाना लिई छाड्ने गरेको छ । तर, सोही अभियोगमा दिउँसो पक्राउ पर्ने चालकविरुद्ध ‘सार्वजनिक अपराध ऐन’अन्तर्गत मुद्दा चलाइनेछ । यो ऐनअन्तर्गत मुद्दा चले सम्बन्धित जिल्ला प्रशासन कार्यालयले २७ हजार रुपैयाँ जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय गर्नसक्छ ।  “नागरिकको ज्यानलाई जोखिममा पारेर कसैले गैरकानुनी गतिविधि गर्छ भने हामी उनीहरूलाई कुनै हालतमा छुट दिन सक्दैनौं,” महानगरीय ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेशराज राईले भने, “राति र दिउँसोको कारबाही एउटै अभियोगमा हो तर त्यसको प्रकृति र दुर्घटनापछि उत्पन्न हुने असर फरक–फरक हुन्छन् ।”  विशेषगरी राजधानी वरपर र लामो दूरीमा चल्ने सार्वजनिक सवारी चालकमाथि दिउँसो र राति दुवै समयमा निगरानी बढाइएको उनले बताए ।  मापसेविरुद्धको अभियानअन्तर्गत नै प्रहरीले तीन दिनअघि (शनिबार) नारायणथान–कलंकी चल्ने माइक्रोबसका चालक रमेश तामाङलाई अपरान्ह ४ बजे बालाजुबाट पक्राउ गरेको छ । डीआईजी राईका अनुसार तामाङलाई सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको छ ।  तामाङबाहेक ट्राफिक प्रहरीले असोज १५ यता उपत्यकाबाट बाहिर जाने लामो दूरीका ६ सवारी चालकलाई साँझको समयमा पक्राउ गरी यही ऐनअन्तर्गत कारबाही चलाएको छ ।  दसैंमा राजधानीबाट घर फर्कने लामो दूरीका यात्रुको सुरक्षालाई लिएर तत्कालै यो अभियान थालिएको राईले बताए । “रातिको कारबाही प्रभावकारी भएपछि सार्वजनिक यातायातका चालकले दिउँसै मदिरा सेवन गरी चलाउने गरेको पायौं,” उनले भने, “यो लापरबाहीले ट्राफिक नियम उल्लंघनमात्रै होइन, आमजनताको सुरक्षामाथि खेलवाड पनि हो, यस्ता गतिविधि नियन्त्रण गर्न मातहत संयन्त्रलाई दुबै समय (दिन र रात) मापसे कारबाही कडा गर्न निर्देशन दिइसकेका छौं ।”  असोज १५ यता भैहवाका लागि ४२ यात्रु लिएर छुटेको ‘पश्चिमाञ्चल यातायात’का लु १ ख ५८७९ र तौलिहवाका लागि ४२ यात्रु लिएर छुटेको लु १ ख ५२३७ नम्बरका बस चालक सार्वजनिक अपराधअन्तर्गत कारबाहीमा परेका छन् ।  त्यस्तै, बुधबारे (झापा)का लागि ४० यात्रु लिएर छुटेको ‘परेली यातायात’को ना ४ ख ५४८० तथा ३५ यात्रु लिएर शनिश्चरे गइरहेको ना ४ ख ३८६० नम्बरको ‘साकिरा यातायात’का चालकविरुद्ध पनि प्रहरीले कारबाही सुरु गरेको छ ।  ट्राफिक महाशाखाले २०६८ मंसिर १७ बाट मापसेविरुद्धको कारबाही सुरु गरेको हो । यो अवधिमा ट्राफिक प्रहरीले ५६ हजार ९ सय ८० चालकलाई कारबाही गरिसकेको छ । मापसे कारबाहीमा परेका चालकबाट झन्डै ४ करोड जरिवाना असुल भएको महाशाखाको तथ्यांक छ ।

Post a Comment

0 Comments