- मातृका दाहाल
काठमाडौं, २३ पुस
मुलुकका तराई–मधेस तथा पहाडी क्षेत्रमा अझै आठ सशस्त्र आपराधिक समूह सक्रिय रहेको पाइएको छ । गृह मन्त्रालयका तर्फबाट राष्ट्रिय सुरक्षा परिषद् सचिवालय बैठकमा पेश गरिएको सुरक्षा स्थिति सम्बन्धि रिपोर्टअनुसार राजनीतिक अधिकारका नाममा जातीय÷क्षेत्रीय तथा विखण्डनकारी माग राख्दै तराई–मधेस तथा पूर्वी पहाडी जिल्लामा विभिन्न ८ वटा सशस्त्र समूहका गतिविधि अझै चुनौतीका रुपमा रहेको उल्लेख छ ।
नेपाल प्रहरीका अनुसार किराँत जनवादी वर्कस पार्टी, खम्बुवान मुक्ति मोर्चा, संयुक्त जातीय मुक्ति मोर्चा, लिम्बुवान स्टेट फोर्स, पल्लो किराँत लिम्बुवान फोर्स, नेपाल डिफेन्स आर्मी, लिम्बुवान लिवरेसन आर्मी, मंगोल रिभेन्ज ग्रुप, रणवीर सेना लगायत समूह सुरक्षा कारबाही र सरकारी वार्तासँगै निस्कृय भइसकेका छन् ।गृह मन्त्रालयका अनुसार जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रन्तिकारी, ज्वाला सिंह भनिने नागेन्द्र पासवानको जनतान्त्रिक तराई मुक्ति मोर्चा, राजन प्रताप नेतृत्वको मधेस मुक्ति टाइगर्स, मकेश्वर महतो नेतृत्वको तराई मिलिटरी मोर्चा, डी महत नेतृत्वको माओवादी कम्युनिष्ट केन्द्र, जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजन समूह) तथा पूर्वी नेपालमा सक्रिय किरात राष्ट्रिय मूलवासी फोर्स र राष्ट्रिय मूलबासी मंगोलियन फोर्स सशस्त्र तथा अपराधिक गतिविधिमा सक्रिय छन् ।
राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरका अनुसार पनि समूहका गतिविधि तराई÷मधेस र पूर्वी पहाडी जिल्लामा शान्तिसुरक्षा कायम गर्न मूख्य चुनौती बनेको उल्लेख छ । सुरक्षा प्रतिवेदन अनुसार वार्ता मार्फत शान्तिपूर्ण राजनीतिमा अवतरण गरेका तत्कालिन सशस्त्र तथा भूमिगत समूहमाथी पनि निगरानी राख्नुपर्ने औंल्याइएको छ । “विगतमा सरकारसँग बार्ता गरेर शान्तिपूर्ण राजनीतिमा आएका समूह पनि माग पूरा नभएको बहानामा जुनसुकै बेला पुन आपराधिक गतिविधिमै फर्किन सक्ने भएकोले त्यसुप्रति पनि सुक्ष्म निगरानी राख्नुपर्ने देखिन्छ,” सशस्त्र समूहको वर्तमान अवस्था र त्यसले पार्नसक्ने प्रभाव सम्वन्धि नेपाल प्रहरीको प्रतिवेदनमा भनिएको छ, “अस्थिर राजनीति र संविधान संशोधनका नाममा विभाजित दलहरूका एजेन्डासँगै भूमिगत समूहका गतिविधिमा पनि फेरवदल आउने देखिन्छ ।” अलग मधेस राज्यको माग गर्दै अर्धभूमिगत गतिविधि सञ्चालन गर्दै आएका सीके राउत समूहमाथी पनि विशेष निगरानी आवश्यक रहेको उल्लेख गरिएको छ । सशस्त्र प्रहरीका उक उच्च अधिकारीले यी समूहहरूले तराइका अस्थिरता फैलाउन सीमापारी भारतीय भूमिको प्रयोग गर्दै आएको भन्दै सुरक्षा कारबाहीमा छिमेकीसँगको सहकार्य र तालमेललाई पनि बढाउन आवश्यक रहेको बताए । यस्ता समूहले अस्थिर राजनीतिको फाइदा उठाउँदै तराइमा विस्फोटन, चन्दा तथा फिरौती असुली, हत्या, अपहरण लगायतका आपराधिक गतिविधि बढाउन सक्नेप्रति पनि सचेत रहनुपर्ने सुझाव दिइएको ती अधिकारकिो भनाइ छ ।
क्षेत्रीय तथा साम्प्रदायिक भड्काव, चुनावको पक्षमा रहेका राजनीतिक दल तथा व्यक्तिमाथी निशाना, हातहतियार तथा विस्फोटक पदार्थ संकलन, अन्य ध्वंसात्मक गतिविधि जस्ता अपराधमा पनि सशस्त्र समूहको संलग्नता बढ्नसक्ने भएर देशभर सुरक्षा स्थिति र परिचालनलाई बलियो बनाउन सुझाव दिइएको छ । पूर्वी पहाडमा सक्रिय जातीय समूह भौगोलिक विकट क्षेत्रमा प्रहरी चौकी आक्रमण, हतियार लुटपाट, जबर्जस्ती चन्दा तथा फिरौती असुली, धम्की, किसानका नगदेवाली लुटपाट जस्ता गतिविधिमा सक्रिय हुनसक्ने औंल्याइएको छ ।
कुन–कुन समूह सक्रिय ?
जयकृष्ण गोइत समूह
ज्वाला सिंह समूह
राजन समूह
मधेस मुक्ति टाइगर्स
तराइ मिलिटरी मोर्चा
किराँत राष्ट्रिय लिम्बुवान फोर्स
राष्ट्रिय मूलबासी मंगोलियन फोर्स
माओवादी कम्युनिष्ट केन्द्र
0 Comments