मातृका दाहाल
काठमाडौं : लागूऔषध तस्करीमा मुछिएको संघाई ग्रुप र यसका सञ्चालक तथा कर्मचारीका चलअचल सम्पत्ति रोक्का गरिएको छ । औषधि बनाउन प्रयोग गरिने रासायनिक पदार्थ तस्करी गरेको अभियोगमा सञ्चालक तथा कर्मचारी तानिएपछि संघाई ग्रुपका सञ्चालक र कर्मचारीको स्वामित्वमा रहेका चल–अचल सम्पत्ति रोक्कामा परेको हो ।
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी)ले संघाई ग्रुपका सञ्चालकहरू पवनलाल र रतनलाल संघाईसहित १२ भन्दा बढी व्यक्तिको सम्पत्ति रोक्का गरिएको जनाएको छ ।
ब्युरोका अनुसार एभरेस्ट इन्स्योरेन्स, लक्ष्मी बैंक, प्राइम लाइफ इन्स्योरेन्स, प्राइम रेसिडेन्सी, प्लास्टिक उद्योग, सांग्रिला एक्स्पोर्ट, नारायणवाद श्रीनिवास ट्रेडिङ, आर्या फर्मा ल्याब, आर्या भेटेरिनरी, आर्या सर्जिकल,, एचपी ग्यास, चिया बगानलगायत दर्जनभन्दा बढी उद्योग/व्यवसायसँग यो समूहको आवद्धता छ ।
औषधि उत्पादनको आवरणमा भित्रिएको १ अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको अनधिकृत रासायनिक पदार्थ बरामद भएसँगै ग्रुपका अध्यक्ष पवनलाल संघाईसहित पाँच जना फरार छन् । सञ्चालक रतनलाल संघाई, कर्मचारी मोहित हलान र तस्करीमा सहयोग गर्ने अभियुक्त बद्री वन र श्याम तामाङ ब्युरोको नियन्त्रणमा छन् ।
सञ्चालक, कर्मचारी र बिचौलिया पक्राउ परेपछि आर्या फर्मा ल्याबका अध्यक्ष पवन, ल्याबका प्रमुख कार्यकारी अधिकृत शंकर हलान र कर्मचारी रोहित हलान फरार छन् । उनीहरू भारतमा लुकेको सूचना पाएपछि ब्युरोले खोजीमा विशेष टोली परिचालन गरेको छ ।
पक्राउ व्यक्तिविरुद्ध अनुसन्धान प्रक्रिया अघि बढेलगत्तै ब्युरोले नेपाल राष्ट्र बैंक, मालपोत कार्यालय, नापी विभाग, कम्पनी रजिस्ट्रारको कार्यालय, धितोपत्र बोर्डलगायत निकायलाई बैंक खाता, उद्योग, सेयर, घरजग्गालगायत सम्पत्ति रोक्का गर्न परिपत्र गरेको थियो ।
जरो, रुघाखोकीलगायत औषधि बनाउन प्रयोग गरिने रासायनिक पदार्थ उक्त ग्रुपअन्तर्गतको आर्या फर्मा ल्याबबाट तस्करी हुने गरेको खुलेपछि ब्युरोले रतनलालसहित पाँच जनालाई साउन १६ गते विभिन्न जिल्लाबाट पक्राउ गरेको थियो । “
मुद्दाको किनारा नलागेसम्म आरोपित संस्था र व्यक्तिका नाममा भएका सबै चलअचल सम्पत्ति रोक्का गरिएको छ,” व्यूरोका निर्देशक डीआइजी जयबहादुर चन्दले भने ।
लागूऔषध मुद्दाको अनुसन्धान टुंगिएपछि संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा आरोपितलाई पेस गरिने डीआईजी चन्दले जानकारी दिए ।
“औषधि उत्पादनको आवरणमा आर्या फर्मा ल्याबका सञ्चालकले रासायनिक कच्चा पदार्थ तस्करीबाट कालोधन आर्जन गरेको हाम्रो अनुसन्धानबाट देखिन्छ,” उनले भने ।
0 Comments