अवैध कारोबारको भुक्तानी गर्न नेपालबाट डलर तस्करी

 ४ वर्षमा राजधानी र सिन्धुपाल्चोकबाट २० लाख डलर बरामद
मातृका दाहाल
काठमाडौं, ३२ जेठ– अन्तरदेशीय आपराधिक गिरोहले अवैध आर्थिक कारोबारको भुक्तानी गर्न नेपालबाट डलर तस्करी बढाउँदै लगेका छन् । सुन तस्करी, भन्सार छली, जडिबुटीको अवैध कारोबार, सम्पत्ति शुद्धीकरणलगायत संगठित तथा आर्थिक अपराधको भुक्तानी गर्न नेपालको हवाई र स्थल मार्ग हुँदै डलर बिदेसिन थालेको हो ।
०६६ यता तस्करीबाट भित्रिएको करिब ३५० किलो सुनसहित थुप्रै चिनियाँ र भारतीय नागरिक पक्राउ परेका छन् । सुन नेपाल भिœयाएबापत पनि तस्करहरूले डलरमै भुक्तानी लिने गरेको प्रहरीको आशंका छ । पछिल्ला ४ वर्षको तथ्यांकअनुसार प्रहरीले राजधानी र आसपास क्षेत्रबाट मात्रै भारत र चीन लैजान लागिएको २० लाख डलर बरामद गरेको छ ।
सोमबारमात्रै आफूलाई रुद्राक्ष व्यापारी बताउने चिनियाँ महिला यानहुई होङ ९८ हजार ५ सय डलर, २० हजार ५ सय चिनियाँ युआन र १३ हजार रुपैयाँसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छन् । १४ अप्रिलमा आएर सोही दिन फर्किएकी उनी पछिल्लो पटक २२ मेमा नेपाल आएकी थिइन् । भन्सार छलीमा संलग्न व्यापारीबाट भुक्तान गरिएको अवैध डलरसहित उनी चीन जान लागेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी दाबी गर्छन् ।
अन्तरदेशीय तस्करहरूले स्थल र हवाई सुरक्षामा देखिएका कमजोरीको फाइदा उठाउँदै यसरी नै बर्सेनि करोडौं रुपैयाँबराबरको डलर लैजाने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी स्वीकार्छन् । ४ वर्षयता प्रहरीले सुन तस्करी, सीमा अपराध, वन्यजन्तु तथा जडिबुटीको अवैध कारोबारलगायतबाट आर्जित करोडौं रुपैयाँबराबरका विदेशी मुद्रासहित २५ भन्दा बढी चिनियाँ नागरिकलाई पक्राउ गरिसकेको छ ।
विदेशी विनिमय व्यवस्थित गर्न बनेको ऐन ०१९ अनुसार १ नेपाली विदेश जाँदा २५ सय डलरसम्म बोक्न पाउँछन् । त्यस्तै, विदेशी नागरिक नेपाल आउँदा डलरको स्रोत खुलेको प्रमाण बुझाउनु अनिवार्य हुन्छ ।
विमानस्थल प्रहरी प्रमुख डीआईजी विजयलाल कायस्थ स्रोत नखुलेको डलरसहित पक्राउ परेका अभियुक्त अन्तरदेशीय अपराधीका भरिया हुन सक्ने बताउँछन् । “स्रोत नखुलेको सम्पत्ति अवैध रूपमा विदेश लैजान खोज्नु पक्कै पनि अपराधबाट आर्जित सम्पत्ति नै हुन सक्छ,” उनी भन्छन्, “यदि वैधानिक व्यापार÷व्यवसाय गरेको हो भने यति धेरै रकम झोलामा राखेर लैजान सम्भवै छैन ।”
कायस्थ पनि पछिल्ला वर्ष डलर तस्करीमा चिनियाँ नागरिकको संलग्नता बढेको स्वीकार्छन् । यसको प्रमुख कारण सुन तस्करी र भन्सार छलीका सामानको भुक्तानी नै भएको उनी बताउँछन् ।
चीनबाट तातोपानी नाका हुँदै अवैध सुन र भन्सार छलीका सामान भिœयाउन नेपाल–भारत र चीनमा सक्रिय आपराधिक गिरोहले आफ्ना भरिया प्रयोग गर्छन् । त्यसबाहेक तस्करहरूसँग कर्मचारीको पनि मिलेमतो हुने गरेको सार्वजनिक हुँदै आएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०का निर्देशक डीआईजी हेमन्त मल्ल ठकुरी पनि डलर तस्करीको मुख्य कारण अवैध आर्थिक कारोबारको भुक्तानी भएको बताउँछन् । भन्छन्, “अपराधबाट आर्जन गरेको सम्पत्ति विभिन्न माध्यमबाट विदेश पठाउन तस्करहरूले भरिया र सहयोगीमार्फत यसरी नै गैरबैंकिङ च्यानलबाट कारोबार गर्छन् ।” अवैध कारोबारमा हुन्डी र भरिया प्रयोग त्यसैको निरन्तरता भएको उनको भनाइ छ ।
चैत ५ गते भारतीय नागरिक मनोहरलाल कृपालदास असुदानी हङकङ जान लागेको अवस्थामा विमानस्थलबाटै १ लाख ७९ हजार ८५० डलर, ५ लाख ५८ हजार जापानी येन, करिब २ करोड रुपैयाँसहित पक्राउ परेका थिए । उनले तस्करीको सुन बेचेर कमाएको बयान दिएका थिए ।
असुदानी पक्राउ परेको १ सातापछि चैत १२ गते प्रहरीले चीन जान लागेकी यिङ लोउलाई १ लाख १३ हजार २५० डलरसहित पक्राउ गरेको थियो । आफूलाई कपडा व्यापारी बताउने उनी तस्करीको सुन बिक्रीबाट उक्त रकम लिएर जान लागेको प्रहरीको भनाइ थियो । तस्करीकै लागि उनी पटक–पटक नेपाल आउने गरेकी थिइन् ।
विमानस्थलबाट यसअघि पनि पटक–पटक विदेशी मुद्रा तस्करीमा संलग्न पक्राउ पर्दै आएका छन् । ०६९ कात्तिक १० गते जुम्लाका दावा टासी लामा १ लाख ९५ हजार युरोसहित समातिएका थिए । भारत जान लागेका लामालाई प्रहरीले प्रस्थान कक्षबाट पक्राउ गरेको थियो ।
विमानस्थलबाटै १ करोड ५४ लाख रुपैयाँबराबरको डलर र युरोसहित भारतीय नागरिक विनोदकुमार सोनी पक्राउ परेका थिए । उक्त प्रकरणमा गृह मन्त्रालयले प्रहरीका एसएसपी रविराज श्रेष्ठलाई सेवाबाट बर्खास्त गरेको थियो । डलर तस्करीमै संलग्न १४ चिनियाँ नागरिक करिब ७ करोड रुपैयाँबराबरको विदेशी मुद्रासहित पक्राउ परेका थिए ।
०६७ भदौ २ मा २ चिनियाँ र १ नेपाली २ लाख ७० र असोज १९ गते चिनियाँ महिला ४० हजार डलरसहित तातोपानीबाट पक्राउ परेका थिए । ०६८ पुस २३ गते भक्तपुरको जगाती चेकपोस्टमा प्रहरीले ३ वटा गाडीमा डलर बोकेर खासा जाँदै गरेका १० चिनियाँ नागरिकको साथबाट ९७ हजार २ सय डलर बरामद गरेको थियो ।
प्रहरी प्रवक्ता डीआईजी कमलसिंह बम चिनियाँ नागरिक विदेशी मुद्रा र अन्य अपराधमा संलग्न हुने गरेको विषयमा चीनका सुरक्षा अधिकारीलाई अवगत गराउने गरिएको बताउँछन् । “हाम्रा औपचारिक–अनौपचारिक छलफल, भेटघाट र भ्रमणका क्रममा अवैध सुन कारोबार, डलर तस्करी, जडिबुटी तथा वन्यजन्तु तस्करी, सम्पत्ति शुद्धीकरणलगायत संगठित अपराधमा चिनियाँ नागरिक पक्राउ परेको विषयमा अवगत गराउँदै आएका छौं,” उनले भने, “हाम्रो चासो र चिन्तालाई चीनले पनि उत्तिकै गम्भीरताका साथ लिने गरेको छ ।”

Post a Comment

0 Comments