सुन तस्करी छानबिनमा ‘प्रहरी असहयोग’

मातृका दाहाल/राधिका ढकाल

काठमाडौं, १० पुस - चीनबाट नेपालको बाटो हुँदै भारततर्फ सुन तस्करी भएको आशंका गरिए पनि यसको अनुसन्धानमा प्रहरी प्रशासनले सहयोग नगरेको आरोप भन्सार विभागले लगाएको छ । प्रहरीको सहयोग नहुँदा भन्सार छलीमा संलग्न अभियुक्त पहिचान गर्न समेत कठिनाइ भएको गुनासो विभागको छ । “सुन तस्करीबारे छानबिनमा प्रहरी असहयोगले अभियुक्त उम्किने खतरा बढेको छ,” विभाग महानिर्देशक मुक्तिनारायण पौडेलले भने । गएको मंसिरमा दुईपटक र पुस पहिलो साता एक पटक गरी भन्सार छलेर ल्याइएको करिब १३ किलो सुन प्रहरीले बरामद गरेको थियो । मंसिर १९ मा काभ्रे प्रहरीले ९ किलो सुनसहित सीपा– ४ तातोपानीका सेते तामाङ र बा २ ख ५८३२ नम्बरको कन्टेनर धुलीखेलबाट नियन्त्रणमा लिएको थियो । मंसिर २६ गते नेपालबाट खासा हुँदै चीन लैजान लागिएको १ सय ५० तोला चाँदी र १७ तोला सुन तथा पुसको पहिलो साता ३ किलो सुन प्रहरीले बरामद गरेको थियो । भन्सार छलेर सुन ल्याउँदा तस्करलाई प्रतिकिलो करिब २ लाख ३० हजार रुपैयाँ नाफा हुने नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्य बताउँछन् । तस्करीबाट आएको केही परिमाणबाहेक सबै सुन सडकमार्ग हुँदै भारत जाने गरेको उनको दाबी छ । “आन्तरिक बजारमा समेत सुनको मागअनुसार आपूर्ति नहुँदा तस्करी बढेको हो,” उनले भने । बजारमा अहिले दैनिक ५० किलोसम्म सुनको माग भए पनि वैध रूपमा दैनिक १५ किलोमात्र आयात हुन्छ । राष्ट्र बैंकले लागू गरेको ‘सुन आयात तथा बिक्री कार्यविधि २०६८’ अनुसार वाणिज्य बैंकहरूले दैनिक १५ किलो सुन आयात गरी व्यवसायीलाई बिक्री गर्न पाउँछन् । चालू आवका दुई महिनामा मात्र नेपालमा ४ अर्ब ६५ करोड बराबरको सुन आयात भएको विभागले जनाएको छ । “भन्सार छलेर ल्याइएको सुन तस्करीबारे हामीले अनुसन्धान प्रक्रिया अघि बढाए पनि प्रहरीको सहयोग नहुँदा निष्कर्षमा पुग्न सकिएको छैन,” महानिर्देशक पौडेलले कारोबारसँग भने, “सामान बरामदपछि प्रहरीले हामीसँग कुनै छलफल र परामर्श नै गरेको छैन, जसले गर्दा अभियुक्तलाई कानुनी दायरामा ल्याउनै कठिन भएको छ ।” महानगरीय प्रहरी आयुक्त अतिरिक्त महानिरीक्षक (एआईजी) नवराज ढकाल भने पौडेलको भनाइप्रति असहमति जनाउँदै तस्करीमा संलग्न अभियुक्तको पहिचान गर्न आवश्यक संयन्त्र परिचालन गरिएको दाबी गर्छन् । “भन्सारबाट हुँदै सबै किसिमका तस्करी नियन्त्रणमा प्रहरीको मात्रै भूमिका हुँदैन,” ढकालले भने, “भन्सार छलेर ल्याएका सामान गन्तव्यसम्म पु¥याउँदा तस्करहरूले विभिन्न माध्यम प्रयोग गर्न सक्छन्, त्यसमा प्रहरीका केही कर्मचारीको संलग्नता पनि हुनसक्छ तर व्यक्तिले गरेका कमजोरीलाई लिएर सिंगो संयन्त्रले असहयोग ग¥यो भन्नु तर्कसंकत हुँदैन ।” सुन बरामदलगत्तै काभ्रे प्रहरी, महानगरीय प्रहरी र भन्सार विभागले आ–आफ्नै ढंगबाट अभियुक्त पहिचान गर्न संयन्त्र परिचालन गरेका छन् । आयुक्त कार्यालयको निर्देशनअनुसार महानगरीय प्रहरी अपराध महाशाखाले सुन तस्करीमा संलग्न रहेको आशंकामा उपत्यकास्थित व्यापारी तथा अवैध हुन्डी कारोबारमा संलग्न गिरोहका गतिविधिमाथि निगरानी बढाएको छ । “भन्सार छलीमा संलग्न सम्भावित अभियुक्तको खोजी जारी राखेका छौं,” महाशाखा प्रमुख एसएसपी देवेन्द्र सुवेदीले भने, “डलर तस्करी, हुन्डी कारोबारी तथा सुन व्यापारीलगायतका गतिविधिमा हाम्रो निगरानी जारी छ, यद्यपि अहिलेसम्म तस्करीमा संलग्नको पहिचान हुन सकेको छैन ।” प्रहरीका अर्का अधिकारी सुन तस्करीमा विभागकै कर्मचारी, तस्कर व्यापारी र प्रहरीको मिलेमतो रहेको स्वीकार्छन् । “चीन र नेपालमा संलग्न गिरोहले भन्सारका कर्मचारी, स्थानीय व्यापारी र केही प्रहरीलाई प्रभावमा नपारी तस्करी गर्नै सक्दैनन्,” उनी भन्छन्, “कुनै एउटा पक्षलाई मात्र आरोप लगाउनुभन्दा भन्सार प्रशासनलाई मजबुत बनाएर सुरक्षा संयन्त्रलाई परिचालन गर्ने हो भने कुनै पनि गैरकानुनी गतिविधि नियन्त्रण गर्न समस्या छैन ।”

Post a Comment

0 Comments