राष्ट्रसंघीय सैनिक तालिमकेन्द्र बनाउँने प्रस्तावमा भारतीय व्यवधान

मातृका दाहाल
काठमाडौं, १५ माघ
नेपाली सेनाले ‘वीरेन्द्र शान्तिकार्य तालिम केन्द्र’लाई अन्तर्राष्ट्रिय तालिम केन्द्रको रूपमा विकास गर्ने पहलप्रति छिमेकी मुलुक भारतले व्यवधान खडा गरेको छ ।
दक्षिण एसीयाकै पुरानो मानिएको पाँचखाल स्थित उक्त तालिम केन्द्रलाई राष्ट्रसंघीय शान्ति मिसनको साझा केन्द्र बनाउन सेनाले अघि बढाएको पहलमा भारतीय पक्षले असहयोग गरेको हो । भारतले आफ्नै मुलुकमादक्षिण एसीया स्तरीय तालिम केन्द्र बनाउन लविङ गरेको हो । तर बंगलादेश र पाकिस्तान भारतीय प्रस्तावमा सकारात्मक नभएको उच्च स्रोतले जानकारी दियो । त्यसैले नेपाली सेनाको पहलले सार्थकता पाउँनसक्ने स्रोतको दावी छ ।
प्रस्तावलाई सफल बनाउन आवश्यक कुटनीतिक पहल गरिदिन सेनाले सरकारसँग आग्रह गरेको छ । रक्षामन्त्री वालकृष्ण खाँणलाई समेत भेटेर सेनाले यसबारे ध्यानाकर्षण गराइसकेको छ ।
सेनाले यसअघि सेनाले राष्ट्रसंघका लागि केन्याको नैरोबीस्थित अफ्रिकी राष्ट्रको साझा तालिम केन्द्र ‘अफ्रिकन युनियन पिस सपोर्ट अपरेसन’को अवलोकन गरेको थियो । तत्कालीन प्रधानसेनापति गौरवशमशेर राणाले २०७१ भदौमा नैरोवीस्थित तालिम केन्द्र अवलोकनपछि राष्ट्रसंघका अधिकारीहरूसमक्ष नेपालको पाँचखाललाई पनि त्यही मोडलमा विस्तार गर्न राष्ट्रसंघका अधिकारीहरूसमक्ष अनौपचारिक आग्रह गरेका थिए ।
सैनिक प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रलाई राष्ट्रसंघका लागि ‘सेन्टर फर एक्लिेन्स’ बनाउन प्रस्ताव गरिएको जानकारी दिए । पाँचखाल विश्वका कुनै पनि मुलुकका तालिम केन्द्रभन्दा कम नभएको भन्दै प्रवक्ता कार्कीले यसलाई राष्ट्रसंघको ‘रिजनल ट्रेनिङ सेन्टर’मा विकसित गर्नुपर्ने आफूहरूको माग रहेको स्पष्ट पारे ।
“विश्वशान्ति स्थापनाका लागि राष्ट्रसंघमातहत रहेर योगदान पु¥याउने तथा सोही अनुसार तालिम केन्द्र स्थापना गर्नेमा नेपाली सेना दक्षिण एसियाकै पहिलो मुलुक हो,” प्रवक्ता कार्कीले भने “यो अवधिमा हामीले देखाएको बलिदानी, त्याग, ज्ञान, सीप तथा तटस्थ भूमिकालाई राष्ट्रसंघले समेत उच्च मुल्यांकन गरेको छ ।”
अन्तर्राष्ट्रिय प्रशिक्षण केन्द्र निर्माणका लागि पाँचखाल स्थित तालिम केन्द्रको भौतिक पूर्वाधार विकास तथा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धिमा अमेरिकी सेनाको एसीया प्यासिफिक कमान्डले समेत सहयोग गर्दै आएको छ । नेपाली सेना राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत विश्व शान्ति स्थापनाका लागि तैनाथ हुनेमा दक्षिण एसियाकै पुरानो फौज हो ।
सेनाले सन् १९५८ देखी राष्ट्रसंघीय शान्ति मिसनमा भाग लिँदै आएको छ ।
राष्ट्रसंघको स्वीकृतिमा शान्ति सैनिकका लागि खोलिएका तालिम केन्द्रमा पाँचखाल तालिम केन्द्र दक्षिण एसियाकै सबैभन्दा पुरानो
हो । सन् १९८६ मा स्थापना भएको उक्त तालिम केन्द्र दक्षिण एसीयाकै पहिलो हो । 
उच्च स्रोतका अनुसार सेनाको यो प्रस्तावप्रति भारतको असहयोग छ ।  भारत आफैं मिसनमा भाग लिने दक्षिण एसियाली राष्ट्र सम्मिलित ‘शान्ति सैनिक तालिम केन्द्र’ आफ्नो मुलुकमा स्थापना गर्नुपर्ने पक्षमा रहेको रक्षा मन्त्रालय स्रोतले दावी ग¥यो । बंगलादेश पनि राष्ट्रसंघको क्षेत्रीय तालिम केन्द्र आफ्नो मुलुकमा स्थापना गर्ने लविङमा रहेको स्रोतको दावी छ ।
पूर्वरथी वालानन्द शर्मा सेनाको राष्ट्रसंघको क्षेत्रीय तालिम केन्द्र नेपालमा स्थापना गर्ने प्रस्तावलाई पारित गराउन सरकारले प्रभावकारी कुटनीतिक लबिङ गर्नुपर्ने बताउँछन् । उनी भन्छन्, “झण्डै ६ दशकको अवधिमा निर्वाह गरेको भूमिका, काममा तटस्थता, जवाफदेहीता, इमान्दारिता र कतिपय मिसनमा नेतृत्वदायी भूमिकाको विश्वभर नै उच्च मुल्यांकन भएको अवस्थामा क्षेत्रीय तालिम केन्द्र राख्ने प्रस्ताव देशकै लागि अवसर हो, यसलाई खेर जान दिनु हुँदैन ।” छ दशकमा शान्ति मिसनबाट मात्रै सेनाले करिव १ अर्ब अमेरिकी डलर नेपाल भिœयाइसकेको छ ।
३ दर्जन राष्ट्रको संयुक्त अभ्यास
संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सहभागी ३३ बढी मुलुकका शान्ति सैनिकबीच पाँचखालमा संयुक्त अभ्यास हुने भएको छ । चैत अन्तिम साता ‘अभ्यास–शान्तिप्रयास ३’ नाम दिएर पाँचखालमा अन्तर्राष्ट्रिय शान्ति सैनिकबीच संयुक्त अभ्यास हुन लागेको हो । यसअघि पहिलोपटक ४ देशका शान्तिसैनिक बीच सन् २००० जनवरीमा सेनाले ‘इन्टरनेशनल मल्टी प्लाटुन ट्रेनिङ एक्सरसाइज’ सञ्चालन गरिएको थियो ।

Post a Comment

0 Comments