- ५ वर्षमा ७२६ पेस्तोल बरामद
मातृका दाहाल
काठमाडौं, ५ पुस
आपराधिक घटनामा अवैध साना हतियारको प्रयोग बढ्दो देखिएको छ । नेपाल प्रहरीको अपराध अनुसन्धान विभागका अनुसार साना हतियारको आडमा हत्या, अपहरण, चन्दा तथा फिरौती असुली, लुटपाटलगायत आपराधिक घटना हुने गरेको हो ।
दुई दिनअघि मात्रै अज्ञात समूहले पेस्तोल प्रहार गरी रूपन्देहीमा नेकपा (एमाले)निकट युवा संघ नेपालका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या गरेको छ । पछिल्लो पाँच वर्षको अवधिमा मात्रै कटुवा पेस्तोल, रिभल्बरलगायत साना हतियारको आडमा आपराधिक घटनामा संलग्न ८ सय २६ अभियुक्त पक्राउ परेका छन् । सञ्चार उद्यमी जमिम शाह, इस्लामिक संघ नेपालका महासचिव फैजान अहमद, बाराका एमाले नेता मोहम्मद आलमलगायत उद्योगी, सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमलगायतको हत्यामा पनि साना हतियारकै प्रयोग भएको थियो ।
यीसहित विभिन्न आपराधिक घटनामा संलग्न अभियुक्तको साथबाट पाँच वर्षको अवधिमा प्रहरीले ७ सय २६ थान पेस्तोल बरामद गरेको छ । उक्त अवधिमा १ लाखभन्दा बढी अपराधका उजुरी प्रहरीसमक्ष दर्ता भएकोमा ३० प्रतिशतमा अवैध हतियारको प्रयोग भएको देखिन्छ । आपराधिक समूहका गतिविधि कमजोर हुँदै गए पनि बरामद र पक्राउको संख्या हेर्दा अझै साना हतियार शान्ति सुरक्षा व्यवस्थापनमा मुख्य चुनौती रहेको प्रहरी अधिकारी स्वीकार गर्छन् ।
रिसइबी, प्रतिशोध, आर्थिक आर्जन, प्रलोभनलगायत विभिन्न कारण युवा उमेरमै कतिपय व्यक्ति साना हतियार प्रयोगमा लाग्ने गरेको पाइएको अनुसन्धानमा संलग्न अधिकारी बताउँछन् । “प्रहरी सक्रियताकै कारण पछिल्ला वर्षहरूमा आपराधिक घटनामा कमी आएको छ”, प्रहरी प्रवक्ता डीआईजी हेमन्त मल्ल ठकुरी भन्छन्, “यति हुँदाहुँदै शान्ति सुरक्षा व्यवस्थापनमा साना हतियार नै प्रमुख चुनौती देखिन्छ ।”
खुला सीमाका कारण भारतबाट पेस्तोल, रिभल्बरलगायत हतियार अनधिकृत रूपमा भित्रिने गरेका कारण त्यसविरुद्ध प्रहरीले सक्रियता बढाइरहेको उनी सुनाउँछन् । अवैध हतियारको आडमा सबैभन्दा बढी अपराध हुने स्थानमा पूर्व र मध्य क्षेत्र रहेको प्रहरीको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०६८÷६९ यताको तथ्यांकमा पूर्व, मध्य क्षेत्र र उपत्यकाका जिल्ला अवैध हतियार प्रयोगमा अघि देखिन्छ । सबैभन्दा कम हतियार सुदूरपश्चिम र पश्चिमाञ्चल क्षेत्रबाट बरामद भएको छ । पक्राउ परेका कतिपय अभियुक्तले परम्परागत कानुन र शक्तिकेन्द्रको आडमा उन्मुक्ति पाउने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन् ।
अपराधमा हतियार प्रयोग बढ्न थालेपछि केही वर्षअघि मात्रै सरकारले दर्ता भएका हतियारसमेत स्थानीय प्रशासनलाई बुझाउन परिपत्र गरेको थियो । गृह मन्त्रालयको निर्देशनपछि लाइसेन्सप्राप्त १ हजार ५ सय ९१ हतियार फिर्ता भए पनि अझै २ हजार २ सयभन्दा बढी हतियार बाँकी छ ।
0 Comments