पाँच एसएसपीको डीआईजीमा बढुवा - प्रहरी बढुवामा ‘कार्यदक्षता हावी’

मातृका दाहाल


काठमाडौं, ४ पुस - नेपाल प्रहरीका पाँच जना वरिष्ठ उपरिक्षक (एसएसपी)हरू प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा भएका छन् । वरिष्ठताका आधारमा अघि रहेका ७ जनालाई पछि पार्दै सरकारले २०४४ सालमा प्रहरी सेवा प्रवेश गरेका चारसहित ५ एसएसपीहरूलाई डीआईजीमा बढुवा गरेको हो ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रहरी प्रधान कार्यालय प्रशासन विभागका श्यामबहादुर खड्का, लागूऔषध नियन्त्रण ब्युरोका नवराज सिलवाल, काठमाडौं प्रहरी प्रमुख जयबहादुर चन्द, महानिरीक्षकको सचिवालयका प्रकाश अर्याल र अञ्चल प्रहरी कार्यालय लुम्बिनीका बमबहादुर भण्डारीलाई ीडआईजीमा बढुवा गरेको हो ।
बढुवा भएका सबैको बुधबार नै पदस्थापन गरिएको थियो । सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवका अनुसार खड्कालाई राष्ट्रिय सुरक्षा परिषद्, सिलवाल प्रहरी प्रतिष्ठान महाराजगन्ज, चन्द सुरक्षा सेवा निर्देशनालय, अर्याल अपराध नियन्त्रण ब्युरो र भण्डारीलाई सशस्त्र प्रहरी निर्देशनालयमा पदस्थापन गरिएको छ ।
खड्काबाहेक अन्य चार जना २०४४ साल चैतमा प्रहरी सेवा प्रवेश गरेका अधिकृत हुन् । उनीहरूभन्दा रविप्रताप राणा, पूर्णसिंह खड्का, मनोहरकुमार रिमाल, रामकुमार खनाल, प्रेमबहादुर चन्द, ज्ञानोदराज वैद्य राजबहादुर विष्ट वरियताक्रममा अगाडि थिए ।
मंसिर १४ गते डीआईजीहरू दिनकरशमशेर राणा, गंगाप्रसाद पाण्डे, रमेशविक्रम शाह, विनोद सिंह र पुस्करनाथ रेग्मीलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेपछि पाँच डीआईजीहरूको पद रिक्त थियो ।
रिक्त स्थानमा बढुवाका लागि सरकारले गृहसचिव नवीन घिमिरे अध्यक्ष तथा प्रहरी महानिरीक्षक कुवेरसिंह राना र मानवस्रोत विभाग प्रमुख एआईजी गंगाप्रसाद पाण्डे सदस्य रहेको सुझाव समिति गठन गरेको थियो । बढुवामा वरिष्ठताकी कार्यक्षमतालाई मुख्य आधार बनाउने भन्नेमा समेत गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयबीच विवाद चलेको स्रोतको भनाइ छ ।
गृहमन्त्रालय स्रोतले प्रहरी बढुवामा ज्येष्ठताका आधारमा नभई कार्यक्षमता र दक्षतालाई मुख्य प्राथमिकता दिईएको बतायो ।
“यस पटकको बढुवामा कार्यक्षमता र दक्षतालाई पहिलो प्राथमिकतामा राखिएको छ,” गृहका एक अधिकारीले कारोबारसँग भने, “वरिष्ठतामा अगाडी रहेका एसएसपीहरू पटक–पटक विभागीय कारबाहीमा परेको देखियो, त्यसैले संगठन चलाउन सक्ने र दक्ष अधिकृतहरू बढुवामा परे ।”
बढुवा भएकामध्ये खड्का बाहेकका अधिकृतहरूबाटै चार वर्षपछि नेपाल प्रहरीको आईजीपीका दावेदार हुनेछन् । खड्का भने ‘३० वर्षे’ हदका कारण २०७३ सालमा अवकास पाउनेछन् । डीआईजी बढुवामा गरिएको मूल्यांकनप्रति प्रहरीका एक अधिकारीले तीब्र असन्तुष्टि जनाए ।
“अहिलेका आईजीपी वरिष्ठताका आधारमा बढुवा हुने तर त्यही मान्यता अन्य कर्मचारीमा लागू नहुँने ?” ती बढुवा प्रतिस्पर्धामा रहेका एक एसएसपीले कारोबारसँग भने, “प्रहरी प्रमुख र सरकार नै विभेदकारी भएपछि कर्मचारीलाई कसरी काम गर्ने मनोबल आउँछ ?”
प्रहरीकै एक डीआईजीले पनि जुनियरलाई बढुवा गरेर सरकारले ‘वरिष्ठहरू’माथि अन्याय गरेको प्रतिक्रिया दिए । वरिष्ठतालाई मूल्यांकन नगर्ने हो भने संगठनभित्रको ‘चेन अफ कमाण्ड’ खलवलिने ती डीआईजीको भनाइ छ । २०४३ सालमै सेवा प्रवेश गरेका डीआईजी आगामी १० महिनापछि आईजीपी हुनेछन् । यसैबीच गृहमन्त्रालयले ५ एसएसपी र २९ एसपी सहित अन्य प्रहरी अधिकृतहरूको बढुवा प्रक्रिया समेत अघि बढाएको छ । गृहमन्त्रालयले बढुवाका लागि प्रधान कार्यालयसँग परामर्श गरीरहेको स्रोतले बतायो ।
 

Post a Comment

0 Comments