सेनाको परिचयपत्र देखाएर लागूऔषध कारोबार

 तीन सैनिक पक्राउ 

मातृका दाहाल
काठमाडौं, ५ साउन- प्रहरीले प्रतिबन्धित लागूऔषध सेतो हेरोइनसहित तीन सैनिक जवानलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी)को विशेष टोलीले इन्द्रध्वज गुल्म (झापा)मा कार्यरत जवान शिवकुमार बोहरासहित तीन जनालाई ३० ग्राम हेरोइनसहित नयाँबसपार्कस्थित एक घरबाट पक्राउ गरेको हो ।
लागूऔषध कारोबारको सूचना पाएपछि सादा पोसाकमा पुगेको प्रहरीले दुई युवतीसहित तास खेलिरहेको अवस्थामा ३० वटा ससाना प्लास्टिक पोकाबाट हेराइन बरामद गरेको हो । प्रतिपोका (एक पटकका लागि सेवन गर्न छुट्ट्याइएको) ५ देखि ७ हजार रुपैयाँसम्ममा कारोबार हुने गरेको छ ।
स्रोतका अनुसार बिरामी भएको बहानामा इन्द्रध्वज गुल्मबाट बोहराले केही समयअघि झापाबाट वीरेन्द्र सैनिक छाउनी अस्पतालमा काज लिएका थिए । “उनी सीमापारि (भारत)बाट रुपैडिया नाका (नेपालगन्ज) हुँदै काठमाडौंसम्म हेरोइन ल्याउने काममा संलग्न भएको भेटियो,” स्रोतले भन्यो, “तर उनले ल्याउने लागूऔषध कसले लैजाने गरेको थियो भन्नेबारे अनुसन्धान जारी छ, केही दिनमै हामी यससम्बन्धी आधिकारिक धारणा बाहिर ल्याउँछौं ।”
स्रोतले अन्य दुई सैनिकको नाम भने खुलाउन चाहेन । लागूऔषध कारोबारमा संलग्नताबारे प्रष्ट भइनसकेकाले पक्राउ परेका दुई जना निर्दोष हुनसक्ने स्रोतको भनाइ छ । पक्राउबारे एनसीबीका प्रहरी अधिकारी खुल्न चाहेका छैनन् ।
संगठित गिरोहसँग मिलेर बोहराले भारतबाट रुपैडिया नाका हुँदै खैरो तथा सेतो हेरोइन ल्याउने गरेको खुलेको छ । “मेरा चिनजानका साथीमार्फत अपरिचित व्यक्तिहरू (लागूऔषध कारोबारी)ले नाकाबाट काठमाडौंसम्म ल्याउन मलाई भन्थे, त्यसबापत एक पटकमा २०–२५ हजारसम्म कमाइ हुन्थ्यो,” प्रहरीलाई दिएको प्रारम्भीक बयानमा बोहराले भनेका छन्, “सुरुमा त डर लाग्यो, त्यसपछि कतै सुरक्षा जाँच हुने आशंकामा मैले परिचयपत्र (सेनाको परिचयपत्र) देखाएर प्रहरीलाई छलाउँथे ।”
स्रोतका अनुसार काठमाडौंमा मासु व्यवसाय गर्दै आएकी एक युवतीमार्फत बोहराले आफूसँग भएको लागूऔषध कारोबारीसम्म पु¥याउँदै आएका थिए । हेरोइन कारोबारमा संलग्न भएको पुष्टि भएपछि दुई वर्षअघि सैनिक अदालतले उपसेनानी सुधीर तिवारीलाई सेवाबाट बर्खास्त गरेको थियो । यसअघि २०६९ मंसिर १२ गते मानार्थ उपसेनानी दुर्गाबहादुर थापाको घरमा चोरी गर्ने सैनिक जवान भोजबहादुर तामाङ तथा ०६८ वैशाख ४ गते एनसेलका कर्मचारी सुरेन्द्र पौडेलको घरमा चोरी गर्ने नारायणदल गण सिंहदरबारमा कार्यरत सेनाका नायक रोमबहादुर मल्ल पक्राउ परेका थिए ।

Post a Comment

0 Comments