२८ लडाकु शिविर सेना र सशस्त्र प्रहरीका ब्यारेक बन्ने


मिति: 
Thursday,6th June 2013 

मातृका दाहाल

काठमाडौं, २२ जेठ- एमाओवादीका पूर्वलडाकुले प्रयोग गरेका मुख्य र सहायक गरी २८ वटा शिविरमा नेपाली सेना र सशस्त्र प्रहरी बल (एपीएफ)ले आफ्ना संयन्त्र विस्तारको तयारी गरेका छन् । मुख्य ७ तथा सहायक १३ शिविरमा नेपाली सेना र बाँकी ८ सहायक शिविरमा सशस्त्रले आफ्ना ब्यारेक बनाउन लागेका हुन् ।
वन तथा भूसंरक्षण मन्त्रालयले वन÷जंगल तथा वातावरण संरक्षणका लागि भन्दै लडाकु शिविर आफ्नो स्वामित्वमा ल्याउन पहल गर्दै आएको थियो ।
२०६९ चैत २८ मा सेना समायोजन विशेष समितिको निर्णयअनुसार इलामको चुलाचुली, सिन्धुलीको दुधौली, चितवनको शक्तिखोर, नवलपरासीको झ्याल्टुङडाँडा, रोल्पाको दहवन, कैलालीको तालबन्द र सुर्खेतको दशरथपुरस्थित मुख्य शिविरको सुरक्षा जिम्मा नेपाली सेनाले लिएको छ । त्यस्तै, १३ वटा सहायक शिविर मोरङको सिन्थाङ, दाङको सक्राम, रोल्पाका तिला र होलेरी, सुर्खेतका गुणी, खयरमार र खोटनेपानी, सिन्धुलीका सोलुसल्लेरी र रानीबास, उदयपुरका बेलसुध, जुटपानी, बेथानगैंडाबारी, चितवनको रसौली, रुपन्देहीको सैनामैना, नवपरासीका जर्गा र परिवर्तन ब्रिगेड, बर्दियाको चिसापानी तथा कैलालीको बडेपुर शिविरको सुरक्षा पनि सेनाकै जिम्मामा छ ।
स्रोतका अनुसार सरकारले औपचारिक रूपमा लडाकु शिविरको स्वामित्व हस्तान्तरणपछि ती स्थानमा नेपाली सेनाले गण, गुल्मलगायत संयन्त्र विस्तार गर्नेछ । सरकारले यससम्बन्धी छिट्टै निर्णय लिने आशामा सेना छ ।
स्वामित्व हस्तान्तरणपछि सेनाले शिविरलाई ‘विकास तथा सुरक्षा महानिर्देशनालय’ अन्तर्गत गठन हुने बाहिनी, गण तथा गुल्मलगायत सैनिक संयन्त्र स्थापना गर्ने सेनाको योजना छ । शक्तिखोर शिविरलाई महानिर्देशनालयका रूपमा विस्तार गर्ने तयारी छ । सेनाले सुरक्षा दिँदै आएको शिविरभित्र भौतिक पूर्वाधार निर्माण गरी विपत् व्यवस्थापन, विकास निर्माण, राष्ट्रिय निकुञ्ज सुरक्षालगायत युनिट स्थापना गरिनेछ ।
त्यस्तै, सशस्त्र प्रहरी प्रधान कार्यालय आफ्नो सुरक्षामा रहेका ८ वटा शिविरमा आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने तयारीमा छ । सरकारले दानाबारी (इलाम), खैरमारा (महोत्तरी), चैनपुर (चितवन) गैरीगाउँ (रोल्पा), खिल्टेपानी र गुमी (सुर्खेत), बिजौरी÷सक्राम (दाङ) र सहजपुर (कैलाली) स्थित लडाकु शिविरको सुरक्षा जिम्मा एपीएफलाई दिएको छ । तराई÷मधेस तथा चीन र भारतसँग सीमा जोडिएका स्थान गरी ३५ जिल्लामा स्थायी र करिब २० जिल्लामा अस्थायी गरी करिब ५६ जिल्लामा सशस्त्रको संयन्त्र तैनाथ छ ।
कुन शिविर कस्को जिम्मा ?
नेपाली सेना
मुख्य ७ शिविर : चुलाचुली (इलाम), दुधौली (सिन्धुली), शक्तिखोर (चितवन), झ्याल्टुङडाँडा (नवलपरासी), दहवन (रोल्पा), दशरथपुर (सुर्खेत), तालवन्द (कैलाली)
सहायक १३ शिविर : सिन्थाङ (मोरङ), तिला र होलेरी (रोल्पा), खयरमार र खोटनेपानी (सुर्खेत), सोलुसल्लेरी र रानीबास (सिन्धुली), बेलसुध (उदयपुर), जुटपानी, बेथानगैंडाबारी र रसौली (चितवन), सैनामैना (रुपन्देही), चिसापानी (बर्दिया), बडेपुर (कैलाली)
सशस्त्र प्रहरी
सहायक शिविर ः दानाबारी (इलाम), खैरमारा (महोत्तरी), चैनपुर (चितवन), गैरीगाउँ (रोल्पा), खिल्टेपानी र गुमी (सुर्खेत), बिजौरी÷सक्राम (दाङ) र सहजपुर (कैलाली)

Post a Comment

0 Comments