राष्ट्रवादी हुँन जति सजिलो छ, राष्ट्रवादी भएर बाँच्न धेरै कठिन छ

राजेश्वर देवकोटा
वरिष्ठ साहित्यकार तथा राजनीतिज्ञ
नेपाली कला\साहित्यको विकासक्रम हेर्ने हो भने राजनीतिक घटना र उतारचढावसँगै जोडिएर आएको देखिन्छ । नेपाल एकीकरण पूर्व देखी अहिलेसम्म आईपुग्दा साहित्यिक विकासक्रम कहीँ न कतै राजनीतिक घटनाक्रमले प्रभाव पारेको छ । पृथ्वीनारायण शाहको पालामा सञ्चालित राज्य एकीकरण अभियान, जहानीयाँ राणा शासन अन्त्यका लागि थालिएको प्रजातान्त्रिक आन्दोलन, २०१७ सालको राजनीतिक कदम, २०४६ सालको परिवर्तन, २०६२÷०६३ को जनआन्दोलन लगायत ऐतिहासिक घटनाक्रममा पनि साहित्यिक क्षेत्रको योगदान उल्लेखनीय रहेको पाईन्छ । तर, व्यवस्था परिवर्तनका लागि भएका ऐतिहासिक आन्दोलनमा समेत निर्णायक भूमिका खेलेका साहित्यकारहरु लेखन कलाबाट मात्रै जीविकोपार्जन गर्न सक्ने अवस्थामा छैनन् । राणा शासन विरुद्ध विसं २००४ सालमा सञ्चालित ‘जयतु संस्कृतम’ साहित्यिक आन्दोलनका संस्थापक समेत रहेका ८४ वर्षीय वरिष्ठ साहित्यकार तथा राजनीतिज्ञ राजेश्वर देवकोटा पनि कला÷साहित्यकर्मीहरु आफ्नो पेशाबाट बाँच्न सक्ने अवस्थामा नरहेको बताउँछन् । थुप्रै कथा, उपन्यास, कविता, फूटकर लेखरचना प्रकाहित गरिसकेका तत्कालिन ‘राष्ट्रिय पञ्चायत’का अध्यक्ष तथा मन्त्री देवकोटा अहिले पनि साहित्यका उत्तिकै सक्रिय छन् । चर्चित ‘द्वन्द्वको अवसान’ (महाभारतको पुनर्लेखन)का लेखक देवकोटासँग नेपाली समाजको चित्रण, नेपाली साहित्यको विकास, साहित्यिक क्षेत्रको भविष्य लगायत विषयमा कारोबारकर्मी मातृका दाहालले गरेको कुराकानी ः

दिनहरु कसरी वितिरहेका छन् ?
संस्कृतमा ‘कालक्षेपण’ भन्छन् नि, अहिले त्यही भईरहेको छ । काल (समय) आफ्नै सुरमा गईरहेको छ । तर, मान्छे अडिरहेको छ । नमिलेको यही छ । मान्छे पनि सँगसँगै जानुपर्ने हो नि ? मान्छे अडियो, समय वितिरहेको  छ । म पनि समाजको एउटा प्रतिनिधि भएकोले त्यसैमा छु । कालसँगसँगै जान सकिएको छैन ।
यो संकेत केलाई गर्नु भएको ?
अहिलेको समाजको स्थिति नै यही छ । व्यवस्था, गतिविधि, प्रसंग लगायत धेरै परिवर्तन भयो भनियो । तर, के अघि बढ्यो त, मेरो संकेत त्यतैतिर हो । हाम्रो समाजले कुन क्षेत्रमा प्रगती ग¥यो ? के के मा उन्नती भयो त ? सामाजिक सद्भाव, आचरण, व्यवहार, नैतिकता, सिद्धान्त, कहाँ के भयो ? विचार सिद्धान्तको मान्छे पनि  हुँदैन, संगठन (राजनीति) त हुँदै हुँदैन, तर यहाँ त्यही भयो । समाज र राष्ट्रको पनि एउटा उद्देश्य स्थापित भएको हुन्छ । त्यो त कहीँपनि देखिएन । त्यसकारण मेरो दृष्टिकोणमा समाज बन्धक भएको छ । अड्किएको छ । तर, काल (समय) अघि बढिरहेको छ । समयमात्रै विताउँने र काम केहीपनि नगर्ने, त्यसैलाई काल क्षेपण भन्छन् । मेरो दैनिकी पनि त्यसैभित्र छ । मैले त्यसलाई चिर्न सकेको छैन । म अरुको आलोचना पनि गर्दिन, किनकी म पनि यहि भित्र अलमलिएको छु ।
तपाईको यो धारणा स्वतन्त्र नागरिकको रुपमा कि कुनै दल विशेष ?
जसले गरेपनि परिस्थितिको विश्लेषण एकैप्रकारको हुनुपर्ने हो । सचेत नागरिक र निष्पक्ष विचारकले भन्ने कुरा यही हो ।
राजनीति र साहित्य दुवै क्षेत्रमा बराबरी सक्रिय हुनुहुन्छ । यो अवस्थामा आफ्नो परिचय चाँही कसरी दिनुहुन्छ ?
हेर्नुस, मलाई अलि अन्याय भएको छ । साहित्यकारहरुले मलाई वढि राजनीतिज्ञका रुपमा देख्छन् । राजनीतिक गर्नेले यो त साहित्यकार भनेर धकेल्न खोज्छन् । म न यता, न उता भएको छु । मेरो गणना अवर (अन्याय)मा परेको छ ।
यो भनेको ?
मेरा साथीभाई, शुभचिन्तकहरु मलाई तँ के होस् भन्छन् ? साहित्यकार कि राजनीतिज्ञ बनेर बारम्बार सोधिरहन्छन् । संक्षिप्तमा भन्नु पर्दा मेरो परिचय साहित्यकर्मीका लागि साहित्यकार, दलहरुकालागि नेता । कसैले आलाचना गलाृ, कसैले समर्थन गर्ला, हिसावबा शेष शुन्यपनि आउला । तर अरुले के भन्लान भनेर म भन्दिन, म आफ्न कर्ममा सक्रिय छु ।
बुढ्यौलीमा पनि युवा अवस्थाकै जसरी जोसजाँगर र सक्रिय भूमिकामा हुनुहुन्छ नि ? 
म तपाईलाई नै सोध्छु, कति वर्षमा बुढौली लाग्छ ? यसको कुनै सीमा छ त ? म त भन्छु, जतिवेला सम्म सक्रिय रहँन सकिन्छ, त्यसबेला सम्मलाई बुढ्यौली भन्न हुँदैन । म अहिले ८४ वर्षको भएँ । अरुले सोधे भने म ८ वर्षको भनेर उत्तर दिन्छु । यसको मतलव मलाई अहिलेसम्म उमेरले आफ्नो काममा प्रभाव पारेको छैन । मलाई अझैपनि ८४ होईन, ४८ वर्षको जस्तो पो अनुभूति हुँदै गईरहेको छ । (लामो हाँसो.........) म बुढो भएँ भनेर सोच्यो भने त ३०–४० वर्षमै बुढेसकालले पिरोल्न थाल्छ । मान्छेको जीवन सरकारी कर्मचारी जस्तो निश्चित सेवाअवधिपछि अवकास लिने भन्ने होईन, बाँचुञ्जेल र सकुञ्जेल युवा अवस्थामै बस्ने हो । नसकेका दिन, हातगोडा चल्न छाडेका दिन मात्रै बुढेसकाल भन्न सुहाउँछ ।
पञ्चायत, बहुदल (२०४६ पछि) र गणतान्त्रिक तीनै कालखण्डलाई भोगेको साहित्यकार, यसलाई संक्षिप्तमा कसरी लिनुहुन्छ ?
मैले सबै कालखण्डमा लेखिरहेँ । तर मेरो रचना विशेष कालखण्ड, परिस्थिति वा राजनीतिक व्यवस्थाको प्रतिनिधित्व गर्दैन । किनभने आज लेखेको रचना÷सिर्जना चीरकाल पर्यन्त पनि जीवित हुँनुपर्छ भन्ने मेरो मान्यता हो । १ सय वर्ष अघिको सिर्जना १ सय वर्ष पछि ताजै रहँनुपर्छ । एउटा व्यवस्थासँग केन्द्रीत भएर लेख्यो, अनि अर्को व्यवस्था आउँने वितिक्कै त्यो हराएर जाने खालको हुँनुहुँदैन । साहित्यमा म शास्वत पक्षलाई ग्रहण गर्छु । कसैको प्रभावमा परेर मेरो सिर्जना प्रभावित गर्न चाहँन्न ।
सिर्जना कसैको पक्ष÷विपक्ष हुँनुहुँदैन भन्ने हो ?
हो ।  एउटाको पक्ष लिएर लेख्यो भने अर्कोको त विपक्ष भयो नि ? साहित्य भनेको एउटालाई खुसी, अर्कोलाई बेखुसी पार्ने क्षेत्र होईन । सबैको हुनुप¥यो । म निष्पक्ष र आशावादी लेखक हुँ ।
साहित्यिक क्षेत्र पूर्वाग्रही भयो भन्ने पनि सुनिन्छ नि ?
‘साहित्यिक कर्म’ पूर्वाग्रही हुँदैन । हुँनुहुँदैन । मेरो राजनीतिक पक्ष पनि छ । म हरेक दिन केही न केही पर्चा÷पम्प्लेट केही न केही लेखिरहेको हुन्छ । त्यो सीमित क्षणका लागि हो । पर्चापम्प्लेटमा पूर्जाग्रह मात्रै होईन, दुराग्रा पनि हुँन्छन् । तर, त्यसलाई (पर्चापम्प्लेट, राजनीतिक दस्तावेज) जुनबेला लेख्यो, त्यही बेला नै बिर्सिनुपर्छ । त्यसलाई साहित्यसँग म जोड्न चाहन्न । विना पूर्वाग्रह समाजको प्रतिनिधित्व हुँने सास्वत विचार साहित्यमा झल्कनुपर्छ ।
तपाई त पञ्चायकाकलिन साहित्यकार हुनुहुन्छ । त्यतीवेला लेखनकलामा कुनै अवरोध आयो ?
कहिल्यै आएन । म त पञ्चायतकालमा पनि सार्बभौम सत्ता जनतामा निहीत हुन्छ, राजा त सार्बभौम सत्ताका प्रतीक मात्रै हुन् भन्ने मान्यता राख्ने मान्छे हुँ् । त्यस्तो भन्दा मलाई कुनै अवरोधको अनूभूति गर्नुपरेन । लेखनमा ईमान्दाररिता भएपछि अवरोध हुँदैन । बेईमानी भयो भनेमात्रै अवरोध, विघ्नबाधा आउँछ ।
प्रसंग बदलौं, तपाईलाई साहित्यिक शिखरमा पु¥याउँन ‘द्वन्द्वको अवसान’ उपन्यास (महाभारतको पुनर्लेखन)ले महत्वपूर्ण भूमिका खेल्यो नि, यो उपन्यास लेख्न कसरी प्रेरणा मिल्यो ?
मैले महाभारत धेरैपटक पढेँ । विभिन्न कृतिहरुमा  महाभारत सम्वन्धि भूमिका पनि लेखेँ । महाभारत पढ्दै जाँदा कर्णको चरित्र छ, त्यो सबैभन्दा निष्कलंक चरित्र त्यही छ । तर उनै (कर्ण)लाई पछि पारेर नायकमा कृष्ण, अर्जुन, युधिष्ठिर लगायतलाई देखाईएको छ । निष्कलंक व्यक्तिलाई जबर्जस्ती खलनायकका उभ्याईएको छ । पाण्डवकै जीत भएको छ अन्त्यमा ।  अहँ, यो हुनै सक्तैन, महाभारत सम्वन्धि हाम्रो लेखाई, पढाई, बुझाई तथा विश्लेषण नै गलत छ । त्रुटी छ । महाभारतको  लेखकले कर्णलाई पूर्वाग्रही रुपमा पछाडी पारे । अविभाज्य राज्य हुनुपर्छ भन्ने दुर्योधन (राजकुमार) कुपात्रका रुपमा राखियो । हामी पढ्नेको सोचाई पनि पूर्वाग्रह भयो । राज्य सधै अभिभाज्य हुनुपर्छ भन्नेलाई गलत र राज्य टुक्रा गरेर देउ भन्ने पाण्डवलाई सज्जन भन्न मिल्छ ? राज्य चाहिने भए सिंगै लैजाउन न ? तिमि सिंगै खाउ, मैले सिंगै खाएको छु, यो टुक्रा हुन सक्तैन भन्ने कर्ण र दुर्योधनको भावना नायकत्वमा आधारित छ । आफ्नो विवेक प्रयोग नै नगरी पाण्डवको पक्षमा लाग्नेगरी ‘जबर्जस्ती मुल्य÷मान्यता’ स्थापित भयो । मलाई चित्त बुझेन । त्यही भएर कर्ण र दुर्योधनलाई अन्याय हुन नदिन, महाभारत लेखनमा भएको त्रुटी सुधार गर्न, बास्तविक नायक को हो भनेर देखाउँन मैले ‘द्वन्द्वको अवसान’ लेखेको हुँ ।  हाम्रो समाज यस्तो भयो कि, पाण्डवको कुरा आउँदा रोईदिने, कमलो मन गरिदिने, दुर्योधन भन्ने वितिक्कै आङ सिरिङ हुँनेगरी प्रतिसोध र पूर्वाग्रही हुने, घृणा जाग्ने । यसप्रति चित्त बुझेन, अनि मैले महाभारतलाई पुनर्लेखन गरे । स्थापित मूल्यमान्यता विरुद्ध यो एउटा साहित्यिक विद्रोह नै गरेको हुँ । चलचित्र बनाउँनेले, लेखकले, पाठकले, बास्तविकता बाहिर गएर जबर्जती परम्परा स्थापित गरे । मैले गलत दृष्टिकोण परिवर्तन गर्न द्वन्द्वको अवसान मार्फत विद्रोह गरेँ ।
खलनायक’लाई नायकीको भूमिका दिएर उपन्यास लेख्नु चुनौती थिएन ?
निश्चय नै चुनौती थियो । स्थापित भईसकेको मूल्यमाथी विद्रोह गर्नु कहाँ सजिलो हुन्छ र ? तर, मैले हिम्मत गरेँ । सफल÷असफल छुट्टाउँनेकाम आम पाठकहरुको हो । द्वन्द्वको अवसानमा कौरव पक्षमा नायक कर्ण र दुर्योधन हुन् । त्यस्तै पाण्ड पक्षमा कृष्ण नायक हुन् । कृष्णले चलाएका, सञ्चालन गरेका अर्जुन र युधिष्ठीरलाई महाभारतमा नायकीको रुपमा देखाउँनु नै गलत थियो ।
तपाई त पाको साहित्यकार, पछिल्ला दिनमा साहित्यकर्मीहरु जन्मनेक्रम जारी छ नि ? बजारमा नयाँनयाँ कृतिहरु प्नि आईरहेका छन्, यसलाई कसरी लिनुहुन्छ ?
अहिलेका सबै लेखनलाई स्वागत गर्छु । साहित्यिक कर्मी तथा कृतिहरु उम्री रहेका छन् । नयाँनयाँ विरुवाहरु जन्मनेक्रममा छन् । अहिले ती विरुवाको मूल्यांकन गर्ने बेला भएको छैन । अहिले उम्रीएको विरुवा कति वढ्छ ? कत्रो आकार लिन्छ ? कस्तो फल दिन्छ ? हाँगाविगा कस्ता हुन्छन् । पात चिल्लो÷खस्रंो कस्तो हुन्छ भन्ने त पछि थाहा हुने हो नि ? अहिले त केबल मलजल मात्रै गर्ने हो ।
मूल्यांकन नहुँदा कृति लेखनमा सीमा नाघ्ने अवस्था हुँदैन ?
साहित्य लेखन कहिले ‘ट्रयाक’ बाहिर, कहिले भित्र हुने क्रम चलिरहन्छ । नेपाली कलासाहित्य मेची–महाकाली भित्र मात्रै केन्द्रीत छ त ? देशको पो भुगोल, जनसंख्या, संस्कार, परम्परा, मूल्य÷मान्यता लगायत सीमा हुन्छ । त्यसकारण असीमीत घेरा÷दायरा भएको क्षेत्र नै साहित्य हो । यसलाई कुनै निश्चित विषय वा भुगोलले खुम्च्याउँन सक्तैन ।
कला\साहित्यकारलाई देशभक्ति, राष्ट्रियता, सम्प्रभुता लागू हुँदैन ?
कसैलाई चित्त नबुझ्ला, सबैको आ–आफ्नो सोचाई हुनसक्छन् । तर मेरो विचारमा एउटा देशको निश्चित सीमाभित्र मात्रै केन्द्रीत हुँनुहुँदैन । साधकल एउटा देशभित्र मात्रै सीमित हुँनेभए साहित्यले  संसारलाई के सन्देश दिन्छ त ? साहित्य त राजनीतिक पर्चा होईन नि ? नेपालमा लेखिएको कृतिको भाव वेलायतमा बस्ने नागरिकले बुझ्न सक्नुपर्छ । बुझाउनुपर्छ । त्यसैले क्षेत्र असिमित छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले लिएको ‘राष्ट्रियता–प्रजातन्त्र–उदारवाद’को सिद्धान्त ब्याख्या गर्दै पुस्तक पनि लेख्नु भयो, कति  कठिन भयो राष्ट्रियताको ब्याख्या गर्न ?
धेरै गाह्रो भयो । हेर्नुस, राष्ट्रवादी हुँन जति सजिलो छ, राष्ट्रवादी भएर बाँच्न धेरै कठिन छ । अझ अहिलेको कालखण्ड र परिस्थितिमा त ‘राष्ट्रवादी’ भएर जीउन झनै कठिन भएको छ । जुनसुकै देशका लागि हरेक कुरामा सीमा र सार्बभौमिकता हुन्छ । देशको बस्तुस्थितिलाई लिएर व्यवस्था र मूल्यमान्यताको ब्याख्या गर्न सकियो भने अरुलाई पनि प्रेरणा दिन्छ ।
साहित्यकारको नजरबाट मुलुकको समग्र परिस्थितिलाई कसरी मूल्यांकन गर्नुहन्छ ?
म एउटा पक्षलाई मात्रै आक्षेप लगाउँन चाहन्न । देश र जनताका लागि हामीले जति योगदान पु¥याउँनुपर्ने हो, त्यो हुन सकेको छैन । सबैको कमजोरी हो यो । जिम्मेवारी धेर÷थोर होला । तर सबैको कमजोरी छ । अझ राजनीतिमा त विकृति नै बढेको छ । मुलुकको उत्थान हुने कार्य के भयो त ? शैक्षिक, सामाजिक, बैचारिक, सैद्धान्तिक, विकास, पूर्वाधार सबैमा के प्रगती भयो त ? सबै असफल भए । हामी असफल भयौं ।  हामीले आफ्ना कमीकमजोरी सुधार्न सकेनौं भने मुलुक नै असफल हुन्छ । भावी पुस्ताले पनि ‘फलानो समयका मान्छेले गर्दा मुलुक असफल भयो’ भन्छन् । त्यो असफल भनेको सबै नेपालीको असफलता हो ।
अन्त्यमा, आम साहित्यकर्मीले लेखनकलाबाट जीवीकोपार्जन गर्नसक्ने अवस्था छ ?
अहिले छैन । साहित्यकर्मबाट नै बाँच्न सक्ने अवस्था आईसकेको छैन, तर, त्यो समय धेरै टाढा पनि छैन । किन भने पहिले पहिले हामीले कुनै कितावछाप्नु प¥यो भने आफैले पैसा खर्च गर्नु पर्दथ्यो । अहिले छापिदिन्छु भन्ने मान्छे पाईन्छ । त्यतिमात्रै होईन, अहिले धेर–थोर रोयल्टी पनि पाईन्छ । यो  साहित्य क्षेत्रको विकास र श्रीवृद्धिका लागि सकारात्मक हो । अझ एकेडेमी ‘तत्कालिन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान) स्थापनाले पनि साहित्यको विकासमा ठूलो योगदान पु¥याउँदै आएको छ । साहित्यिक विकासमा रेडियो, टेलिभिजन, अखबार लगायतको पनि उत्तिकै योगदान छ ।

Post a Comment

0 Comments