सशस्त्र समूहको धम्कीपछि आतंक

मातृका दाहाल

काठमाडौं, २९ असार- पूर्वी तराईका जिल्लामा सशस्त्र गतिविधि सञ्चालन गर्दै आएका भूमिगत समूहले निजामती, प्रहरीलगायत सबै सरकारी कर्मचारीलाई जिल्ला छाड्न दिएको संयुक्त धम्कीपछि उद्योगी–व्यवसायी तथा सर्वसाधारणमा त्रास छाएको छ । सशस्त्र समूहले एकपछि अर्को गर्दै आफ्ना गतिविधि बढाउन थालेपछि पूर्वी तराई असुरक्षित बन्दै गएको छ ।
साना हतियारसहित सीमापारि आश्रय लिएर भूमिगत समूहले तराईका जिल्लामा हत्या÷हिंसा, लुटपाट, डकैती, अपहरण, जबर्जस्ती चन्दा तथा फिरौती असुललगायत आपराधिक गतिविधि सञ्चालन गर्दै आएका छन् । केही समूह शान्तिपूर्ण राजनीतिमा आए पनि एक दर्जनभन्दा बढी भूमिगत संगठन अझै आपराधिक तथा सशस्त्र गतिविधिमा संलग्न छन् ।
जनतान्त्रिक तराई मुक्ति मोर्चा, तराई कम्युनिस्ट पार्टी, तराई राष्ट्रिय मुक्ति मोर्चा, तराई–मधेस जनतान्त्रिक पार्टीलगायत १२ वटा भूमिगत समूहले राजन मुक्तिको अध्यक्षतामा ‘संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा’ गठन गरेका थिए । अखिल तराई मुक्ति मोर्चाको नेतृत्व गरिरहेका जयकृष्ण गोइत भने यसमा सामेल छैनन् ।
असार २० गते भारतको बिहारमा गोप्य भेलामार्फत संयुक्त विज्ञप्ति जारी गर्दै संयुक्त मोर्चाले १० दिने अल्टिमेटममार्फत जिल्ला छाड्न कर्मचारीहरूलाई धम्की दिएको थियो । अल्टिमेटमलाई बेवास्ता गरे अत्याधुनिक हातहतियारसहित ‘गुरिल्ला युद्ध’ सञ्चालन गर्ने र तराईमा ‘जनमिलिसिया नीति’ लागू गर्ने मोर्चाको विज्ञप्तिमा छ । धम्कीको समयसीमा आज (आइतबार) सकिँदै छ । आफूहरूसँग विचार र भावना मिल्ने व्यक्ति तथा राजनीतिक दलबाहेकलाई तराई÷मधेसबाट विस्थापित गर्ने मोर्चाको धम्की छ ।
यो धम्कीपछि प्रहरी प्रधान कार्यालयले पाँचैवटा क्षेत्रीय प्रहरी कार्यालयलाई विशेष परिपत्र गरी शान्ति–सुरक्षामा चुनौती दिने गतिविधि नियन्त्रणमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएको छ । परिपत्रमा सरकारी कार्यालय, कर्मचारी, उद्योगी÷व्यवसायी, राजनीतिक दलका नेता÷कार्यकर्तालगायतको सुरक्षामा समेत विशेष जोड दिन निर्देशन छ ।
प्रहरी प्रवक्ता डीआईजी नवराज सिलवालले सशस्त्र समूहको धम्कीपछि तराई÷मधेसमा सुरक्षा सतर्कता बढाइएको बताए । सुरक्षा चुनौतीलाई आँकलन गरेर नियमित गस्तीबाहेक सादा पोसाकमा समेत विशेष टोली परिचालन गरिएको जानकारी उनले दिए ।
“आफ्नो अस्तित्व सकिन लागेपछि सरकारी कर्मचारी, उद्योगी÷व्यवसायी तथा सर्वसाधारणलाई आतंकित बनाउन उनीहरूले धम्की दिएको हाम्रो बुझाइ हो,” उनले भने, “धम्कीपछि तराई क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ, मातहत युनिटलाई पनि सोहीअनुसार जनशक्ति परिचालन गर्न प्रधान कार्यालयले निर्देशन दिएको छ ।” पूर्वाञ्चल क्षेत्रीय प्रहरी प्रमुख डीआईजी उपेन्द्रकान्त अर्यालले प्रहरी प्रधान कार्यालयको निर्देशनबमोजिम सुरक्षा व्यवस्थालाई मजबुत पारिएको बताए ।
“आपराधिक समूहको धम्कीले व्यवसायी तथा सर्वसाधारणमा त्रास उत्पन्न हुनु स्वाभाविकै हो तर उनीहरूका सम्भावित गतिविधिमाथि सूक्ष्म निगरानी गरिरहेका छौं,” अर्यालले भने, “भयरहित वातावरणमा आवतजावत, जनधनको सुरक्षा तथा संविधानसभा निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन सुरक्षाका सबै विकल्प खुला गरेका छौं ।”
मोरङ व्यापार संघका अध्यक्ष अविनाश बोहरा शान्ति–सुरक्षामा केही सुधार हुन थालेका बेला सशस्त्र समूहबाट आएका धम्की र चेतावनीले आम नागरिकमा सुरक्षा चुनौती थपिएको बताउँछन् । “पछिल्लो समय हामीले शान्ति–सुरक्षामा सुधार आएको महसुस गरेका थियौं तर केही दिनअघिबाट मात्रै विभिन्न भूमिगत समूह पुनः सक्रिय हुनुले त्रास छाएको छ,” उनले भने ।
उद्योग संगठन मोरङका सदस्य नवलकिशोर काबरा चुनावमा भाग लिने र नलिने दलहरूबीच विवाद तथा सशस्त्र समूहका गतिविधिका कारण आफूहरू त्रासमा रहेको बताए । विराटनगरका नागरिक  अगुवा रामबाबु दाहालले शान्तिसुरक्षा बिथोल्ने तथा आपराधिक गतिविधि सञ्चालन गर्ने व्यक्ति÷समूहका गतिविधिविरुद्ध प्रहरीको विशेष अभियान आवश्यक रहेको बताए ।
नारायणी अञ्चल प्रहरी प्रमुख एसएसपी सर्वेन्द्र खनालले सशस्त्र समूहबीच भएको एकीकरणले सुरक्षा चुनौती बढाएको स्वीकारे । तर, त्यस्ता गतिविधि नियन्त्रण गर्न आफूहरू सक्षम रहेको भन्दै उनले उद्योगी÷व्यवसायी, सर्वसाधारण तथा सरकारी कर्मचारीलाई निर्धक्क भएर जिम्मेवारी निर्वाह गर्न आग्रह गरे ।
वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुबोध गुप्ताले सशस्त्र समूहबीचको एकीकरण आम सर्वसाधारणमा आतंक फैलाउनका लागि मात्रै भएको प्रतिक्रिया दिए । “आफ्नो अस्तित्व देखाउनका लागि मात्रै हो, आम नागरिकमा त्रास फैलाउने तथा आफ्नो उपस्थिति छ भनेर देखाउनु उनीहरूको उद्देश्य हो,” गुप्ताले भने, “यसबाहेक सशस्त्र समूहबीचको एकीकरणले केही अर्थ राख्दैन ।”
सशस्त्र मोर्चामा आबद्ध समूह
जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजन मुक्ति)
तराई कम्युनिस्ट पार्टी (भास्कर मुक्ति)
तराई राष्ट्रिय मुक्ति मोर्चा (प्रशान्त)
मधेस मुक्ति टाइगर्स (जीवन मधेसी)
तराई संयुक्त जनतान्त्रिक पार्टी (विप्लव)
क्रन्तिकारी मधेसी मुक्ति मोर्चा (सञ्जय ब्यागी)
तराई–मधेस आर्मी (दिवेश)
तराई मुक्ति मोर्चा (अभिनव चौधरी)
तराई–मधेस जनतान्त्रिक पार्टी (करन सिंह)
तराई–मधेस बागी (भैरव मधेसी)
तराई–मधेस जनतान्त्रिक सेना (अभय थारु)
मधेस रक्षा बल (रुद्र विद्रोही)
(विराटनगरबाट मीनकुमार नवोदित र वीरगन्जबाट अनुप तिवारीको सहयोगमा)

Post a Comment

0 Comments