डीआईजी बढुवामा पनि ‘चलखेल’



एआईजी बढुवा विभेदकारी भएको दाबीसहित 4 डीआईजीले बढुवा बदरको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट विचाराधीन छ । त्यसलाई ख्याल नगरी सरकारले पुनः डीआईजी बढुवामा विवादास्पद सिफारिस गरेको हो ।

मातृका दाहाल

काठमाडौं, १६ भदौ- गृह मन्त्रालयले वरिष्ठता र कार्यसम्पादन÷मूल्यांकनलाई उपेक्षा गर्दै १३ जना एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ । एआईजी वढुवा विवाद अदालतमा विचाराधीन रहेकै बेला मन्त्रालयले डीआईजी बढुवा सिफारिसमा पनि विभेदकारी निर्णय लिएको हो । 
एआईजी बढुवा विभेदकारी भएको दाबीसहित ३ डीआईजीले बढुवा बदरको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट विचाराधीन छ । त्यसलाई ख्याल नगरी सरकारले पुनः डीआईजी बढुवामा विवादास्पद सिफारिस गरेको हो । गृहसचिव सूर्यप्रसाद सिलवाल अध्यक्ष, प्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्याल सदस्य तथा मानवस्रोत विभाग प्रमुख एआईजी रमेशशेखर बज्राचार्य सदस्यसचिव रहेको बढुवा समितिले आइतबार राति कार्यदक्षता र वरिष्ठतालाई मिचेर डीआईजीमा बढुवा सिफारिस गरेको हो ।
समितिले एसएसपीहरू रामकुमार खनाल, मनोहर रिमाल, पूर्णसिंह खड्का, पशुपति उपाध्याय, देवेन्द्रजंग सुवेदी, विजयलाल कायस्थ, मधु पुडासैनी, माधव जोशी, केशरीराज घिमिरे, कमलसिंह बम, मिङमार लामा, पंकज श्रेष्ठ र माधवप्रसाद नेपाललाई डीआईजीमा बढुवा सिफारिस गरेको छ । खनाल, रिमाल र खड्काबाहेक अन्यमा बढुवा समितिले वरिष्ठता, कार्यदक्षमता र वरियताक्रम मिचेको छ । ०४३ मा आईजीपी अर्यालसँगै सेवा प्रवेश गरेका रवीप्रताप राणा र ज्ञानोदराज वैद्य तथा वरियताक्रममा १ र २ नम्बरमा रहेका ४४ का ब्याजी रणबहादुर चन्द र हेमन्त पाल बढुवामा अटाएनन् ।
बढुवा सिफारिसमध्ये खनाल, रिमाल र खड्का ०४३ र बाँकी ०४४ मा निरीक्षकबाट प्रहरी सेवा प्रवेश गरेका हुन् । आईजीपी अर्याल र केही दिनअघि बढुवा भएका ९ एआईजी पनि ०४३ कै ब्याजी हुन् । स्रोतका अनुसार वढुवा सिफारिसमा छुटेका राणा र वैद्यलाई समेट्न आईजीपी अर्यालले निक्कै प्रयास गर्दा पनि सफल भएनन् ।
उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले उनीहरूलाई बढुवा नगर्न दबाब दिएको उच्च स्रोत बताउँछ । डेढ वर्षअघि पनि गृह मन्त्रालयले राणा र वैद्यसहित ५ वरिष्ठ एसएसपीलाई हटाएर जुनियरलाई डीआईजी बनाएको थियो । वरियता क्रममा क्रमशः १ र २ नम्बरमा रहेका एसएसपीद्वय रणबहादुर चन्द र हेमन्त पाल पनि बढुवा सिफारिसमा परेनन् । ०४४ का ब्याजी चन्द नेपाल प्रहरीमा कुशल प्रहरी अधिकृतका रूपमा चिनिन्छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थुप्रै सुरक्षा तालिमको अनुभव संगालेका चन्द काठमाडौं प्रहरी प्रमुख रहँदा पारिवारिक विवादमा तानिएका थिए । यसैगरी बढुवामा नअटाएका अर्का एसएसपी पाल स्वच्छ छवीका अधिकृतमा चिनिन्छन् । डीआईजीका दाबेदारमध्ये रोमेन्द्रसिंह देउजा, सुदीप आचार्य, रमेश फुँयाल, विजयकुमार भट्ट, घनानन्द भट्ट र गोविन्द निरौला पनि बढुवा सिफारिसमा परेनन् । बढुवाका दाबेदारमध्ये प्रेमबहादुर चन्द र रवीराज श्रेष्ठ यसअघि भ्रष्टाचार काण्डमा मुछिएपछि सेवाबाट बर्खास्त भइसकेका छन् ।
बढुवामा छुटेकामध्ये ५ एसएसपी आगामी असोज तेस्रो साता बढुवामा पर्नेछन् । ०४३ मा सेवा प्रवेश गरेका यादव अधिकारी, विश्वराजसिंह शाही, पर्शुराम खत्री र सुशीलबरसिंह थापाले असोजमा डीआईजीको ५ वर्षे  कार्यकालका कारण अवकाश पाउनेछन् । भ्रष्टाचार काण्डमा मुछिएका अर्का डीआईजी गोपालप्रसाद भण्डारीको स्थानमा पनि बढुवा गर्ने सरकारको तयारी छ । आगामी बढुवामा पनि अटाउन सकेनन् भने एसएसपीद्वय राणा र वैद्यले ६ वर्षे पदावधिका कारण अवकाश पाउनेछन् ।
यसैबीच बढुवा सिफारिसमा नअटाएका एसएसपीहरूले सिफारिस बदरको माग गर्दै लोकसेवा आयोग अध्यक्ष संयोजक तथा मुख्यसचिव र कानुन सचिव सदस्य रहेको पुनरावलोकन समितिसमक्ष उजुरी दिने भएका छन् । यसका लागि उनीहरू आन्तरिक गृहकार्यमा जुटेको स्रोतको भनाइ छ । एआईजी बढुवा सिफारिसमा नपरेपछि पुनरावलोकन समितिमा ६ डीआईजीले उजुरी दिएका थिए । त्यसमध्ये गणेशराज राई र नारायणप्रसाद बस्ताकोटीको पक्षमा पुनरावलोकन समितिले निर्णय गरेपछि सरकार बढुवा सिफारिस फेरबदल गर्न बाध्य बनेको थियो ।

Post a Comment

0 Comments