नेपालमा भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण

मातृका दाहाल
काठमाडौं, १२ माघ
भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्ने सम्बन्धमा नेपालको वार्षिक नतिजा यस वर्ष पनि निराशाजनक देखिएको छ । भ्रष्टाचार विरुद्धको अभियानमा क्रियाशील ट्रान्सपरेन्सी इन्टरनेसनलको ‘भ्रष्टाचार अवधारणा सूचकांक २०१६’ मा समेटिएका १ सय ७६ मुलुकमध्ये सुशासन कायम गर्नेमा नेपाल १ सय ३१ औं स्थानमा परेको हो । ट्रान्सपरेन्सीको प्रतिवेदनअनुसार सन् २०१६ को सूचकांकमा कूल १०० अंकमध्ये नेपालले २९ नम्बर पाएको छ ।
ट्रान्सपरेन्सीले विश्वका १ सय ७६ देशमा गरेको सर्वेक्षणमा नेपाल बढी भ्रष्टाचार हुने मुलुकको ४५ औं र दक्षिण एसियाका आठमध्ये तेस्रो भ्रष्ट मुलुकको सूचीमा परेको छ । सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती, भनसुन, अपारदर्शीता, घुसखोरी, अस्वभाविक नीतिगत निर्णय, पहुँच र प्रभावका आधारमा सार्वजनिक खरिद लगायत विषयमा सुधार आउन नसक्दा विगत ५ वर्ष यता भ्रष्टाचार नियन्त्रणमा नेपाल निरन्तर अनुत्तीर्ण हुँदै आएको छ ।
ठूला परियोजना सञ्चालनमा नीतिगत निर्णय, न्याय प्रशासनमा नागरिकको पहुँच सहजै नपुग्नु, सार्वजनिक सेवाप्रवाह गर्ने निकायमा मौलाएको कमिसन र घुसखोरी, आर्थिक वर्षको अन्त्यतिर बजेट रित्याउने प्रवृत्तिका कारण भ्रष्टाचार बढेको उल्लेख छ । यस्तै, राजनीतिमा अपराधीकरण, अपारदर्शी खरिद प्रक्रिया, सरकारी नियुक्ति तथा सरुवा–बढुवामा आर्थिक मोलमोलाई लगायतमा सुधार आउन नसक्दा सुशासन र भ्रष्टाचार नियन्त्रणका प्रमुख चुनौती हुन् । सरकारी आँकडाअनुसार विकास निर्माण सम्बन्धी कुल बजेटको ८० प्रतिशत भन्दा बढी खर्च आर्थिक वर्षको अन्त्यतिर हुने गरेको छ । भ्रष्टाचार नियन्त्रणका लागि यो सबैभन्दा चुनौतीको रुपमा देखिएको छ ।
ट्रान्सपरेन्सी नेपालका अध्यक्ष श्रीहरि अर्यालका अनुसार नेपालले पाएको अंक भ्रष्टाचार नियन्त्रण, वित्तीय अनुशासन र सदाचार कायम गर्ने सम्बन्धमा अनुत्तीर्ण हो । गत वर्ष ट्रान्सपरेन्सीले १ सय ६८ मुलुकमा गरेको सर्वेक्षणमा नेपाल २७ नम्बर सहित १ सय ३० औं नम्बरमा थियो । सन् २०१५ भन्दा नेपालले दुई अंक बढी नम्बर पाए पनि उत्तीर्णका लागि पर्याप्त नभएको ट्रान्सपरेन्सी नेपालले जनाएको छ ।
“विगत ५ वर्ष यता भ्रष्टाचार विरुद्धको अभियानमा नेपालले पाएको अंक निराशाजनक र अनुत्तीर्ण हो,” ट्रान्सपरेन्सीको प्रतिवेदन सार्वजनिक गर्दै अर्यालले भने, “कम्तीमा ५० भन्दा बढीको नतिजा नआएसम्म हामी सदाचार र वित्तीय अनुशासन कायम गर्ने मुलुकको सूचीमा पर्दैनौं ।”
अर्यालले सेना, प्रहरी र संसद सदस्यहरू नै भ्रष्टाचारविरुद्धको अभियानमा चुनौतीका रुपमा देखिएको आरोप लगाए । “मुहान नै फोहोर भएपछि तल जति सफा गरेपनि पानी शुद्ध हुँदैन,” अर्यालले भने, “जबसम्म राज्यका नीतिनिर्माता तथा अन्य शक्तिशाली निकायहरूले सदाचार, सुशासन र जवाफदेहीता कायम गर्दैनन, त्यसबेलासम्म भ्रष्टाचार विरुद्धको अभियानमा हामी अघि बढ्न सक्तैनौं ।”
ट्रान्सपरेन्सीको प्रतिवेदन अनुसार विश्वमा सबैभन्दा बढी वित्तीय सुशासन कायम र कम भ्रष्टाचार गर्ने मुलुकको सूचीमा डेनमार्क र न्युजिल्याण्ड परेका छन् । यी दुइ मुलुकले समान ९० अंक पाएका छन् । त्यसैगरी बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा अफ्रिकी मुलुक सोमालिया परेको छ ।
दक्षिण एसियामा कम भ्रष्टाचार हुनेमा भुटान देखिएको छ । भुटानले ६५ नम्बरसहित सुशासन कायम गर्ने राष्ट्रको २७ औं स्थानमा परेको छ ।  त्यसैगरी भारत ४० अंक सहित ७९ औं, माल्दिभ्स र श्रीलंका समान समान ३६ अंक सहित ९५ औं, पाकिस्तान ३२ अंक सहित ११६ औं, बंगलादेश २६ अंक सहित १४५ औं र अफगानिस्तान १५ अंक सहित १६९ औं स्थानमा समेटिएको छ । छिमेकी मुलुक चीन वित्तीय सुशासन कायम गर्ने राष्ट्रको ७९ औं स्थानमा परेको छ । चीनले १०० मा ४० नम्बर पाएको छ ।
सय पूर्णाङ्मा नेपालको नतिजा
वर्ष प्राप्ताङ्क स्थान
२०१६ २९ १३१
२०१५ २७ १३०
२०१४ २९ १२६
२०१३ ३१ ११६
२०१२ २७ १३९


Post a Comment

0 Comments