२ हजार ५ सयको अवस्था जोखिमपूर्ण
मातृका दाहाल
काठमाडौं, १४ मंसिर - देशका प्रमुख तीन बन्दीगृह केन्द्रीय, भद्र र महिला कारागारको भौतिक संरचना मर्मत नहुँदा झन्डै २ हजार ५ सय कैदीको दैनिकी जोखिमपूर्ण बनेको छ ।
अदालतबाट दोषी ठहरिएका र पूर्पक्षका लागि आदेश भएकासहित राजधानीका ५ कारागारमा ३ हजार ६ सय ३ बन्दी छन् । यी कारागारको सुधारमा बेवास्ता गरेकै कारण राणाकालीन भौतिक संरचना थप जीर्ण बनेको हो । भद्र र महिला बन्दी गृहको तुलनामा केन्द्रीय कारागार बढी जोखिमपूर्ण छ । भवन अभावमा केन्द्रीय कारागारका २ सय ५० बन्दी पालमुनि बस्न बाध्य छन् ।
यो कारागारलाई सरकारले ‘क’ वर्गको बन्दीगृह भन्दै आएको छ । गतवर्ष आएको ‘शक्तिशाली भूकम्प’ पछि केन्द्रीय कारागारको एउटा भवन भत्केपछि जेल प्रशासनले पाल टाँगेर अस्थायी बसोबासको व्यवस्था मिलाएको थियो, तर अहिलेसम्म भत्केको भवन पुनःनिर्माण हुन नसकेको जेलर होमनाथ थपलियाले कारोबारलाई बताए ।
“आर्थिक अभावमा जीर्ण तथा भत्केका भवन पुनःर्निमाण गर्न सकेका छैनौं,” थपलियाले भने, “जेलभित्रका भवन मर्मत तथा पुनःनिर्माण गर्न २ करोड रुपैयाँको प्रस्ताव ‘कारागार व्यवस्थापन विभागलाई’ पठाएका थियौं, त्यहाँबाट फाइल गृहमन्त्रालय पुगेको सूचना पाएका छौं, यदि मन्त्रालयबाट प्रस्ताव स्वीकृत भए यो वर्ष भित्रै केन्द्रीय कारागारमा नयाँ भवन तथा मर्मत सम्भार गरिसक्ने हाम्रो योजना छ ।”
एक वर्षदेखि पालमुनि बस्दै आएका एक कैदीले सुरक्षित भवनभित्र बस्न पाउने अधिकार सरकारले हनन् गरेको गुनासो पोखे । आधुनिक बन्दीगृहको अभाव तथा सुरक्षा जाँचमा देखिएको कमजोरीले गतवर्ष ‘भारतीय पेसेवर अपराधी’ मनमित सिंहले केन्द्रीय कारागारमा रहेका सञ्चारउद्यमी युनुस अन्सारीमाथि गोली हानी हत्या प्रयास गरेको थियो ।
सात सयको क्षमता भएको केन्द्रीय कारागारमा अहिले १ हजार ४ सय ३५ कैदी छन् । त्यस्तै भद्रमा ६ सय ५२ र महिला कारागारमा २ सय ९१ बन्दी छन् । उपत्यकास्थित कारागारको सुरक्षा जिम्मेवारी पाएका नेपाल प्रहरीका डीएसपी रमेश खड्काले भौतिक संरचना जीर्ण हुँदा कारागारको आन्तरिक र बाह्य सुरक्षामा चुनौती थपेको बताए ।
अनियमितता गर्ने जेलरको सरुवा
आर्थिक अनियमितता र कैदीबन्दीहरूसँग आचरणविपरीत हिमचिम बढाएको आशंकामा कारागार व्यवस्था विभागले असोज दोस्रो साता जगन्नाथ देवल सुन्धारास्थित केन्द्रीय, भद्र र महिला कारागारका प्रशासन प्रमुख (जेलर) भरत पौडेललाई सरुवा ग¥यो । सो स्थानमा अध्यागमन विभागका थपलियालाई लगिएको थियो । स्रोतका अनुसार पौडेलमाथि तीनवटै कारागारका केही बन्दी नाइकेसँग मिलेर कैदी रासनमा अनियमितता गरेको, महिला कारागारमा ‘आर्थिक चलखेल’ गरी नाइके र सहायक नाइके छनोट गर्न खोजेको, किर्ते कागज बनाइ बन्दी गंगाहरि न्यौपाने भाग्दासमेत प्रशासन मौन रहेको लगायत उजुरी परेको थियो ।
नाइके छनोटमा ‘चलखेल’
बन्दीहरूको आन्तरिक व्यवस्थापन गर्न कारागार प्रशासनले नै बढी कैद भुक्तान गरेका, अनुसाशित र संयमित बन्दीहरूमध्येबाट मुख्य र सहायक नाइके छनोट गर्छ ।
एक अधिकारीका अनुसार कारागारभित्र हुने राजनीति, आर्थिक अनियमितता र अन्य चलखेल नाइके छनोटकै क्रममा हुन्छ ।
कारागार व्यवस्था ऐनमा नै अदालतबाट तोकिएकामध्ये नाइकेलाई प्रतिवर्ष ४५ दिन र सहायक नाइकेलाई ३० दिन कैद मिनाहा हुने प्रावधान छ । प्रतिकैदी ७ सय ग्राम चामल र ४५ रुपैयाँ नगदको व्यवस्थापनसमेत नाइकेबाटै हुन्छ । जसअनुसार १ दिनमा २ हजार ५ सय २२ केजी चामल र १ लाख ६२ हजार बढी नगद उनीहरूबाट वितरण हुन्छ । नाइकेका लागि जेल प्रशासनले पहिचान गर्न सजिलो होस् भनेर ‘सरकारी परिचयपत्र’ को व्यवस्था गर्छ ।
त्यस्तै कारागार परिसरभित्र बिना रोकतोक आवत–जावत गर्न पाउने, क्यान्टिन सञ्चालनको अनुमति, आर्थिक लेखाजोखा, जेलर र प्रहरी प्रशासनलाई आन्तरिक सूचना आदान–प्रदान, बन्दी–बन्दीबीचको झगडा मिलाउनेलगायत जिम्मेवारी नाइकेकै भएकाले यसको छनोट पहुँचका आधारमा हुने गरेको स्रोत बताउँछ । “सामान्यत व्यवस्थापकीय भूमिका निर्वाह गर्नसक्ने, अनुशासित तथा बढी कैद भुक्तान गरेकामध्येबाट नाइके र सहायक नाइके छनोट हुनुपर्छ,” एक अधिकारले भने, “तर निष्पक्षता छैन, राजनीतिक दबाब, आर्थिक चलखेल र पहुँचका भरमा कारागारको आन्तरिक प्रशासन सञ्चालन हुने भएकाले इमान्दार बन्दीहरू यसको मारमा पर्दै आएका छन् ।”
तर जेलर थपलियाले मातहत बन्दीगृहमा नाइके तथा चौकीदार छनोट, आर्थिक लेखाजोखा, कैदीको मूल्यांकनलगायत निर्णय पारदर्शी र निष्पक्ष बनाउँदै लैजाने प्रतिबद्धता जनाए ।
केन्द्रीय कारागारका मुख्य नाइके गंगाराम लखू पनि नाइके र सहायक नाइके छनोटमा चलखेल हुने गरेको स्वीकार्छन् ।
१ हजार ४ सय ३५ बन्दीका मुख्य नाइके लखू आफू नेतृत्वमा आएपछि आम बन्दीको हितमा काम गरेको दाबी गर्छन् । उनी मातहत ५६ जना नाइके र ९० जना भाइनाइके खटिन्छन् ।
बन्दीको रासन व्यवस्थापन, जेलर र प्रहरी प्रशासनलाई कैदीका गतिविधिबारे जानकारी दिने, नाइके छनोटका लागि सिफारिस गर्ने, जेलभित्र उत्पादित घरेलु सामान बजारसम्म पु¥याउन प्रशासनसँग मध्यस्तता, आफन्तसँग भेटघाट गराउने बिरामी बन्दीलाई अस्पतालसम्म पु¥याउनेलगायत जिम्मेवारी मुख्य नाइके तथा नाइकेहरूको हो ।
0 Comments