भारतीय अपराधी बब्लु काठमाडौंबाट पक्राउ


भारतीय अपराधी बब्लु काठमाडौंबाट पक्राउ
मिति: Thursday,30th May 2013 

मातृका दाहाल/काठमाडौं
अनुप तिवारी/पर्सा
काठमाडौं, १५ जेठ- भारतीय कुख्यात अपराधी बब्लु दुवे भनिने मिथिलेश यादवलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । हत्या, लुटपाट तथा डकैती, अपहरण, फिरौती असुलीलगायत अभियोगमा भारत प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका बब्लुलाई नारायणी अञ्चल प्रहरीको विशेष टोलीले काठमाडौंको सीतापाइला स्थित सीता होम अपार्टमेन्टबाट पक्रेको हो ।
उनको साथबाट प्रहरीले १ लाख ७३ हजार नेपाली रुपैयाँ, ६० हजार भारु, ६ थान मोबाइल तथा नेपाल र भारतीय दूरसञ्चार कम्पनीका सिमकार्डसमेत बरामद गरेको छ । पक्राउलगत्तै नारायणी अञ्चल प्रहरी प्रमुख एसएसपी सर्वेन्द्र खनालको नेतृत्वमा रहेको विशेष टोलीले उनलाई वीरगन्ज पु¥याएर सार्वजनिक गरेको छ ।
बब्लुलाई सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बिहार प्रहरीको अपराध अनुसन्धान टोलीसमेत आएको थियो । सम्मेलनमा बब्लुले आफूमाथि लागेका सबै अभियोग स्वीकारेका छन् । एसएसपी खनालका अनुसार उनीमाथि अनुसन्धान जारी रहेकोले प्रक्रिया पु¥याएर भारत प्रहरीलाई जिम्मा लगाइनेछ ।
बब्लु पक्राउ गर्न सफल भएकोमा भारत प्रहरीले नेपाल प्रहरीको उच्च प्रशंसा गरेको छ । पक्राउलगत्तै वीरगन्ज आएका बिहार प्रहरीका एसपी विनय कुमार, रक्सौल प्रहरीका डीएसपी दीपेन्द्रकुमार पाण्डेलगायत उच्च प्रहरी अधिकारीले नेपालको अपराध अनुसन्धान प्रभावकारी रहेको भन्दै प्रशंसा गरेका  हुन् । “बब्लु पक्राउ गर्न सफल भएकोमा भारतीय जनता र प्रहरीको तर्फबाट नेपाल प्रहरीलाई विशेष धन्यवाद दिन चाहन्छौं,” भारत प्रहरीको भनाइ उद्धृत गर्दै एसएसपी खनालले भने ।
बब्लु पक्राउसँगै नेपाल–भारत सीमा क्षेत्रमा व्यापार–व्यवसाय गर्दै आएका उद्योगी–व्यापारी तथा सर्वसाधारणमा खुसियाली छाएको छ । बब्लुले वीरगन्ज तथा सीमापारि बिहारका मोतीहारी, सुगौली, रमगढवा, रक्सौलवरपरका व्यापारीसँग चन्दा आतंक फैलाएका थिए । पूर्वी चम्पारण जिल्ला, थाना कल्याणपुर ग्राम सिसवाथाना पटनाका ३० वर्षीय बब्लुले ‘बिहार पिपुल्स रिभुलेसन आर्मी’ नामक भूमिगत समूहमार्फत संगठित आपराधिक गतिविधि सञ्चालन गर्दै आएका थिए ।
खनालका अनुसार बब्लु विगत १२ वर्षदेखि आपराधिक गतिविधिमा संलग्न छन् । नेपाल प्रहरीले तीन महिनाअघिमात्रै बब्लुको खोजीमा विशेष टोली परिचालन गरेको थियो । प्रारम्भिक अनुसन्धानमा उनी आठ महिनादेखि नेपालका पर्सा, चितवन, मकवानपुर, काठमाडौंलगायत स्थानमा लुकिछिपी बस्दै आएका थिए ।
बब्लुमाथि निजामती कर्मचारी, प्रहरी, सर्वसाधारण, व्यापारीलगायत ३६ भारतीय नागरिकको हत्या अभियोग छ । तीमध्ये ६ जनाको बब्लु स्वयंले हत्या गरेको अनुसन्धानमा संलग्न एसएसपी खनालले बताए । त्यस्तै, भारतीय उद्योगी, व्यवसायी, लोकसभाका सांसद्लगायतलाई समेत उनले टेलिफोनबाट ज्यान मार्ने धम्की दिएका थिए ।
हत्यासम्बन्धी अभियोगमा बयानका लागि मोतीहारी जिल्लास्थित बिहार अदालत लैजाने क्रममा सन् २००९ मा प्रहरी हिरासत्बाटै भागेपछि उनलाई ‘मोस्ट वान्टेड’ सूचीमा राखेर खोजी भएको थियो । बैंक लुटपाट तथा अपहरण अभियोगमा १० वर्ष कैद भुक्तान पनि पुनः आपराधिक गतिविधिमा संलग्न भएका उनलाई पक्राउ भारत प्रहरीले उनको खोजी गर्न अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को समेत सहयोग मागेको थियो ।
 

Post a Comment

0 Comments