मर्डर कि इन्काउन्टर ?

  • मातृका दाहाल

गुन्डा नाइके दिनेश अधिकारी अपराध यात्राकै क्रममा दिनेश अधिकारीबाट ‘चरी’मा रुपान्तरण भए । अपराधीहरु यसरी नै ओर्जिनल नामलाई लुप्त बनाउँदै चरी जस्तै उपनामबाट बिकसित हुँदै जान्छन् । चरी त्यसैका उपमा बने । चरी आतंक एक होइन, दुई होइन, तीन पनि होइन, दर्जनौं वा अझ भनौं, सयौंपटक व्यापारी देखि नागरिकसम्मले भोगे । व्यहोरे । पुलिस कस्टडीमा त चरीका दिन कति हो कति विते । अपराध र अपराधकर्मको सम्भावित नतिजाबारे सायद चरी जानकार नै थिए ।
अनधिकृत हतियार चलाउँने, चलाउन पनि लाउँथे । त्यसैको नतिजा स्वरुप उनको इहलिला २०७१ साउन २१ गते महानगरीय अपराध महाशाखाकै टोलीले भीमढुंगामा समाप्त पारिदियो । त्यो पनि ‘इन्काउन्टर’ मार्फत । २,४ दिन चरी हुर्काउँने गुन्डाका गुरु देखि गुन्डाका गतिला अविभावक÷नेता र एमाले खुबै चिच्यायो । करायो । प्रहरीमाथी ‘तँलाई पख–हाम्रो सत्ता आउँन त दे, अनि देखाइदिन्छु सम्म भन्न भ्याए चरीवादीहरुले । संसद पनि अवरूद्द बन्याे चरीकाे विषयमा । चरीको अपराधबाट आजित सबै उनको इहलिला सकिएको थाहा पाएपछि नागरिकले चाहि राहतकै महसुस गरेको हुनुपर्छ ।
यो त चरीको मात्रै कहानी । उपनामधारी अरु चरीपनि खुबै मच्चिए । थच्चिए र त्यतिले मात्रै पुगेन । इन्काउन्टर नै बेहोरे । नुवाकोटे कुमार श्रेष्ठ अपराध कर्मकै लागि घैंटे बने । घैटोमा पानी भर्न धेरै मेहनत पनि गरे । तर दशक भन्दा बढी मेहनत टिकेन । आखिर अपराधकै नतिजा उनको इहलिला पनि महानगरीय अपराध महाशाखाले नै २०७३ भदौ ३ गते सामाखुसीमा इन्कान्टरकै नाममा सकिदियो । आखिर घैंटेको अधवैंशे जीवन हतियार र त्यसको बलमा सञ्चालित अपराध कर्मबाटै गयो । यसमा पनि आम जनमानसमा इन्काउन्टरको खासै विरोध भएन । अलिअलि घैंटाको पानी खाएका कांग्रेसीहरुमा चिच्याहट भो ।
महानप्रजातन्त्रवादी व्यक्तित्वमाथी इन्काउन्टर भयो भन्दै असन्तुष्टि पनि जनाए  काग्रेसी व्यक्तित्वहरूले । महान युवा राजनीतिज्ञ गगन थापा ज्यु पनि २,४ दिन घैटाको पानी पोखिएपचि चिच्याउँनु भयो इन्काउन्टरमाथी प्रश्न उठाउँदै । तर घैंटै आतंक इन्काउन्टरले इहलिला सकिदिएपछि त्यसै सेलाएर गयो ।
२०७४ फागुन १० गते मनोज पुनको जीवनयात्रा पनि शरदकुमार गौचन हत्यासँगै सुरु भएको अनुसन्धान इन्काउन्टरमा गएर टुंगियो । २०७४ साउन २३ गते लागूऔषध कारोबारी प्रविण खत्री इन्काउन्टरमै मारिए । माथीका इन्काउन्टर र इन्काउन्टरमा परेका सबै अपराध र अपराधको नतिजा तथा हतियारबारे पूर्ण जानकार व्यक्ति थिए ।
प्रहरीले इन्काउन्टरमा मारेकोमा जनस्तरबाट कुनै अब्जेक्सन पनि आएन । किन कि, अपराधको जालो तोड्रन इन्काउन्टरधारी शुत्र बाध्यता नै बनिसकेको थियो भन्ने पनि बहसमा आएकै विषय हो ।
तर २०७५ साउन २१  गते मध्यान्ह १२ः३० मा ११ वर्षीय किशोर निसान खड्का अपहरण र त्यसपछि हत्यामा संलग्न भनिएका २ जना युवक गोपाल तामाङ (२२) र अजय तामाङ (२३) पनि प्रहरी इन्काउन्टरमा मारिएका छन् । अपहरण गरी पि।ौती माग्दा नदिएपछि बालकको हत्या गर्ने यी दुई युवकप्रति कुनै सहानुभूती र सद्भाव छैन । र हुँने पनि कुरै भएन । किन कि क्षमा दिने अपराध गरेकै थिएनन तामाङद्धयले । पैसा कमाउँन अपराध गर्ने । त्यो पनि अपहरण जस्तो जघन्य अपराध । र फिरौती नदिएपछि त्यो निर्दोष किशोरको हत्या । हत्याराप्रति आफैमा जीउ नै काँप्नेगरी रीसले चुर हुन्छ दिमाग ।
अझ आम मानिस त हत्यारालाई त सार्बजनिक रुपमै गोली ठोकेर मार्दिनु पर्छ भन्ने कठोर माग आइदियो । तर प्रहरीले त्यस अघि नै किशोर हन्त्यामा संलग्न दुवैजनालाई मुठभेडमा ज्यान गयो भन्ने औपचारिक धारणा सार्बजनिक ग¥यो । सञ्चारकर्मीको नाताले राज्यको आधिकारिक धारणालाई मान्नै प¥यो । नमाने कस्को मान्ने भन्ने पनि प्रश्न उठ्छ । तर कता कता प्रहरीको दावी र उसको औपचारिक धारणा पत्याउन नै सकिने अवस्था छैन । किन कि, माथी उल्लेख गरिएका संगठीत र दशक भन्दा बढी अपराध गरेर अपराध राजकाज चलाइरहेकामाथीको इन्काउन्टर र ज्यामीमाथीको इन्काउन्टर कसरी एकै हुन्छ ? अपहरणकारीले फिरौती नदिएपछि वालकको हन्त्या गरे । त्यो पत्याउँन सकिन्छ । तर प्रहरीकै भनाइए पत्याउँने हो भने अपहरणकारी दुवैजना सामान्य मजदुर हुन् । घर पेन्टिङ गरेर जीवीकोपार्जन गर्ने मजदुर प्रहरीमाथी कसरी जाइलाग्न सक्छ ।
त्यो पनि वालक हत्यापछि फरार भएका व्यक्ति कसरी प्रहरीसँग आमनेसामने हुँन सक्छन् ? मनौवैज्ञानिक दृष्टिकोणले पनि हत्यारा कुनैपनि हालतमा राज्यका सुरक्षाकर्मीसँग भिडन्त गर्ने मनस्थितिमा हुँनै सक्तैनन् । त्यसैले सोमबारको वालक हत्याका आरोपितमाथी भएको भनिएको प्रहरी इन्काउन्टर संकास्पद छ ।
अनुसन्धानको पाटोलाई गहिराइसम्म पु¥याउन आइपर्ने झन्झटबाट पन्छिन कतै इन्काउन्टरको ‘मञ्चन’ त भएको होइन ? आशंकाको प्रशस्तै ठाउँ छ ।
एउटा अपराध घट्यो भजेर त्यो अपराधको नालीबेली केलाउनुको सट्टा बैधानिक निकायबाट कतै इन्काउन्टरधारी ‘वैधानिक अपराध’  त भएको होइन ? प्हरीका सामू यो गम्भीर प्रश्न उब्जिएको  छ । यसले अर्को प्रश्न के जन्माएको छ भने प्रहरीले चाहे जो सुकैलाईपनि इन्काउन्टर गरेर जीवन इहलिला समाप्त पारिदिन सक्छ । इन्काउन्टर अर्थात ’मुठभेड’ को बारे आफैमा विवाद छ । कतिपय मानव अधिकारवादीले मुठभेडका नाममा ‘झूटा विरण’ तयार पार्ने प्रवृत्तिको आरोप प्रहरीमाथी लगाउँदै आएका छन् । त्यसो त मुठभेडको सामान्य अर्थ एक प्रकारको हिंसाक संघर्ष हो ।
यो कहिलेकाहीँ दुई गैरकानुनी समूहहरू बीचमा, सशस्त्र समूह बीचमा, पुलिस–अपराधी बीचमा हुने गर्छ । त्यो पनि हतियारको वलमा । तर अपहरणकारी के शक्तिशाली थिए हतियार प्रहाारमा ? के उनीहरुसँग भएका हातहतियार प्रहरीसँग भिड्ने क्षमता राख्छन् ? त्यसैले इन्काउन्टरको पुष्टि प्रहरीले गरिदिनु पर्छ । त्यो पनि सबैले पत्याउन सकिने गरी ।

Post a Comment

0 Comments