अपराधविरुद्ध साझा रणनीति बनाउँदै नेपाल र भारत

मातृका दाहाल
काठमाडौं, २६ माघ
अन्तर्देशीय अपराधविरुद्ध नेपाल र भारतले साझा रणनीति तय गर्ने भएका छन् । अन्तर्राष्ट्रिय आपराधिक गिरोहले खुला सिमानाको फाइदा उठाउँदै संगठित तथा आर्थिक अपराधसम्बन्धी गतिविधि बढाउँदै लगेको निष्कर्षसहित दुवै देशका उच्च सुरक्षा अधिकारीहरू साझा रणनीति बनाउन जुटेका हुन् । गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार यही विषयलाई लिएर दुवै देशका उच्च सरकारी अधिकारी सम्मिलित बैठक मंगलबारदेखि काठमाडौंमा सुरु हुँदैछ । “नेपाल–भारत खुला सिमानाको फाइदा उठाएर अन्तर्राष्ट्रिय अपराधीहरूले संगठित, आर्थिक तथा सीमा अपराध बढाउँदै लगेपछि त्यसविरुद्ध एकीकृत रणनीति बनाउन जुटेका हौं,” ढकालले भने । मलेसिया, इन्डोनेसिया, सिंगापुर, चीन, थाइल्यान्डलगायत एसियाली मुलुक, अरब राष्ट्र, युरोप÷अमेरिकालगायत देशमा सक्रिय आपराधिक गिरोहद्वारा नेपाल÷भारतीय हवाई र स्थल मार्ग हुँदै भइरहेका नक्कली नोट कारोबार, वन्यजन्तु तथा मानव तस्करी, सुन तस्करी, लागूऔषध ओसारपसार आदि साझा चुनौती हुन् । बैठकमा भाग लिन भारतीय गृह सहसचिव हितेशकुमार एस मकवानाको नेतृत्वमा १६ सदस्यीय भारतीय टोली सोमबार काठमाडौं आइपुगेको छ । ढकालका अनुसार टोलीमा नेपालस्थित भारतीय दूताबासका प्रथम सेक्रेटरी डा. एन कन्नान, भारतीय सीमा सुरक्षा बलका महानिरीक्षक (आईजीपी) दीपक कुमार, गृहका डेपुटी डाइरेक्टर रितु मिश्रा, बिहार प्रहरीका डीआईजी आलोक राज, उत्तर प्रदेशका गृहसचिव कमल सक्सेना, उत्तराखण्डका निमित्त सचिव अजय रौटेला, पश्चिम बंगालस्थित गोर्खाल्यान्डका प्रमुख कार्यकारी अधिकृत बिमल गुरुङ, सिक्किम राज्यका निमित्त सचिव पासी छोछोलगायत छन् ।
नेपालका तर्फबाट ढकालको नेतृत्वमा १६ अधिकारी सहभागी हुनेछन् । शान्ति–सुरक्षा महाशाखा प्रमुखसमेत रहेका ढकालको नेतृत्वमा गृह, परराष्ट्र, भूमिसुधार, कानुन मन्त्रालय तथा ४ वटै सुरक्षा निकायका उच्च अधिकारी हुनेछन् ।
आतंकवादी गतिविधिबाट आर्जन गरेको सम्पत्ति शुद्धीकरण, मानव तस्करी, लागूऔषध कारोबार, अवैध सुन तथा जाली नोट ओसारपसार, सीमा विवाद, भन्सार तथा राजस्व छली, हतियार कारोबारलगायत अपराध दुवै देशका साझा चुनौती रहेको ढकालले बताए । आर्थिक र संगठित अपराध नियन्त्रण गर्न नसक्दा दुवै मुलुकको अर्थतन्त्रमाथि नै नकारात्मक प्रभाव पर्ने गरेको छ ।
“यी चुनौतीको सामना गर्न कुनै एक देशको पहलले मात्रै सम्भव देखिएन,” उनले भने, “दुवै मुलुकको साझा पहल र सक्रियताबाट मात्रै संगठित अपराधविरुद्ध कदम चाल्दा प्रभावकारी हुन्छ भन्नेमा हामी सहमत छौं ।” यसबाहेक आपसी असमझदारीका कारण उत्पन्न सीमा विवाद समाधान, दुवै देशका सीमा सुरक्षा बलबीच सहकार्यजस्ता विषयमा पनि बैठकमा छलफल हुनेछ ।
मध्यपूर्व, चीन, थाइल्यान्डलगायतबाट स्थल र हवाई मार्ग हुँदै अन्तर्राष्ट्रिय अपराधीहरूले भारतीय जाली नोट र अवैध सुन तस्करीमा नेपाललाई ट्रान्जिट बनाउँदै आएका छन् । भारतबाट नेपाल हुँदै युरोप, अमेरिका, चीनलगायत मुलुकमा लागूऔषध पु¥याउन पनि तस्करहरूले नेपालको स्थल र हवाईमार्ग प्रयोग गर्ने गरेका छन् । भारत हुँदै मध्यपूर्व, अफ्रिकी तथा दक्षिण अमेरीकी राष्ट्रसम्म मानव तस्करीको जालो फैलिएको र भारत मानव तस्करीमा ट्रान्जिट बनेको नेपाली सुरक्षा निकायको निष्कर्ष छ । यी विषयमा भारतीय पक्षको विशेष ध्यानाकर्षण गराउने नेपालको तयारी छ ।

Post a Comment

0 Comments