तस्करी आरोपमा ५ सुनचाँदी व्यवसायी पक्राउ

५ केजी सुन, ५६ केजी चाँदी र ४ करोड ७४ लाख ६२ हजार नेपाली, २ लाख भारु र ४६०० युआन बरामद
मातृका दाहाल
काठमाडौं, २५ माघ
सुन तस्करीको अभियोगमा प्रहरीले राजधानीका ५ सुनचाँदी व्यवसायीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले स्रोत नखुलेको सुन÷चाँदी तथा करिब ६ करोड रुपैयाँबराबरको नेपाली, भारतीय र चिनियाँ मुद्रासहित न्युरोड, बौद्ध, बांगेमुढालगायत ठाउँका व्यवसायीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा २ भारतीय र ३ नेपाली छन् ।
महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पुष्कर कार्कीका अनुसार भारत महाराष्ट्र जिल्ला साङ्ली आटपाडी थाना स्थायी घर भई न्युरोड टेबहालस्थित बालाजी एन्ड सन्स सञ्चालन गर्दै आएका ४८ वर्षीय बालु जगन्नाथ धाङ्गे र दार्जिलिङ थाना स्थायी घर भई बौद्धमा मामन स्टोर्सका सञ्चालक ५२ वर्षीय नरेश अग्रवाल छन् । त्यस्तै ‘द युनाइटेड गोल्ड मार्ट’ सञ्चालक ५३ वर्षीय आकाशकुमार बज्राचार्य, बांगेमुढामा संगम ज्वेलर्स सञ्चालन गर्दै आएका भक्तपुरका ३८ वर्षीय रमेश खड्का र मोरङ घर भई चाबहिल बस्दै आएका शिवराज श्रेष्ठ छन् ।
तस्करीको अभियोगमा व्यवसायी नै समातिएपछि चीनबाट भित्रिने अवैध सुनको खपत र अन्तर्देशीय कारोबार कसरी हुन्छ भन्ने रहस्यसमेत उजागर भएको छ । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार सुन ५ किलो २३५.८४ ग्राम, काँचो चाँदी ५६ किलो १७१ ग्राम, ४ करोड ७४ लाख ६२ हजार २ सय ३० रुपैयाँ, १ लाख ९९ हजार ४ सय भारु, चिनियाँ युआन ४ हजार ६ सय बरामद भएको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले केही दिनयता न्युरोडलगायत उपत्यकाका सुनचाँदी पसलको कारोबारमाथि निगरानी राख्दै आएको थियो । “मुलुकको अर्थतन्त्रलाई नै चुनौती दिनेगरी विभिन्न आवरणमा तस्करी मौलाएको छ,” एसएसपी कार्कीले भने, “व्यवसायी नै तस्करीमा संलग्न हुनुले यसको पुष्टि गर्छ, सुन तस्करीविरुद्ध अब हामी अझ सशक्त रूपमा अघि बढ्छौं ।” महाशाखाबाट प्रहरी नायब उपरीक्ष्गक (डीएसपीको कमान्डमा ४ वटा टोली परिचालन गरिएको थियो । सुनचाँदी पसलमा छापा मार्नुअघि प्रहरीले राजस्व अनुसन्धान विभागमा समेत जानकारी गराएको थियो ।
एसएसपी कार्कीका अनुसार प्रहरीले बालाजी एन्ड सन्सबाट २ किलो १७६.८४ ग्राम सुन, १५ किलो ८४० ग्राम चाँदी, ३ करोड २२ लाख र ४० हजार भारु बरामद गरिएको छ । त्यसैगरी ‘द युनाइटेड गोल्ड मार्ट’को कार्यालय कोठाबाट ३ किलो ५९ ग्राम सुन, ५ किलो ४६१ ग्राम चाँदी तथा ३० लाख नेपाली रुपैयाँ, मामन स्टोर्स पसलबाट २८ लाख ७६ हजार ५ रुपैयाँ, १ लाख ५९ हजार ४ सय भारु र ४ हजार ६ सय चिनिया युआन बरामद गरिएको छ । संगम ज्वेलर्सबाट ८१ लाख ५५ हजार ७ सय ३० रुपैयाँ, ३४ किलो ८७० ग्राम चाँदी र विभिन्न बैंक÷वित्तीय संस्थाबाट जारी भएका १७ थान चेकबुक र १४ थान पासबुक तथा शिवराज श्रेष्ठको साथबाट स्रोत नखुलेको १२ लाख ३० हजार रुपैयाँ बरामद भएको छ । पक्राउ परेका व्यापारीको बयानका आधारमा अन्य तस्करको खोजीमा जनशक्ति परिचालन गर्ने तयारी प्रहरीको छ । अनुसन्धानमा अन्य सुनचाँदी व्यवसायी पनि तानिन सक्ने एसएसपी कार्की बताउँछन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वमहासचिव माणिकरत्न शाक्यले केही व्यक्तिका कारण सिंगो व्यवसाय बदनाम हुनु दुर्भाग्यपूर्ण रहेको प्रतिक्रिया दिए । तस्करी रोक्न प्रहरी, व्यवसायी र राज्यका अरु संयन्त्रबीच एकीकृत पहल आवश्यक रहेको उनको भनाइ छ ।
यसरी हुन्छ तस्करी
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ), भन्सार कार्यालय, र राजस्व अनुसन्धान विभाग सुन तस्करी नियन्त्रणमा सक्रिय भए पनि व्यापारी, प्रहरी र अन्तर्देशीय तस्करहरूबीच ‘सेटिङ’ हुँदा यसको अवैध कारोबार मौलाउँदै गएको स्पष्ट हुन्छ । तस्करीको केही अंश बरामद र भरिया पक्राउ भन्दा माथिसम्म पुग्न सकेको छैन । पक्राउ परेका अधिकांश व्यक्ति भरियामात्रै भेटिने गरेका छन् । सुन तस्करीसम्बन्धी अनुसन्धान तथा नियन्त्रणमा सुरक्षाकर्मी सक्रिय भए पनि ओसारपसारमा नेपाल–भारत–चीनका कारोबारमा ‘तस्करहरूको अन्तर्देशीय सञ्जाल’तोड्न असफल रहँदै आएको छ । चीनबाट भारत जोड्ने नाकाको सुरक्षा कडाइका कारण नेपालको स्थल र हवाई मार्गबाट भारतसम्म तस्करीको सुन ओसारपसार हुने गरेको अधिकारीहरू बताउँछन् । प्रहरीका अनुसार चीन, सिंगापुर, मलेसिया, नेपाल, भारतलगायत मुलुकमा तस्कर सक्रिय छन् । तातोपानीबाट तस्करीको सुन काठमाडौंसम्म पु¥याउन सके आकर्षक रकम पाउने प्रलोभनमा निम्न आय भएका व्यक्ति सहजै ‘भरिया’को रूपमा प्रयोग हुन्छन् । पक्राउ परेका कतिपय भरियाले १ किलो सुन बोकेबापत ठाउँ हेरेर १० देखि ४० हजार रुपैयाँसम्म लिने गरेको अनुसन्धानबाट खुलेको छ ।
सुनचाँदी व्यवसायीका अनुसार नेपाली बजारलाई धान्नेगरी सरकारले सुन आयात गर्न नदिएका कारण तस्करीको सुनले बजार ओगटेको छ । तस्करीबाट भित्रिएको सुन सस्तो पाउने भएका कारण व्यवसायीले बैंकबाट सुन खरिद गर्न कम गरेको व्यापारी स्वीकार्छन् ।

Post a Comment

0 Comments