मानव तस्करीबाट पुरुष बढी पीडितः राष्ट्रसंघ

मातृका दाहाल
काठमाडौं, १६ पुस
संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनले मानव तस्करीमा संलग्न अन्तरराष्ट्रिय गिरोहबाट ६३ प्रतिशत पुरुष पीडित हुने गरेको देखाएको छ । विश्वमा हुने मानव तस्करीबाट ६३ प्रतिशत पुरुष र ३७ प्रतिशत महिला पीडित हुने गरेको राष्ट्रसंघको ‘ग्लोबल रिपोर्ट अन ट्राफिकिङ इन पर्सन २०१६’मा उल्लेख छ । त्यसमध्ये ९६ प्रतिशत नेपाल–भारतसहित दक्षिण एसियाली मुलुकका नागरिक पीडित बन्ने गरेका छन् । २८ प्रतिशत बालबालिका पीडित हुने गरेको जनाइएको छ । प्रतिवेदनका अनुसार अफ्रिका र मध्यपूर्वी राष्ट्रहरूमा जारी गृहयुद्ध बालबालिकासम्बन्धी अपराधको मुख्य कारण हो । “त्यसबाहेक नेपाल–भारतसहित दक्षिण एसियाली राष्ट्रमा देखिएको सामाजिक–आर्थिक असमानता, गरिबी, अशिक्षा, बेरोजगारी, उच्च जनघनत्व, बसाइसराइ, शरणार्थी, आर्थिक प्रलोभन मानव तस्करीका प्रमुख कारण हुन्”, प्रतिवेदनमा भनिएको छ, “यसलाई नियन्त्रण गर्न सम्बन्धित राष्ट्रले राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुनलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्छ ।”राष्ट्रसंघका लागि लागूऔषध र अपराधसम्बन्धी कार्यकारी निर्देशक युरी फेदोतोभले जबर्जस्ती कामदार, मानव अंग तस्करी, बालबालिका ओसारपसार, जबर्जस्ती विवाह, यौन शोषण, माग्न बाध्य तुल्याउने, बाल सैन्यलगायत अपराध प्रमुख चुनौती रहेको औंल्याएका छन् । गिरोहले आर्थिक प्रलोभन देखाएर नेपाल, भारतलगायत दक्षिण एसियाली मुलुकका नागरिकलाई जबर्जस्ती मानव अंग तस्करी, यौन शोषण, बाल श्रम, बालबालिका ओसारपसारलगायत कार्यमा संलग्न गराउँदै आएको प्रतिवेदनमा उल्लेख छ । 
नेपाल, भारत, पाकिस्तानलगायत दक्षिण एसियाली मुलुकका नागरिकलाई अफ्रिका, सेन्ट्रल एसिया, मध्यपूर्व, पूर्वी युरोपलगायत मुलुक पु¥याएर मानव तस्करीको जालो फैलाएको राष्ट्रसंघले जनाएको छ । गरिबी, पछौटेपन तथा अशिक्षाको फाइदा उठाउँदै गिरोहले सार्क मुलुकका नागरिकलाई आर्थिक प्रलोभनमा पारेर मध्यपूर्वी राष्ट्र हुँदै युरोप अफ्रिका, एसियालगायत १९ मुलुकसम्म मानव तस्करीको जालो फैलाएको प्रतिवेदनमा उल्लेख छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले केही वर्षयता गरेको कारबाहीमा लिबिया, इजिप्ट, साउदी अरब, दुबई, इजरायल, कतार, ओमन, कुवेत, मकाउ, जापान, उत्तर तथा दक्षिण कोरिया, मंगोलिया, पोर्चुगल, स्पेन, सर्विया, टर्की, फ्रान्स, साइप्रस, पोल्यान्ड, दक्षिण अफ्रिकालगायत मुलुकमा मानव तस्करी गर्दै आएका व्यक्ति तथा गिरोह पक्राउ परेका छन् । जबर्जस्ती विवाह गरी कोरिया लैजाने, कामदारका रूपमा अमेरिका, युरोप, जापान, मकाउलगायत मुलुक पठाइदिने, आर्थिक प्रलोभन देखाएर मृगौला बिक्री गर्न बाध्य पार्नेलगायत आपराधिक गतिविधि नियन्त्रण प्रमुख चुनौती रहेको अनुसन्धानमा संलग्न ब्युरोका अधिकारी बताउँछन् ।

Post a Comment

0 Comments