समायोजित पूर्वलडाकुको आधारभूतक तालिम अन्तिम चरणमा

" अधिकृत तहको भदौ १० र अन्यको असार २३ मा ‘पास आउट’ 

 - तालिममा ७० जना अधिकृत र १३ सय ७२ अन्य दर्जाका सहभागी
- ४ अधिकृतसहित १ सय ४ जना महिला
- स्वेच्छिक अवकाश र २ भगौडासहित २२ ले तालिम छाडे  

मातृका दाहाल
काठमाडौं, १० असार- सेना समायोजनमा सहभागी माओवादी सेनाका पूर्वलडाकुहरूको ‘आधारभूत सैन्य तालिम अन्तिम चरणमा पुगेको छ । भक्तपुरको खरिपाटीमा अधिकृत तहसहित देशभरका सात सैनिक ब्यारेक तथा शिक्षालयमा समायोजित १ हजार ४ सय २२ लडाकुले आधारभूत तालिम लिइरहेका छन् । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार २०६९ मंसिर १० गतेबाट सञ्चालित सो तालिम लिइरहेका लडाकुहरूमध्ये १ हजार ३ सय ५२ जना आगामी असार २३ र अधिकृत तहका ७० जनाको भदौ १० गते पास आउट(आधारभूत तालिम सम्पन्न) हुनेछ ।
पास आउट भएपछि सरकारको निर्णयअनुसार सेनाले पूर्वलडाकुहरूको दर्जा निर्धारण गरी अर्को चरणको तालिममा सहभागी गराउनेछ । तालिम सकिएपछि पूर्वसहमतिअनुसार नेपाली सेनाका उपरथीको नेतृत्वमा लडाकुबाट आएका र सेनामै कार्यरत गरी कूल ४ हजार १ सय ७१जना जनशक्ति रहने ‘राष्ट्रिय विकास तथा सुरक्षा महानिर्देशनालय’ गठन हुनेछ । तत्कालीन अवस्थामा पूर्वलडाकुले प्रयोग गरेको चितवनको शक्तिखोरस्थित शिविरमा महानिर्देशनालय राख्ने प्रक्रियासमेत अघि बढिसकेको छ । तनहुँको खैरेनीटारबाट दुई जना तालिमबाटै भागेको तथा एक अधिकृतसहित २० जना सरकारले उपलब्ध गराएको २ लाख ५५ हजार रुपैयाँ विशेष राहत प्याकेजसहित स्वेच्छिक अवकाशमा गएपछि समायोजित लडाकुको संख्या २२ जनाले कमी आएको निर्देशनालयले जनाएको छ । तत्कालीन सेना समायोजन विशेष समितिको निर्णयअनुसार पूर्वलडाकुहरूमध्ये महासेनानी १, प्रमुख सेनानी २, सेनानी १६, सहसेनानी ३०, उपसेनानी २५, पदिकतर्फ सुवेदार १४, जमदार ४२,  हुद्दा १ सय ७०, अमल्दार १ सय ९३, प्युठ १ सय ८० तथा सिपाही ७ सय ९० जनालाई समायोजन गर्ने सहमति भएको थियो । अनमिन (राष्ट्रसंघीय शान्ति मिसन)ले प्रमाणित गरेका १९ हजार ६ सय ५ जना मध्येबाट समायोजनमा सहभागी हुनेगरी प्रक्रिया थालिएकोे थियो । २०६८ मंसिरमा ९ हजार ७ सय ५ जना र दोस्रो पटक २०६८ चैतमा भएको पुनवर्गीकरणमा ३ हजार १ सय २२ जनाले समायोजन प्रक्रियामा सहभागी भएका थिए ।
प्रक्रियामा सहभागी गराउन गरेको गत वर्ष सरकाले ‘माओवादी सेनाका लडाकुहरूको समायोजनसम्बन्धी कार्यविधि २०६९’ तथा तत्काीलन विशेष समिति बैठकबाट भएका निर्णयका आधारमा समायोजन प्रक्रिया औपचारिक रूपमा अघि बढेको थियो । सेनाले मुख्य ७ तथा सहायक २१ गरी देशभरका २८ वटै शिविरका लडाकुहरूलाई सैनिक आधारभूत तालिम दिन सुरु गरेको थियो ।

Post a Comment

0 Comments