संगठित गिरोहका गतिविधिमा ‘बर्दीधारी’बाटै संरक्षण
काठमाडौं, २१ असोज - ‘ड्युटी’मा खटीएका वर्दीधारी सुरक्षाकर्मी नै
‘आपराधिक गिरोह’सँग मिलेर गैरकानुनी गतिविधिमा संलग्न रहेको भेटिएपछि
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
लागूऔषध तथा जालीनोटको कारोबार, विदेशी मुद्रा अपचलन, मानव तस्करीलगायत
संगठित तथा सामाजिक अपराधमा संलग्न गिरोहले तल्लो तहका प्रहरी कर्मचारीको
सहयोगमा आफ्ना गतिविधि सञ्चालन गर्दै आएको रहस्य खुलेपछि विमानस्थलमा
सुरक्षा सतर्कता बढाइएको हो ।
गिरोहको प्रलोभनमा परी तल्लो तहका कर्मचारीले जिम्मेवारी निर्वाहमा
लापरबाही गर्नसक्ने आशंकामा ‘वर्दीधारी प्रहरी’को निगरानीमा सादा पोशाकमा
विशेष संयन्त्र परिचालन गरिएको विमानस्थल प्रहरी प्रमुख डिआईजी
नारायणप्रसाद बस्ताकोटीले बताए ।
शुक्रबार राती विदेशी मुद्रा अपचलनमा संलग्न भारतीय नागरिक विनोदकुमार
सोनीलाई प्रहरीले बिभिन्न ९ देशका मुद्रा (करिव १ करोड २३ लाख नेपाली) सहित
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित ‘स्टेराई हल’को शौचालयबाट पक्राउ
गरेको थियो ।
सामान्य अवस्थामा ‘स्टेराई हल’ प्रवेश गरेपछि सुरक्षा जाँच गरिँदैन । तर
बिहीबार राती रमेशमिलन केसी भन्ने अपरिचित व्यक्तिले विमानस्थलको ‘कन्ट्रोल
रुम’मा फोन गरी केही विमानमा ‘बम बिस्फोट’ हुन सक्ने चेतावनी दिएपछि
नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले सुरक्षा जाँचमा थप कडाइ गरेको
थियो ।
त्यसको भोलिपल्ट शुक्रबार राती ‘फ्लाई दुवई’ विमानबाट साउदी जाने क्रममा
रहेका सोनीलाई स्रोत नखुलेको विदेशी मुद्रासहित प्रहरीले पक्राउ गरेको थियो
। विगत १५ वर्षदेखी नेपालमा बस्दै आएका सोनीको राजधानीको महाबौद्धमा
‘हार्डवेयर पसल’ छ । सोनीले उक्त विदेशी मुद्रा जहाजसम्म पु¥याउन विमानस्थल
सुरक्षामा तैनाथ नेपाल प्रहरीका हवल्दार सोवित कार्कीको सहयोग लिएका थिए ।
विमानस्थलमा जडान गरिएको सीसी टीभी (क्लोज सर्किट टेलिभिजन)मा कैद भएका
दृश्य र सोनीले दिएको वयानका आधारमा उक्त प्रकरणमा हवल्दार कार्कीको
संलग्नता भेटिएको थियो । सोनी पक्राउ लगत्तै हवल्दार कार्की फरार छन् ।
डिआईजी वस्ताकोटीले कार्कीको खोजी गर्न सबै संयन्त्र परिचालन गरिएको बताए ।
प्रहरीका उच्च अधिकारीकै संरक्षणमा सोनीले उक्त रकम विदेश लैजान लागेको र
‘सेटिङ’ नमिलेपछि पक्राउ परेको आसयसहित सार्वजनिक सञ्चार माध्यममा समाचार
सम्प्रेषण भएपछि डिआईजी वस्ताकोटीले आइतबार पत्रकार सम्मेलन गरी घटनाबारे
जानकारी गराएका थिए ।
“वर्दीमा रहेका प्रहरी हवल्दार सोवित कार्कीको सहयोगमा सोनीले स्रोत
नखुलेको विदेशी मुद्रा जहाजसम्म पु¥याउन सफल भएको देखिन्छ,” बरामद
मुद्रासहित पक्राउ परेका अभियुक्त सोनीलाई सार्वजनिक गर्दै डिआईजी
वस्ताकोटीले भने, “सोनी पक्राउ लगत्तै हवल्दार कार्की फरार छन्, उनको खोजी
गर्न हामीले मातहत संयन्त्रलाई खटाइसकेका छौं ।” डिआईजी वस्ताकोटीले
सोनीलाई माध्यम बनाएर ‘डलर विदेश पठाउन’संगठित गिरोह सक्रिय भएको दावी गरे ।
“यो प्रकरणमा सोनीलाई अन्य संगठित गिरोह तथा राजस्व छलीमा संलग्न
व्यापारीले परिचालन गरेको हुन सक्छ,” उनले भने, “यसमाथी पनि हामीले
अनुसन्धान अघि बढाएका छौं ।”
उक्त प्रकरणमा प्रहरीका उच्च अधिकारीको संलग्नता नरहेको बताए । प्रहरी
प्रधान कार्यालयले यस घटनाको सत्यतथ्य छानविन गर्न महानगरीय प्रहरी आयुक्त
कार्यालयमा डिआईजी पर्शुराम खत्रीको नेतृत्वमा उच्चस्तरीय समिति गठन
गरिसकेको छ ।
“ठूलो संगठनमा एक–दुईजना गलत नियतका कर्मचारी हुनसक्छन्, यो प्रकरणले
त्यसको पुष्टिसमेत गरिसकेको छ,” वस्ताकोटीले भने, “तर एउटा व्यक्तिको
गैरकानुनी गतिविधिलाई अन्य प्रहरी र संस्थासँग जोडिनु हुँदैन ।”
0 Comments