कथाः हिराको चुरा


  • मातृका दाहाल


बडा हाकिमले एक्कासी जंगीदै भने, –‘यति सानो चुरा ल्याएर हुन्छ ?’ । त्यतिले मात्रै बडाहाकिमको रिस थामिएन, र फेरी थपे, ‘तिमेरलाई मैले कम जोखिम मोलेर बढुवा गरिदिएँ ? कतिको खप्की खाएँ । तिमेलाई अघि ल्याउँदा मिडियाले लखेटेको लखेटै छन् । तरपनि परवाह गरिन ।’ रुपमा भद्र देखिने बडाहाकिमको रिसको पोको फुक्न थालेपछि कर्णेल महाजन घोरिरहयो । 
भर्खरै बढुवाको ताज पहिरिएर हर्षोल्लास मनाउँन किस्तिमा हिराको चुरा (वाला) लिएर बडाहाकिम भेट्न ‘रानीमहल’ गएको महाजन कर्णेल रनथनिएर अवाक बन्यो ।
रानीमहल भित्र कोठीको टेवुल अगाडी चिया तर्फ एकोहोरो हेरिरहेको महाजन कर्णेलतिर नजर लगाउँदै फेरी बडाहाकिम जंगीए । ‘ठूलो चुरा लेर आइज’ । बडाहाकिमको रिसको सीमा नाघेको देखेपछि तनक्क तन्केर सलाम ठोक्दै महाजन कर्णेल बाहिरियो । केही मिटर पर पुगेपछि उसको मनमा बडाहाकिमको गाली सम्झेर तनावले डेरा जमाइसकेको थियो ।
अनि सानो चुराको ठाउँमा ठूलो र मोटो चुराको खोजीमा लाग्यो । उसलाई चुराको चिन्ता भन्दा पनि बडाहाकिमको कुराले झनै चिन्ता र खुलदुली थपिदियो । बडाहाकिमको त रिटायर्ड हुने समय आइसकेको थियो । अव आउँन लागेका नयाँ बडाहाकिमले पो कस्तो गर्ने हुन् भन्ने चिन्ता उसलाई थियो । १० वर्ष पछि छिरेको आफूलाई १० वर्ष अघिकाले तनक्क तन्केर गरेको सलाम कसरी फर्काउँने होला भन्ने पीरले महाजन कर्णेललाई झनै चिन्तिम बनायो । एकातिर सानो चुराको झोंकमा बडाहाकिमबाट खाएको दप्की, अर्कातिर १० वर्ष अघिकाले दैनिक हान्ने सटायर ।
महाजन कर्णेलको दिमाग ठीक ठाउँमा आउँनै सकेन ।
उता बडा हाकिमलाई पनि सिनियरलाई छोडेर चुरा ल्याइदिने जुनियरहरुलाई ताज पहिराउँन खेलेको भूमिकाले गलपासो लाग्ने अवस्था भयो । मनमनै बडाहाकिम सम्झन थाले, कतार जाँदाको चुरा । साउदी जाँदाको चुरा, भीर फोर्दा जंगे सिपाहीको पसिनामाथी गरेको रजगज । हनुमान पहाड फोरेर सलल रेल र टीटीबस गुड्ने सडकमा कुम्ल्याएको पैसा । आकासका परी खरिद गर्दा भित्र्याएको बिटो । डाडापारी किनेको जग्गाको दाम । फेरी सानो चुरा ल्याउँनेसँग गरेको व्यवहार ।
‘कतै महाजन कर्णेलले यो कुरा बाहिर भन्दिने त हैन ?’ फेरी दर्जनौं महाजनबाट ल्याएको साना÷ठूला सबै चुरा कता थन्क्याउँने भन्ने पिरलोले बडाहाकिम निदाउँनै सकेनन् । निदाउँन पनि कसरी ? किन कि, अल्फा, ब्राभो, चार्ली । भन्दा पनि ‘गणेश’ महाजन कर्णेलहरुलाई चुचुरोमा पुर्याएर कुमार कर्णेलहरुलाई ठहरै सुमेरु पर्वत घुमाएका थिए बडाहाकिमले । बडाहाकिम सानो चुरो सम्झदै कुर्सीमाथी मुन्टो राखेर टोलाइरहेका थिए । त्यत्तिकैमा ढोकामा टुकटुक आवाज आयो ।
भरिलो र हँसिलो मुहारमा महाजन  कर्णेल आइपुग्यो । तन्केर सलाम ठोक्यो । अघि देखाको भन्दा दुइगुणा मोटो हिराको चुरो किस्तिमा राखेर ढोग्यो । बडाहाकिमको गोलो अनुहारमा चमक थपियो । अघि रिसको पोको कता हरायो कता, मुस्कुराउँदै बडाहाकिमले महाजनलाई अर्ती दिन थाले,  ‘म जस्तै बडाहाकिम भएर देशको सेवा गर्नु ।’
बडा हाकिमको अर्ती सुनेर एकछिन अवाक बनेको कर्णेल महाजनले १५ वर्षपछि आफूले पनि सानो चुरा लिएको सपना देख्न थाल्यो । त्यत्तिकैमा बडा हाकिम्नीको सबार भो । सबैमा खुसीयाली छायो ।

Post a Comment

0 Comments