लागूऔषधविरुद्ध सार्कस्तरीय संयन्त्र बनाउन पहल

 नेपालमा मात्रै अन्तर्राष्ट्रिय तस्करहरूले वार्षिक १० अर्बमाथिको लागूऔषध कारोबार गर्ने गरेको प्रहरीको तथ्यांकले देखाउँछ ।

मातृका दाहाल

काठमाडौं, २८ भदौ- लागूऔषध कारोबारविरुद्ध दक्षिण एसियाली (सार्क)राष्ट्रका प्रहरीबीच साझा संयन्त्र बनाउन पहल सुरु भएको छ । नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, बंगलादेश भुटान र अफगानिस्तानका प्रहरी अधिकारीहरूबीच दक्षिण एसियाली मुलुकलाई ट्रान्जिट बनाएर लागूऔषध तस्करविरुद्धको कारबाहीमा साझा संयन्त्र बनाउन पहल थालिएको हो । 
युरोप, अमेरिका, अफ्रिका, एसिया तथा मध्यपूर्वमा सक्रिय अन्तर्देशीय आपराधिक गिरोहले सार्क राष्ट्रलाई ट्रान्जिट बनाएर वार्षिक अर्बौं डलरको लागूऔषध कारोबार गर्दै आएका छन् ।
नेपाल प्रहरीको लागूऔषध नियन्त्रणा ब्युरो (एनसीबी)का निमित्त निर्देशक एसएसपी रणबहादुर चन्दका अनुसार नेपाल प्रहरीबाट राखिएको उक्त प्रस्तावमा अरु राष्ट्रका सुरक्षा अधिकारीहरू सकारात्मक देखिएका छन् । एसएसपी चन्दले भने, “दक्षिण एसियाली मुलुकलाई ट्रान्जिट बनाएर हुँदै आएको अन्तर्देशीय लागूऔषध तस्करका गतिविधि नियन्त्रण गर्न संयन्त्रको प्रस्ताव राखेका हौं ।” संयन्त्र निर्माण हुँदा एउटा देशमा बसेर अर्को देशबाट अपराध योजना बनाउने गिरोहको पहिचान गर्न समेत मद्दत पुग्ने एसएसपी चन्दको भनाइ छ ।
लागूऔषध ओसारपसारविरुद्ध दक्षिण एसियामा विशेष अभियान सञ्चालन गर्दै आएको अमेरिकी संस्था ‘ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेसन’ (डीईए)ले सार्क मुलुकका प्रहरी अधिकारी सम्मिलित २ दिने गोष्ठीको आयोजना गरेको थियो । गोष्ठीमा दक्षिण एसियामा लागूऔषध अपराध नियन्त्रण गर्न क्षेत्रीय डेटा सेन्टर निर्माण, सम्पर्क अधिकारी परिचालन, क्षमता अभिवृद्धि गर्न सुरक्षा तालिम सञ्चालन, सूचना आदानप्रदानलगायत विषयमा छलफल भएको थियो । भारतको राजधानी नयाँ दिल्लीमा कार्यालय रहेको डीईएले त्यहीबाट सार्क राष्ट्रका प्रहरीसँगको समन्वयमा लागूऔषधविरुद्ध कार्यक्रम सञ्चालन गर्दै आएको छ । साझा संयन्त्र निर्माणले लागूऔषध कारोबारको अवस्था, अनुसन्धान÷कारबाही तथा विश्लेषण र चुनौती पहिचान गर्न पनि मद्दत पुग्ने सार्कका प्रहरीको भनाइ छ ।
तस्करले अफगानिस्तान, इराक, पाकिस्तान, थाइल्यान्ड, लाओस, बर्मालगायत मुलुकमा उत्पादित अफिम, हेरोइन, कोकिन, सेन्थेटिक तथा फर्मास्युटिकल (चिकित्सा विधिबाट प्रयोग गरिने औषधि)लगायत लागूऔषध सार्क मुलुकका स्थल र हवाई मार्गबाट अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने गरेको नेपाल प्रहरीका अधिकारीहरू बताउँछन् । नेपालमा मात्रै अन्तर्राष्ट्रिय तस्करहरूले वार्षिक १० अर्बमाथिको लागूऔषध कारोबार गर्ने गरेको प्रहरीको तथ्यांकले देखाउँछ । नेपालमा १ लाखको हाराहारीमा लागूऔषध दुव्र्यसनी रहेको अनुमान छ । तस्करहरूले आर्थिक अवस्था दयनीय भएका, दुव्र्यसनी र धनाढ्य नेपालीलाई माध्यम बनाएर लागूऔषध कारोबार गर्ने गरेको एसएसपी चन्द बताउँछन् ।

Post a Comment

0 Comments