लागू औषध कारोबार गर्ने डेढ सय औषधि पसलको दर्ता खारेज

  • मातृका दाहाल

काठमाडौं, ८ असोज- प्रतिबन्धित लागू औषध कारोबार गर्ने करिब डेढ सय औषधि पसल (फार्मेसी)को दर्ता खारेज भएको छ । लागू औषध कारोबारी र दुव्र्यसनीसँग मिलेर प्रतिबन्धित औषधि बिक्री गरेको पाइएपछि औषधि व्यवस्था विभागले देशभरका १ सय ४२ औषधि पसलको दर्ता खारेज गरेको हो । 
औषधि व्यवस्था विभागका महानिर्देशक गजेन्द्रबहादुर भुजुका अनुसार तोकिएको मापदण्डविपरीत गतिविधि गर्ने फार्मेसीको दर्ता अनुमति खारेज गरिएको जानकारी दिए । “कतिपय दर्ता नै नगरी सञ्चालन भएको र दर्ता भएका पनि मापदण्ड विपरित चलेको पाइएपछि बन्द गर्न गर्नुपरेको हो,” महानिर्देशक भुजुले भने । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी)का निमित्त निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रणबहादुर चन्दले प्रयोगकर्ता र ओसारपसारमा संलग्न गिरोहसँग मिलेर लागूऔषध कारोबार गर्ने औषधि पसल सञ्चालकविरुद्ध सरोकारवाला निकायको संयुक्त टोलीले निगरानी जारी राखेको बताए । प्रहरीका अनुसार औषधि पसलेले प्रतिबन्धित लागूऔषध बिक्रीबापत ३० देखि ५० प्रतिशतसम्म नाफा लिने गरेका छन् । औषधि व्यवस्था विभागका अनुसार राजधानीमा करिब  ३ हजारसहित देशभर ४ हजार मेडिकल हल सञ्चालनमा छन् । औषधि पसल खोल्न ‘फार्मेसी काउन्सिल’बाट ‘बी–फर्मा’ उत्तीर्ण गर्नुपर्छ । कतिपय लागूऔषध कारोबारीहरु मेडिकल फार्मेसीको संरक्षण लिएर आफ्ना गतिविधि गर्ने गरेको प्रहरीको दाबी छ । २ वर्षअघि कपुरधारामा अर्घाखाँचीका मदनप्रसाद भट्टटराई, धापासीका पुष्पलाल श्रेष्ठ र नीरज थापालगायत मेडिकल सञ्चालक पक्राउ पछि उपत्यकामा औषधि पसल लागूऔषध बिक्रीको अखडा बन्ने गरेको खुलेको थियो ।
उपत्यकामा रहेका मध्ये २० प्रतिशत औषधि पसलका सञ्चालक प्रतिबन्धित लागूऔषध कारोबारमा संलग्न रहेको प्रहरीको दाबी छ । कतिपय औषधि उत्पादक कम्पनी र तस्करको मिलेमतोमा वैधानिक प्रक्रिया पूरा गरी अर्बौं रुपैयाँ पर्ने रसायनिक पदार्थ आयात हुने गरेको विज्ञहरुकोे दाबी छ । नेपाल फर्मास्युटिकल्स एसोसिएसनका महासचिव विवेक महतले कमजोर कानुनको फाइदा उठाएर तस्करले औषधि उत्पादनमा प्रयोग हुने रासायनिक पदार्थलाई नियन्त्रित लागूऔषध बनाउने गरेको दाबी गरे । पछिल्लो ३ वर्षको अवधिमा रुघाखोकी, जरोलगायतमा प्रयोग गरिने डाइजेपाम, फेनार्गन, व्रुफिनर्फिन, प्रोक्सिभनजस्ता ट्याब्लेट बनाउने प्रयोजनमा करिब १२ सय किलो सुडो आयात भएको तथ्यांक महतले प्रस्तुत गरे । तर, सबै सुडो औषधि उत्पादनमा नभई लागूऔषध तस्करले प्रयोग गरेको हुनसक्ने उनको भनाइ छ । रासायनिक प्र्रक्रियाबाट बनेको १ किलो सेन्थेटिक ड्रग्सको नियन्त्रित बजारमूल्य २ लाख ५० हजार अमेरिकी डलरसम्म पर्ने प्रहरीको भनाइ छ । सुडो सेन्थेट्रिक ड्रग्स बनाउन कच्चापदार्थको प्रारम्भिक रूप हो ।
 

Post a Comment

0 Comments